निकै अब्बल रहेकी चितवनकी झरना,१३ वर्षको उमेरमै एसएलसी उत्तीर्ण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०८१, बुधबार ०६:५१

काठमाडौं । बाल्यकालमा पढाईमा निकै अब्बल रहेकी चितवनकी झरना अधिकारी कसैले के बन्छौ भनी सोध्दा झट्टै उत्तर दिहाल्थिन् – डाक्टर, शिक्षित र सुसंस्कृत परिवारमा जन्मिएकी भरनाले विद्यालय शिक्षामा कहिल्यै निराश हुनुपरेन । आफूभन्दा अघिल्लो कक्षाका विद्यार्थीलाई समेत उछिन्ने भएपछि झरनाले ‘क्लास जम्प’ गर्दै पढ्ने मौका पनि पाइन् । यही मौकाले उनलाई १३ वर्षको उमेरमै एसएलसी उत्तीर्ण गरायो ।

झरनाको मात्रै होइन उनकी आमा जानकीको पनि चाहना छोरीलाई डाक्टर बनाउने थियो । तर व्यक्तिको चाहनाले मात्रै नभएर कर्मले उसलाई डो¥याउँदो रहेछ । परिवारमा बुवा सार्वजनिक सेवामा । सामाजिक र राजनीतिक विषयमा परिवारभित्र नै बहस र छलफल भइरहन्थे । त्यसैले हुनुपर्छ हुर्कदै जाँदा डाक्टर बन्नुभन्दा समाज बुझ्नुतिर झरनाको ध्यान गयो । समाज र राजनीतिप्रति बढेको सचेतताले उनलाई डाक्टर होइन पत्रकार बनायो । मिडिया पोइन्टबाट पत्रकारिता तालिम लिएपछि चर्चित रेडियो कार्यक्रम कायाकैरनमा समाचार वाचन गर्दै झरनाको पत्रकारिता यात्रा सुरु हुन्छ ।

नेपालमा निजी र सामुदायिक रेडियोहरुको स्वर्णकाल चलिरहँदा देशभरका रेडियोमा सबेरै झरनाले वाचन गरेको समाचार सुनिन्थ्यो । करिअर अगाडि बढाउने क्रममा देशकै अग्रणी सञ्चार संस्था कान्तिपुर मिडिया ग्रुपको सह प्रकाशन नारीमा उनी आबद्ध भइन् । नारीको उपसम्पादकका रुपमा १३ वर्षसम्म काम गर्दा झरनाले महिला अधिकार, सशक्तिकरण र सुदृढीकरणका क्षेत्रमा धेरै कलम चलाइन् । राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा प्रतिष्ठा कमाएका देशैभरीका अग्रणी महिलाहरुको कथा लेखिन् । अन्तवार्ता गरिन् । महिलासँगै अर्थ, जीवनशैली, सौन्दर्य लगायतका विषयहरुमा रिपोर्टिङ गरिन् ।

२ दशक लामो पत्रकारिता अभ्यासका दौरान झरनाले लेखका धेरै स्टोरी र अन्तर्वाताहरुले सार्वजनिक चर्चा हासिल गरे । आफूले लेखेका सामाग्री प्रकाशित हुँदा र त्यसमा प्रतिक्रियाहरु प्राप्त गर्दा झरना निकै खुसी हुन्छिन् । डाक्टर बन्ने सपना छाडेर पत्रकारितामा आएपनि समाजका लागि गर्न सकेको योगदानप्रति उनी सन्तुष्ट छिन् । ‘डाक्टर हुन मन थियो । डाक्टर भएरपनि समाजकै सेवा गर्छु भन्ने थियो । समय परिस्थिति र कर्मले मलाई पत्रकार बनायो । पत्रकार भएरपनि समाजकै सेवा गर्न सकेको छु भन्ने लाग्छ’, झरना भन्छिन् । पत्रकारिताका दौरान शैलजा आचार्य, साहना प्रधान, विद्या भण्डारी, अनुराधा कोइराला, स्नेहा राणा लगायतका महिला हस्तीहरुसँग संवाद र सहकार्य गर्न पाएकोमा झरना आफुलाई भाग्यमानी ठान्दछिन् ।

हाल अध्ययनको सिलसिलामा अमेरिकामा रहेकी झरना पारिवारिक कर्तव्य निर्वाहसँगै पत्रकारितामा क्रियाशील छिन् । समाजप्रेस डटकम नामक अनलाइन न्यूज पोर्टलको ग्लोबल इडिटरका रुपमा कार्यरत झरना नियमित रुपमा स्तम्भ लेखिरहेकी छिन् । अमेरिका र नेपाल दुवै स्थानबाट संप्रेषण भइरहेको समाजप्रेसलाई नयाँ उचाईमा पु¥याउन झरनाको व्यस्तता बढ्दो छ । डाक्टर नबनेर पत्रकारितामा आएकी झरना पत्रकार पनि नभएको भए के हुन्थिन् होला ? मुस्काउँदै झरना भन्छिन् – मेरो रुची बिजनेशमा पनि छ । पत्रकार पनि नभएको भए बिजनेशमा हुन्थे र सामाजिक सेवालाईपनि अगाडि बढाउँथे ।

मान्छेको जिन्दगीमा संवेदनाका सबै पक्ष हुन्छन् । दुःख–सुखा, हाँसो–आँसु, उत्साह–पीडा सबै अनुभव हरेक मान्छेले गरेको हुन्छ । झरनाले पनि जिन्दगीमा त्यस्ता क्षण नभोगेकी होइनन् तर जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने मान्यता बोकेर उनी सुखमा नमात्तिने र दुःखमा नआत्तिने बनेकी छिन् । सकरात्मक सोचले नै जीवनलाई सफलतातिर डो¥याउने कुरामा विश्वास राख्ने झरना आफ्नो कामले कोही अर्को व्यक्ति वा समाजलाई कत्तिपनि हानि नहोस् भन्नेमा सचेत छिन् । ‘मेरा कारणले कसैलाई दुःख नहोस् बरु थोरै भएपनि समाजलाई योगदान गर्न सकु भन्ने लाग्छ’, उनी भन्छिन् । पछिल्लो समय पत्रकारिताको शैली बदलिएको छ ।

झरनाले रेडियोमा समाचार पढ्दा वा नारीमा स्टोरी लेख्दाको जस्तो समय छैन । पत्रकारिता र पत्रकारप्रति सार्वजनिक धारणाहरु बदलिएका छन् । सोसल मिडियाको प्रभावले मूल धारको भनिने पत्रकारितालाई चुनौती थपिदिएको छ । यस्तो बेला पत्रकारहरु थप जिम्मेवार भएर काम गर्नुपर्ने झरनाको सुझाव छ । ‘समाज हिजोभन्दा चेतनशील र सचेत भइसकेको छ । पत्रकारले पनि आफूलाई समय र समाज अनुसार रुपान्तरण गर्नुपर्छ । आधुनिक समाजमा पत्रकारले आफूलाई अझ बढी अध्ययनशील, ऊर्जाशील र जिम्मेवार बनाउनुपर्छ’, झरनाको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, साउन ११, २०८१