मस्कोबाट सी र बाइडेनलाई के संदेश दिदैछन् मोदी–पुटिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०८१, शुक्रबार ०८:०३
अमेरिकासंग राम्रै सम्बन्ध राखेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि दुई दिने भ्रमणका लागि रुस गएका छन् । मोदी पुटिनको निम्तोमा २२ औँ भारत–रुस शिखर सम्मेलनका लागि गएका हुन् । पछिल्ला तीन वर्षदेखि दुवै देशबीच कुनै पनि दुई पक्षीय बैठक भएका थिएनन् । यसबीच उनको यो भ्रमण यस्तो बेला भएको छ जतिबेला उता अमेरिकामा नेटो समिट हुदै छ ।
आज मोदीले रुसमा औपचारिक भ्रमणमा रहँदा अमेरिकामा नेटो समिट जारी रहनेछ । यस्तोमा अमेरिका र युरोप मोदी र पुटिनलाई सँगै देखेर खुसी हुने अवस्था छैन । उनीहरू दुवैले पुटिनलाई युक्रेन आक्रमणका कारण युरोपमा उथलपुथल ल्याउन जिम्मेवार मान्छन् । पुटिन र रुसमाथि अनेकौं प्रतिबन्ध लगाएका छन् । पुटिनविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेका छन् । यस्तोमा मोदी उनलाई भेट्न जाँदा र सहकार्यका थप बाचा गर्ने हुँदा पक्कै पनि पश्चिमाको चित्त बुझ्दैन ।
यता गएको बुधबार नै रुसले मोदीको भ्रमणका क्रममा मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि लग्ने तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय एजेण्डामा छलफल हुने जनाएको थियो । लन्डनको किंग्स कलेजमा दक्षिण एसियाली अध्ययनका चर्चित प्राध्यापक क्रिस्टोफ जैफरलटले मोदीको रुस यात्राको भूराजनीतिक आयाम भएको बताएका छन् । उनले भनेका छन्, “भारत रुससँग आफ्नो सम्बन्ध विकसित गर्न उत्सुक छ ।
केवल सैन्य उपकरणको मामिलामा रुसमाथि निर्भर रहनुको कारणले मात्र होइन भारतले बहुध्रुवीय विश्वलाई पनि बढावा दिन खोजेको छ ।” उनले भारत सबै भागिदारका साथ आफ्नो हितलाई बढावा दिने अवस्थामा रहेको उनले बताएका छन् । प्राध्यापक जैफरलटको भनाइमा मोदीको यो यात्रा रुसको चीनसँगको साथ बढी निकट रहेको अवस्थासँग पनि जोडिएको छ । भारत र रुसबीच विशेष सम्बन्ध बनाउनाले रुस र चीनबीच मेलमिलापलाई कम गर्न सक्छ ।
मोदी २०१९मा एक आर्थिक सम्मेलनमा भाग लिन रुसको सहर भ्लादिभोस्तोकमा गएका थिए । पुटिन र मोदीको पछिल्लो भेट  २०२२ मा उज्वेकिस्तानमा एससीओको शिखर सम्मेलनमा भएको थियो । पुटिनले अन्तिम पटक २०२१ मा दिल्लीको भ्रमण गरेका थिए । मोदीले रुसको भ्रमण यस्तो समयमा भएको छ, यो बेला अमेरिका र उसका युरोपेली सहयोगी रुसको वैश्विक स्तरमा अलग–अलग गर्न प्रयास गरिरहेका छन् ।
उनीहरूले रुसमा कडा प्रतिबन्ध लगाएका छन् । उनीहरूले उच्चस्तरीय बैठकमा पनि भारी कटौती गरेका छन् । भारतले आफ्नो विदेश नीति रणनीतिक स्वायत्तता र राष्ट्रिय हितमा आधारित रहेको बताउँदै आएको छ । तर, पश्चिमी देशमा फैलिएको रुस विरोधी भावना हेर्दा के यो यात्रा भारतको रणनीतिक साझेदार अमेरिकालाई बेखुसी पार्ने खालको छ ? भन्ने प्रश्न पनि उठेको छ ।
अमेरिकाको बाल्टिमोरस्थित जोन्स हप्किन्स विश्वविद्यालयमा अप्लाइड इकोनोमिक्सका प्राध्यापक स्टिब एच हेंकेका भनाइमा रुसको भारतका साथ ऐतिहासिक सम्बन्ध छ । हेन्के राष्ट्रपति रोनाल्ड रेगनको आर्थिक सल्लाहकार परिषद्मा पनि काम गरिसकेका छन् । “प्रधानमन्त्री मोदी र भारतका विदेशमन्त्री एस जयशंकर दुवैको भनाइका आधारमा भारत सबै देशका साथ राम्रो सम्बन्ध बनाउन चाहन्छ भन्ने प्रष्ट छ,” उनी भन्छन्, “खासगरी रुसको साथ यसको कारण हो । यो एक यस्तो देश हो, जसको साथ भारतको सोभियत कालदेखि नै राम्रो सम्बन्ध छ।”
