सरकारमा हामी छौं, सत्ता अर्कैको छः गृहमन्त्री लामिछाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ असार २०८१, शनिबार ०५:१७

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिएर पद बहाली भएको एक सय दिनमा देश र जनतालाई नराम्रो हुने काम एउटा पनि नगरेको प्रतिक्रिया दिएका छन् । शुक्रबार मन्त्रालयको पदभार ग्रहण गरेको एक सय दिन पूरा भएको अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दैै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘नेपाली जनताको कसम आएर शपथ लिएर बसेको सय दिनमा मैले यो देशलाई नराम्रो हुने, यहाँका जनतालाई नराम्रो हुने एउटा पनि काम गरिन,’– लामिछानेले भने ।

गृहमन्त्री लामिछानेले सरकारमा जाने भनेको सेटिङ मिलाउन, ठेक्कापट्टा मिलाउन र आफ्ना मान्छेलाई जागिर दिन भन्ने भाष्य निर्माण भएको कारण यिनीहरु पनि बिग्रिन्छन् कि भनेर जनताले प्रतिपक्षमै बसुन् भन्ने चाहेको पनि उनले बताए । अहिले गृह मन्त्रालयमा हेल्प डेस्क स्थापना गरेर दैनिक सयौं मानिसहरुलाई सेवा दिइरहेको बताए । त्यस्तै, मन्त्रालयका अन्य संयन्त्रबाट पनि चुस्तदुरुस्त सेवा दिइरहेको नउको भनाइ छ ।

‘मान्छेले महशुस गरेको कुरा सरकार भनेको सेटिङ मिलाउने, ठेक्कापट्टा मिलाउने, आफ्ना मान्छेलाई जागिर दिने भएको हुनाले त्यहाँ यो नगइदिए हुन्थ्यो भन्ने थियो । पीर मानेको मात्रै हो । तर, यहाँ बसेर हामी प्रत्येक दिन कयौं मान्छेलाई सेवा दिएका छौं । जिल्ला प्रशासन कार्यालयबाट, जिल्ला प्रहरी कार्यालयबाट, हामीले गर्ने निर्णयहरुबाट कयौं नागरिकलाई सेवा दिने काम गरिरहेका छौं,’– उनले भने ।

गृहमन्त्री लामिछानेले आफूले भ्रष्टाचारलगायत विभिन्न प्रकारका फाइल खोल्न चाहेपनि सत्ता पक्षबाट असहयोग भएका संकेत गरे । उनले सरकारमा आफूहरु भएपनि सत्ता अरुले नै चलाइरहेको बताए । गृह मन्त्रालयअन्तर्गत रहेर अनुसन्धान हुने कुरामा कुनै पूर्वाग्रह नराखिएको पनि उनले प्रष्ट पारे ।

‘एउटा सरकार हुन्छ, अर्को सत्ता हुन्छ । सत्ता लामो समयसम्म कब्जा गरेर बसेको हुन्छ । सरकार फेरिँदा पनि सत्ता फेरिँदैन । नेपालमा सरकारमा त हामी छौं । सत्तामा त के–के छ, के–के छ ? त्यो सत्तालाई तोड्न अलिकति गाह्रो चाहीँ हुन्छ । मलाई पनि बेथितिका कयौं फाइलहरु खोल्नेवित्तिकै साइन गर्नेगरी तयार होलान् भन्ने लाग्थ्यो । रेडी भइसकेको फाइल म जहिले पनि साइन गर्न तयार छु । दिनमा सय वटा फाइल साइन गर्न पाए हुन्थ्यो भन्नेमा छु । तर, कतिपय कुरामा फाइल नै तयार गर्नुपर्ने हुन्छ । यसले समय लिन्छ । हामीले अनुसन्धान गर्नुपर्ने कुरा कसैसँग पूर्वाग्राह नराखी गर्नुपर्ने हुन्छ,’– उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, असार २३, २०८१