अब फर्काउन सकिएलान् त ती दिनहरु !?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ कार्तिक २०७१, बुधबार १६:१४

ज्ञानमणि कालोटोपी
कुनै समय यस्ता थिए कि गाउँमा कोहि नयाँ मान्छे आयो भने पाहुनाको रुपमा लिइन्थ्यो । उसलाई कुनै अप्ठ्यारा परेमा सबैले सहयोग गर्दथे । राती कसैले बास माग्यो भने उसले बास मात्र पाउँदैनथ्यो , राम्रो सम्मान पनि पाउथ्यो । अतिथी देवो भवः अर्थात् घरमा आएका पाहुना देवता सरह हुन्छन् भन्ने मान्यता थियो । अझ साँझमा आएका मान्छेलाई त निर्धक्क सँग बास दिइन्थ्यो । ‘हामी त्यस्तै संस्कारमा हुर्कियौं र हुर्कायौं सन्तानहरुलाई ।’ हाम्रा बुवा÷ हजुरबुवाहरुले भन्नु भएका यी भनाईहरु सम्झँदा लाग्छ कि यस्ता कुराहरु अव कथा जस्ता पो भएका छन् त ।
हुन पनि भएको छ त्यस्तै ,आजभन्दा करिव २ दशक अगाडि मात्रको कुरा गर्ने हो भने पनि त्यतिबेला र अहिले आकास पातालको फरक भएको छ । त्यो समयमा गाउँमा आउने गरेका पाहुना यो समयमा चोर र डाँकाको रुपमा आउने गरेका छन् । राम्रो काम गर्नेहरुलाई सम्मान गरिने ती गाउँहरुमा अहिले त्यस्ता व्यक्तिलाई अपमान मात्र गरिदैन, खुट्टा तान्ने प्रवित्तीको पनि विकास भएको छ । फटाहा र मुर्खहरुको बाहुल्यता छ । बुढा मरे कुरा सरे भने जस्तै भएको छ गाउँ,समाज र देशमा ।
पुराना मान्यताहरुलाई परिवर्तन गर्ने भनेर देशमा पटक पटक धेरै आन्दोलन र क्रान्तिहरु भएका छन् । हामीले विगतका आन्दोलनहरुको इतिहास पढेका छौं । यस्ता आन्दोलनहरुमा हजारौं नागरिकहरुले ज्यान दिएका छन् । थुपै्र घाइते र अपाङ्ग भएका छन् । लामो समय भयो उनीहरुले परिवर्तनका लागि ज्यान अर्पेको , अहिले सम्म बाँचेकाहरुले त्यस्तो कुनै परिवर्तनको आभास गर्न पाएका छैनन् । पछिल्ला दिनहरुमा परिवर्तनको नाउँमा यति विकृतिहरुको विकास भएको छ कि त्यसको कुनै लेखाजोखा छैन । परिर्वतनको आभास दिने सरकारी निकाय मौन छ , मानौं यो उसको कार्यक्षेत्र भित्रै पर्दैन ।
हामी अहिले एक्काइसौं शताब्दीको मध्यचरणमा छौं । यतिबेला हरेक पुराना विकृति र कुरीतीहरुको परिवर्तन गरिनु पर्ने बेला हो । तर हामीहरु सानातिना मुद्दाहरुमा अल्झिरहेका छौं । देश एउटै छ , यसलाई विभिन्न प्रदेशहरुमा विभाजन गरेर वर्षौं देखि मिलेर बसेका अनेक जातजातीहरुमा विखण्डन ल्याउने कार्यमा अग्रसर भएका छौं । छुवाछुत र जातजातीको विषय अहिले उठाउनु पर्ने विषय हो र ? एकपटक सोचौं त , के हामीले भनेको यो कुरा ठिक थियो त ? सानो स्वार्थ पुरा गर्ने बहानामा हामीले ठूलो गल्ति त गर्दै छैनौं ? एकपटक विचार गर्नु आवश्यक पो छ कि ! समय परिवर्तनशिल छ , यस सँगसगै कतिपय कुराहरु आफैं परिवर्तन हुन्छन् । भएका पनि छन् , कतिपय कुराहरु यस्ता छन् जसलाई हामीले चाहेरै पनि परिवर्तन गर्न सकिएको छैन । आखिर यो किन त ? त्यसतिर हामीले अहिले सम्म विचार गर्न सकेका छैनौं ।
