बौद्धनाथ क्षेत्र विकास समितिको रजाइँ : आदेशविपरीत ३५ लाख २० हजार खर्च !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०८१, बिहीबार ०५:३६

काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले आफूखुशी बजेट विनियोजन गरी खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले आदेशविपरीत ३५ लाख २० हजार रुपैयाँ खर्च गरेको औँल्याएको हाे।

बौद्धनाथ क्षेत्र विकास समिति (गठन) आदेश, २०५३ अनुसार समितिले बौद्ध धर्मसम्बन्धी योजना तथा कार्यक्रमहरू स्वीकृत गरी कार्यान्वयन गर्ने गराउने, बौद्ध धर्मसम्बन्धी ऐतिहासिक महत्त्वका प्राचीन स्थल तथा वस्तुहरूको खोजी, अन्वेषण, अनुसन्धान गर्ने लगायतका कार्य गर्नुपर्नेमा समितिले वार्षिक कार्यक्रम तर्जुमा गर्दा गठन आदेशमा उल्लेख नभएका क्षेत्रमा १७ कामका लागि ३७ लाख ८० हजार बजेट विनियोजन गरी ३५ लाख २० हजार खर्च लेखेको देखिएको प्रतिवेदनमा उल्लेख छ।

‘उक्त कार्य (गठन) आदेशविपरीत देखिन्छ, बुद्ध धर्मको संरक्षण, उत्थान र विकासमा सघाउ पुग्ने गरी कार्यक्रम तर्जुमा गर्नुपर्दछ,’ प्रतिवेदनमा उल्लेख छ। महालेखाले समिति र पदाधिकारीहरूले उद्देश्य पूरा गर्न कुनै आवश्यक कानुन तर्जुमा नगरेको पनि जनाएको छ।

पदाधिकारीहरूको सेवा, सुविधा तथा पारिश्रमिकसम्बन्धी नियमका साथै बौद्ध क्षेत्र विकास समितिको उन्नयन तथा उत्थानको लागि आवश्यक नियम तथा कार्यविधि तयारसमेत नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, ‘बौद्धनाथ क्षेत्र विकास समिति (गठन) आदेश, २०५३ को दफा १५ मा समितिले गठन आदेशअनुसारको उद्देश्य परिपूर्तिका लागि आवश्यक नियमहरू बनाउन सक्ने र यस्तो नियमहरू नेपाल सरकारबाट स्वीकृत गराएर मात्र लागू हुने व्यवस्था छ। समितिले आर्थिक कार्यविधि नियमावली, २०६२ र कर्मचारीसम्बन्धी नियमावली, २०६२ बाहेक बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारीहरूको सेवा, सुविधा तथा पारिश्रमिकसम्बन्धी नियमका साथै बौद्ध क्षेत्र विकास समितिको उन्नयन तथा उत्थानको लागि आवश्यक नियम तथा कार्यविधि तयार गरेको छैन।’

त्यसैले बौद्धनाथ क्षेत्र विकास समिति (गठन) आदेश, २०५३ ले लिएको उद्देश्य पूरा गर्न आवश्यक कानुन तर्जुमा गर्नुपर्ने सुझाव महालेखाले कोषलाई दिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१