सन् १९६० को दशकदेखि १९८० को दशकसम्म भारतमा पढे÷बढेका कुनै पनि व्यक्ति सोभियत संघको प्रभावबाट मुक्त छैनन् । भारतका कैयौं स्टिल प्लान्ट रुसले स्थापित गरेका हुन् । भारतीय अन्तरिक्ष कार्यक्रममा रुसको सहयोग थियो । कठिन अवस्थामा पनि सोभियत संघ भारतको साथ उभिएको थियो । सोभियत संघले १९६५ मा भारत र पाकिस्तानबीच ऐतिहासिक तासकन्द सम्झौता गराएको थियो ।
खासगरी युक्रेनको युद्धमा भारतले रुसको निन्दा नगरेको विषयलाई लिएर पहिलादेखि नै पश्चिमाहरूले राम्रो मानेका छैनन् । त्यसैले अहिले मोदीको पुटिनसँगको सम्बन्धलाई पनि राम्रो मान्ने अवस्था छैन । यता मोदी तेस्रो पटक सत्ता सम्हालेपछि पहिलो पटक रुस भ्रमणमा पुगेका हुन् यस्तै यो कार्यकालको यो उनको पहिलो द्विपक्षीय विदेश भ्रमण पनि हो । तर एकातर्फ चीनसंग रुसको बढ्दो निकटता, अर्कोतर्फ रुसविरोधी मानिएको गुट नेटोको बैठक चलिरहेको बेला मोदीको यो भ्रमणलाई लिएरु पश्चिमाहरुले आशंका गरेका छन् ।
यसबीच भारतको विदेश मन्त्रालयले समेत मोदीको यो भ्रमणलाई द्विपक्षीय भ्रमण मात्रै हो भन्दै प्रष्ट पारेको छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले मिडियासंग भनेका छन्, पीएम मोदीको यो भ्रमण द्विपक्षीय मात्रै हो । साथै विदेश मंत्रालयले मोदी–पुटिन भेटवार्तामा युक्रेन संघर्षबारे पनि कुराकानी हुने जानकारी दिएको छ । रुसले युक्रेनमा गरेको आक्रमणलाई युद्ध नभनी सैन्य कारबाही वा संघर्ष भनेको छ ।
भारतले पनि सोही शब्द प्रयोग गरेको हो । यस्तै भेटमा रुसी सेनामा भारतीयहरुलाई भर्ना गरिएको बारे पनि छलफल हुने बताइएको छ । यस्तै दुवै देशबीच व्यापार, कनेक्टिभिटी, स्पेस, तेल, एलएनजी, डिफेंस सप्लाई, भुक्तान सम्बन्धि विषयहरुमा वार्ता हुने बताइएको छ । यही समयमा उता अमेरिकामा बाइडेनको आथित्यमा नेटोको ७५ औं वर्षगाँठको अवसरमा विशेष समिट हुँदैछ । र खास कुरा के छ भने यो समिटमा यूक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेंस्की पनि सहभागि हुनेछन् ।
केही विश्लेषकहरुले मस्को वार्ता गरेर पुटिनले अमेरिकासहित उसका सहयोगीहरुलाई रुस एक्लो छैन, चीन र भारतजस्ता विश्वशक्तिहरु आफ्नो पक्षमा रहेको संदेश दिन चाहेको बताएका छन् । गत मे मा पुटिन चीनको भ्रमणमा गएका थिए । यता भारतले भने रुस र चीनबीचको निकटता रुचाएको छैन । यसमा थोरै भएपनि खेल्न सकिन्छ कि भन्ने दाउमा भारत छ । र उ चीनभन्दा आफ्नो सम्बन्ध रुसको साथमा बलियो होस् भन्ने पनि चाहान्छ ।
सोही कारण सीमानाको बलियो प्रतिद्वन्दीलाई साइजमा राख्न पनि अमेरिकाको चित्त दुखाउँदै मोदी मस्कोमा पुटिनको आथित्य स्वीकार गर्न पुगेका हुन् । यद्यपी अहिलेसम्म पश्चिमी नेताले मोदीको भ्रमणबारे कुनै टिप्पणी गरेका छैनन् । तर, विहीबार भारतका लागि अमेरिकाका राजदूत एरिक गार्सेटीले अमेरिका रुसलाई जवाफदेही बनाउन मिलेर काम गर्न भारतसँग निरन्तर सम्पर्कमा रहेको बताएका थिए ।
यसअघि युरोपेली मुलुक हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबानले गएको शुक्रबार रुसको राजधानी मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेको भेटघाटलाई लिएर युरोपेली नेताले कडा प्रतिक्रिया जनाएका छन् । युरोपेली देशले गम्भीरताका साथ युक्रेनलाई सैन्य र अन्य सहायता दिने तयारी गरिरहेको अवस्थामा युरोपेली नेताको रुसको भ्रमणलाई विश्वासघातको रूपमा युरोपेली नेताले नै व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१