वास्तवमा भन्दा मानिसको जात दुईवटा मात्र हुनु पर्ने हो, महिला र पुरुष । अरु जात त समाजमा धनी वर्गले गरिव वर्गलाई त्यतिबेला हेप्ने दृष्टिकोणबाट बनाएका हुन् । अहिले यस्ता कुराहरुमा परिवर्तन हुनु पर्नेमा त्यो हुन सकिरहेको छैन । अझ जातीय राज्य र पहिचान चाहियो रे ! के हो जातीय पहिचान भनेको ? यो त्यो पहिचान माग्नेहरुले पनि राम्ररी बुझ्न सकेका छैनन् । समाजमा मान्यताका रुपमा रहेका कुरितीहरुलाई हटाएर राम्रा विषयलाई मात्र स्थान दिनु पर्नेमा यस्ता कुराहरुको माग राख्नु के न्यायोचित होला त ? अनि हामीले राम्रो काम गर्नका लागि पठाएका प्रतिनिधीहरु अहिले यस्ता झिना मसिना विषयहरुमा अल्झिएर बस्नुले के हामीले सोचेको र भनेको जस्तो नयाँ नेपालको निर्माण हुन सक्ला त ?
कहिले काहिं त लाग्छ , हामीले अरुको लहलहैमा लागेर राम्रो काम गर्ने बहानामा नराम्रो पो गर्दै छौं कि ? अगाडि हिड्नेले गलत बाटो देखायो भने पछ्याउनेहरुले पनि गलत बाटो नै रोज्छन् । उनीहरु हिडिंसकेको त्यो बाटो चाहेरै पनि मोड्न सकिंदैन । हिड्दै जाँदा जतिबेला थाह हुन्छ त्यतिबेला ढिलो भईसकेको हुन्छ । त्यो बेलामा पछुताउनु पर्छ । समय घर्किए पछि पछुताउनुको कुनै अर्थ पनि त छैन । यो यथार्थलाई हामीले बुझ्न ढिलो गर्नु भनेको हाम्रो लागि ठूलो घाटा हो , देशका लागि बर्बादिको संकेत पनि हो ।
हाम्रो देश , हाम्रो समाज अरु कसैले बनाईदिदैन । हामीले नै बनाउने हो । अनि एक्लैले केहि गर्न पनि सकिंदैन । सबै मिल्ने हो भने गर्न नसकिने पनि केहि छैन । फुटेर फाइदा पनि छैन , बरु अरुले हेप्ने र नोक्सान हुने खतरा छ । अहिले सम्म हामीले यो यथार्थलाई बुझ्न सकेका छैनौं । परिश्रम र मिहिनेतले गर्न सकिने कामहरु हामी अरुको भर पर्दैमा ढिला भईसकेको कुरालाई मान्न तयार छैनौं । अरुले दिने सहयोग हो , काम गर्ने हामीले नै हो । राम्रो काम गरियो भने फाइदा लिने पनि हामीले नै हो । त्यसैले हामी त्यस्ता दिनहरुको पखाईमा छौं , जुन दिनहरु हाम्रा लागि मात्र होइन हाम्रा भावि सन्ततीहरुका लागि पनि उपलब्धिमुलक भएर आउन् । हाम्रा पुस्ताहरुले हामीलाई पछि सम्म पनि सम्झिरहुन् , गौतमबुद्ध र भृकुटीलाई हामीले अहिले सम्झिरहे जसरी नै । यो यथार्थलाई बुझ्न अव पनि हामीले ढिला ग¥यौं भने हामी वर्षौं पछाडि पर्ने निश्चित छ । बुझ्न सक्र्यौ भने त फाइदा नै होला अन्यथा ठूलो घाटा हुनेछ , जसलाई हामीले पूर्ति गर्न लाखौं प्रयास गरेपनि सम्भव नहुने तिर विचार गर्नु अहिलेको आवश्यकता हो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१