अझै एक दशक वैदेशिक रोजगारको विकल्प छैन : महामन्त्री थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०८१, शनिबार १६:४२

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी एक दशकसम्म वैदेशिक रोजगारको विकल्प नदेखिएको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले शुक्रबार राजधानीमा आयोजना गरेको ‘बधाई, शुभकामना तथा धन्यवाद’ कार्यक्रममा महामन्त्री थापाले नेपालको अर्थतन्त्रको मुख्य माध्यम वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स भएको उल्लेख गरे ।

 

श्रमिकले आफूलाई कष्टकर अवस्थामा राखेर पठाएको रेमिट्यान्सबाट अर्थतन्त्र चलेको अवस्थाको चित्रण गर्दै महामन्त्री थापाले आगामी एक दशक नेपालका लागि वैदेशिक रोजगार यथार्थ भएको विश्लेषण सुनाए ।

 

महामन्त्री थापाले तत्कालीन गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले निजी क्षेत्रको लगानीमा उद्योगधन्दा सञ्चालनको प्रयास गरेकोे भएपनि माओवादी नेतृत्वमा भएको दशवर्षे जनयुद्ध र देशको राजनीतिक अस्थिरताका कारण उद्योगधन्दा बन्द हुँदा अर्थतन्त्र वैदेशिक रोजगारमा आधारित रेमिट्यान्समा निर्भर भएको उल्लेख गरे ।

 

नेपाली कांग्रेसले वैदेशिक रोजगारीको क्षेत्रमा नीति बनाउँदा एशोसिएसनसँग राय लिने र एशोसिएसनले दिने राय, सल्लाह सुझाव महत्वपूर्ण हुने भन्दै उनले वैदेशिक रोजगारका सम्बन्धमा देखिएका समस्या समाधान गर्नका लागि पार्टीले सहयोग गर्ने आश्वासन दिए । उनले देखिएका कमीकमजोरी हटाएर वैदेशिक रोजगार व्यवसायलाई थप मर्यादित, व्यवस्थित र पारदर्शीरूपमा सञ्चालनल गर्न आग्रह गरे ।

 

महामन्त्री थापाले शुभेच्छुक संस्थाको हैसियतमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको भूमिका नेपाली कांग्रेसको संगठन विस्तारमा प्रभावकारी हुने भन्दै संस्थालाई चुस्त र छरितो बनाउनु आवश्यक रहेको बताए ।

 

कार्यक्रममा संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाट, एशोसिएसनका पूर्वअध्यक्षका तर्फबाट विमल ढकालले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै लोकतान्त्रिक व्यवसायीहरूलाई गोलबन्द गरी वैदेशिक रोजगार क्षेत्रका समस्याको समाधान र सामाजिक कार्यमा अग्रसरता देखाउन आग्रह गरे ।

 

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागका प्रमुख प्रकाश रसाइली स्नेही, कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तार, कांग्रेस केन्द्रीय सदस्य गुरु बराल, विभागका सदस्य राजेन्द्र अधिकारीलगायतको सहभागिता रहेको थियो ।

 

तमु संघ नेपालका अध्यक्ष भुवनसिंह गुरुङले सबै व्यवसायीलाई समेटेर अगाडि बढ्न एशोसिएसनलाई आग्रह गरे । गुरूङले वैदेशिक रोजगार व्यवसायलाई संरक्षण गर्ने गरी सरकारले नीति बनाउनुपर्ने र त्यसमा नेपाली कांग्रेसले सकारात्मक भूमिका खृल्नुपर्ने माग गरे ।

 

कार्यक्रमका सभापति एशोसिएसनका नवनिर्वाचित अध्यक्ष दीपक थापाले व्यवसायी र वैदेशिक रोजगारमा गएका कामदारको समस्या समाधानलाई प्राथमिकतामा राखेर आफ्नो नेतृत्वको कार्यसमितिले काम गर्ने प्रतिबद्धता जनाए । स्वागत मन्तव्य राखेका प्रथम उपाध्यक्ष विनोदजंग केसीले वैदेशिक रोजगार व्यवसायीका लागि राख्ने बैंक ग्यारेन्टी ज्यादै महँगो भएको भन्दै यसलाई पुनरावलोकन गर्नुपर्ने माग गरे ।

 

कार्यक्रम सञ्चालन गरेका कार्यवाहक महासचिव तुलसी पुरीले अव्यावहारिक ठहरिएको संख्या सय समाधान र धरौटी फिर्ताको माग गरे । कार्यक्रममा उपस्थित प्रमुख अतिथिसहित अतिथिहरूलाई अध्यक्ष थापाले मायाको चिनो प्रदान गरेका थिए ।

मध्यान्ह दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१