समाजवादी सरकारमा रहने वा नरहने भन्नेबारे अझै द्धिविधामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ जेष्ठ २०८१, सोमबार ०५:११

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सरकारमा रहने वा नरहने भन्नेबारे अझै निर्णयमा पुग्न सकेको छैन् । आज (आइतबार) आयोजित पार्टीको विशेष पत्रकार सम्मेलनमा अध्यक्ष माधवकुमार नेपालले सरकारमा भएपनि अझै सरकारको अवस्था के हुने ? हो भन्ने कुरा अन्यौल रहेकोले पार्टीको बैठक राखेरमात्रै सरकारमा बस्ने वा बाहिरिने विषयमा निर्णय लिईने स्पष्ट पारेका छन् ।

पछिल्लो समय सत्ता समिकरणमा खटपट सुरु भएको चर्चा चलेको छ । खासगरी माधव नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा सहभागी भएपछि यस्तो अवस्था आएको हो । माधव नेपालले देउवासहित विपक्षी दलका नेताहरुसँग भेटघाट बाक्लो बनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि चासो राखेका थिए ।

प्रधानमन्त्री दाहालले माधव नेपाल सत्ता समिकरणबाट दायाँ बायाँ नजाने दाबी गर्दै आएका छन् । यता, माधव नेपालले पनि आज विपक्षी दलहरुसँगको भेटवार्तालाई लिएर कसैले पनि चिन्ता गर्न नहुने धारणा राखे ।

उनले घुमाउरो पाराले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीलाई आफ्नो पछिल्लो गतिविधिलाई लिएर आँत्तिनुपर्ने कारण नभएको भनेर ढाडस दिए । ‘हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ । सबैले नेताहरूसँग सम्पर्क गर्न पाउँछन् । हामी पनि पाउँछौँ । अन्यथा रूपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन । त्यही सिलसिलामा मैले प्रधानमन्त्रीसँग असमझदारी नहोस् भनेर फोन पनि गरेँ । उहाँले भन्नुभयो, ठीक छ, सम्बन्ध सबैसँग राख्नुपर्छ तर कमिटमेण्ट फाइनल नगरिदिनु होला । कति बेला के हुने हो भन्ने स्थिति थियो र विश्वास छ, एउटा समझदारी भइसकेपछि त्यसै आधारमा अघि बढिन्छ । हामी दुईवटा नाउमा खुट्टा राखेर हिँड्दैनौँ ।’–पत्रकार सम्मेलनमा नेपालको भनाई थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१