रञ्जिता श्रेष्ठसँगै प्रभु साहलाई पनि मन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको तयारी, को-को रेड जोनमा ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ जेष्ठ २०८१, मंगलवार ०५:४१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पूनर्गठनको तयारी थालेका छन् । सत्ता समिकरणका मुख्य घटक एमाले र नेकपा (एकीकृत समाजवादी) का अध्यक्षहरु केपी शर्मा ओली र माधवकुमार नेपालसँग प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पूनर्गठनको विषयमा छलफल गरेका छन् ।

उनले अब हुने मन्त्रिपरिषद् पूनर्गठनमा नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा समावेश गराउने भएका छन् । यस्तै, सिके राउत नेतृत्वको जनमत पार्टीलाई पनि सरकारमा सामेल गराउने प्रधानमन्त्री दाहालको तयारी छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट रञ्जु ठाकुरलाई पनि मन्त्री बनाउनेगरि दाहालले तयारी थालिसकेका छन् ।

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा रञ्जिताको इन्ट्री पक्का !

नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आँफै सरकारमा सामेल हुने बताईएको छ । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्वमा लग्ने दाहालको आश्वासन छ । अहिले सो मन्त्रालयको नेतृत्व माओवादीबाट हितबहादुर तामाङले गरेका छन् । उनलाई फिर्ता बोलाएर रञ्जितालाई सो मन्त्रालयमा सत्तारोहण गराउने दाहालको तयारी छ ।

यस्तै, राउत नेतृत्वको दलबाट पनि एक जनालाई मन्त्री बनाउन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली राजी भएका छन् । आफूलाई निरन्तर विश्वासको मत दिँदै आएका आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई पनि सरकारमा समेट्ने प्रधानमन्त्री दाहालको तयारी छ । एमाले र माओवादीले एक-एक मन्त्रालय त्याग गर्ने बुझिएको छ ।

मधेश प्रदेशबाट सरकारको नेतृत्वमा माओवादीबाट शून्य सहभागिता रहेको छ । यसअघि महिन्द्र राय यादव दाहाल सरकारमा खानेपानी मन्त्रालयको नेतृत्वमा थिए । अहिले यादवले नेसपालाई माओवादीसँग एकताको लागि अन्तिम गृहकार्य गरेका छन् । प्रभु साहलाई मन्त्री बनाउनको लागि माओवादीभित्रबाट नेताहरु जनार्दन शर्मा, मात्रिका यादवलगायतले प्रचण्डसामू प्रस्ताव गरेका छन् ।

प्रभु साहले भने आफू मुद्दाकेन्द्रित राजनीतिमा रहेकोले अहिले सरकार आफ्नो प्राथमिकतामा नरहेको बताउँदै आएका छन् । उनले अहिलेको दलतन्त्रले देशलाई निकास दिन नसक्ने निश्कर्ष निकालेका छन् । नेकपाको विभाजनमा साहले एमाले रोजेका थिए । पछि ०७९ को निर्वाचनको मुखमा एमाले अध्यक्ष ओलीले जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवसँग चुनावी तालमेल गरेपछि साहले विद्रोह गरेका थिए । उनले स्वतन्त्र उम्मेद्वारी दिएर चुनाव जितेका हुन् । चुनावलगत्तै उनले आफ्नो नेतृत्वमा आम जनता पार्टी दर्ता गराएका हुन् ।

एमालेबाट संघीय मामिला वा भूमि व्यवस्था मन्त्रीमध्ये एक जना ब्याक हुने र माओवादीबाट पर्यटनमन्त्री तामाङ ब्याक हुने करिब-करिब निश्चित् रहेको छ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहको पनि यसपटक प्रचण्ड नेतृत्वको क्याविनेटमा मन्त्री बन्ने चर्चा चलेको छ । तर, उनी आँफैले भने अहिले सरकारमा जानु आफ्नो प्राथमिकता नभएको बताउने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१