त्रिविमा नियुक्तिसम्वन्धी नयाँ मापदण्ड र निर्देशिका जारी : के के छन् व्यवस्था ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ असार २०८१, शनिबार ०६:२७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नियुक्तिसम्वन्धी नयाँ वाध्यकारी व्यवस्था सहितको निर्देशीका र मापदण्ड सार्वजनिक गरेको छ ।

साे अनुसार डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आवद्ध नभएको स्वघोषणा गर्नुपर्ने भएको छ।

प्रा.डा.केशरजंग बराल उपकुलपति भएपछि डिन, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक, प्रिन्सिपल र क्याम्पस प्रमुख नियुक्तिसम्बन्धी विनियम जारी गर्दै साे व्यवस्था ल्याइएको हाे ।

विश्वविद्यालयले ‘त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ सार्वजनिक गरेको छ, जसमा कुनै पनि पदको उम्मेदवारले दलको सदस्य नभएको स्वघोषणा अनिवार्य गरिएको छ ।

अहिलेसम्म नियुक्तिसम्बन्धी मापदण्ड नहुँदा राजनीतिक भागबन्डा हुने गरेको थियो । तत्कालीन उपकुलपति धर्मकान्त बास्कोटाको पालामा कीर्तिपुर केन्द्रीय विभाग प्रमुखहरूको नियुक्ति सम्बन्धी विनियम बनाएका थिए, जसले ‘वरिष्ठतम शिक्षकहरू मध्येबाट विभागीय प्रमुख हुने,’ व्यवस्था गरेको छ ।

त्यस बाहेकका पदमा गरिने नियुक्तिबारे मापदण्ड भने बन्न सकेको थिएन । अब हरेक पदको नियुक्तिका लागि इच्छुक उम्मेदवारले राजनीतिक दलमा आवद्ध नभएको स्वघोषण गर्नुपर्नेछ ।

विनियममा कुनै पनि संकाय वा संस्थानको डीन छनोट तथा सिफारिसका लागि तीन सदस्य छनोट समिति रहने व्यवस्थासमेत गरिएको छ । समितिले त्रिविका ९ संकायका डीनका लागि प्रत्येक संकायगत उत्कृष्ट तीन उम्मेदवारको नाम सिफारिस गरेपछि परिषद्ले नियुक्त गर्नेछ ।

एउटै पदावधिका लागि एउटै व्यक्ति डीन पदमा दुई पटकभन्दा बढी नियुक्त नहुने समेत विनियममा व्यवस्था गरिएको छ ।

अरू संकायको डीन नियुक्तिका लागि विद्यावारिधि (पीएचडी) र चिकित्साशास्त्र अध्ययन संस्थानतर्फ एमडीको शैक्षिक योग्यता अनिवार्य गरिएको छ ।

यसका साथै त्रिविमा कम्तिमा १० वर्षको स्थायी पूर्णकालीन प्राध्यापक अनुभव प्राप्त प्राध्यापक वा सहप्राध्यापक हुनुपर्नेछ । सहायक डीनका लागि पनि पीएचडी अथवा एमडी चाहिन्छ, तर त्रिविमा प्राध्यापन अनुभव भने ८ वर्ष तोकिएको छ ।

कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक र प्रिन्सिपलका लागि १० वर्ष र क्याम्पस प्रमुखका लागि कम्तिमा ५ वर्ष प्राध्यापन अनुभवलाई अनिवार्य ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशकमा नियुक्तिका लागि चिकित्साशास्त्र सम्बन्धी वा जनस्वास्थ्य वा मेडिकल शिक्षामा वा अस्पताल व्यवस्थापन सम्बन्धी विषयमा विशिष्टीकरण गरी स्नातकोत्तर गरेको हुनुपर्ने ।

साथै त्रिविमा कम्तिमा ८ वर्षको स्थायी पूर्णकालीन प्राध्यापक, क्लिनिक अभ्यास, अनुसन्धान र प्रशिक्षण तथा प्रशासनसम्बन्धी अनुभवप्राप्त प्राध्यापक वा सहप्राध्यापक अनुभवप्राप्त प्राध्यापक वा सहप्राध्यापक हुनुपर्ने ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशकका लागि चिकित्साशास्त्रको सम्बन्धित विषयमा विशिष्टीकरण गरी स्नातकोत्तर गरेको हुनुपर्ने ।

साथै त्रिविमा कम्तिमा ८ वर्षको स्थायी पूर्णकालीन प्राध्यापक, क्लिनिकल अभ्यास, अनुसन्धान र प्रशिक्षण तथा प्रशासन सम्बन्धी अनुभवप्राप्त प्राध्यापक वा सहप्राध्यापक हुुनुपर्ने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१