तीन सय यात्रुसहित जहाज डुबाउने कप्तानलाई ३६ वर्ष जेल सजाय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ कार्तिक २०७१, बुधबार ०७:४१
दक्षिण कोरियामा गत अप्रिल महिनामा डुबेको जहाजका कप्तान ली जुन-सिओकलाई ३६ वर्ष जेल सजाय सुनाइएको छ। उनी लापरबाही गरेको आरोपमा दोषी ठहर भएका छन्।
दक्षिणकोरियाको दक्षिणी तटीय क्षेत्रमा चालकदलका सदस्यसहित चार सय ७६ जना यात्रुका साथमा यात्रामा रहेको सिवोल नाम गरेको पानीजहाज उत्तरपश्चिममा इन्चिओनबाट दक्षिणको जेजे द्वीपतर्फ गइरहेका बेला दुर्घटनाग्रस्त भएको थियो। समुद्रमा पल्टिएर डुंगा डुब्दा तीन सयभन्दा बढीको मृत्यु भएको थियो। मृत्यु हुनेमा अधिकांश विद्यार्थी थिए। विद्यार्थीहरू दक्षिणी जेजु द्वीपको एक रिसोर्टमा चार दिनका लागि घुम्न गइरहेका थिए। दक्षिणकोरियाको सबैभन्दा भयावह यस समुद्री दुर्घटनामा कप्तान लीसमेत चालक दलका १५ सदस्यमाथि मुद्दा चलाइएको थियो।
सरकारी वकिलहरूले जहाजका कप्तानमाथि नरसंहारको आरोप लगाउँदै फाँसीको सजाय माग गरेका थिए। तर, न्यायाधीशले यो आरोपबाट कप्तान लीलाई मुक्त गरे। दुर्घटना हुनुमा कप्तानको मात्र गल्ती नभएको भन्दै नरसंहारको आरोपबाट मुक्त गरिएको छ। ६९ वर्षीय लीले तीन दशक लामो जेल सजाय पाउनु भनेको अब उनको पूरा जीवन जेलमै बित्ने भएको स्वीकार गरेका छन्। दुर्घटना हुँदा अधिकांश यात्रु जहाजमै थिए भने कप्तान ली भागिरहेको दृश्य भिडियोमा देखिएपछि यात्रुका आफन्तजन आक्रोशमा आएका छन्।
फाँसीको सजाय माग गरिरहेका आफन्तजना ३६ वर्षको सजायबाट खुसी छैनन्। सुनुवाइका क्रममा लीले यात्रुलाई संकटमा छोडेकोमा माफी मागे। पानीजहाजका प्रमुख चालक लीले खाली गर्न आदेश दिन ढिलो भएको स्वीकार गरेका छन्। यात्रुहरू बग्ने डरले गल्ती हुन पुगेको उनले बताएका थिए। यसैगरी जहाजका प्रमुख इन्जिनियर पार्कलाई हत्याको दोषी पाइएको छ। उनलाई ३० वर्षको सजाय सुनाइएको छ। त्यस्तै चालक दलका अन्य १३ जना सदस्यलाई २० वर्षसम्मको सजाय सुनाइएको छ।
 सजाय सुनाउने क्रममा एक महिलाले भनिन्, ‘यी हत्याराहरूले हाम्रा बालबालिकाको हत्या गरेका हुन्। यो सजायभन्दा कडा हुनुपर्छ। अव्यवस्था र बचाउ कार्यमा कमजोरी भएको स्पष्ट छ।’ यो फैसला हुनु केही घन्टाअघि मात्र दक्षिणकोरिया सरकारले जहाज दुर्घटनामा हराइरहेका शवहरू खोज्ने काम बन्द गर्ने घोषणा गरेको थियो। उद्धार टोलीले दुई सय ९५ जनाको शव निकाल्यो भने नौजनाको शव अहिलेसम्म पाउन सकिएको छैन। दक्षिणकोरियामा भएको यो दुर्घटनालाई निकै खतरनाक मानिएको छ। पानीजहाज दुर्घटनालाई स्थानीय टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गरिरहेका थिए। बिस्तारैबिस्तारै डुबिरहेको जहाजमा सवार यात्रु पानीमा हाम फालिरहेका देखिन्छन् भने कसैलाई हेलिकोप्टरबाट तानिरहेको देखिन्छ। केही घन्टामै पूरै जहाज डुबेको थियो। अप्रिल महिनामै दक्षिणकोरियाली राष्ट्रपति पार्क ग्युन हायले पानीजहाज दुर्घटना हत्यासरह भएको बताएकी थिइन्।
जहाजबाट यात्रु उद्धार कार्यमा असन्तुष्टि जनाउँदै सोलमा विरोध प्रदर्शन भएपछि राष्ट्रपति पार्कले यस्तो प्रतिक्रिया दिएकी हुन्। दक्षिणकोरियाली तटरक्षक र पानीजहाजका कर्मचारी समूहबीच भएको अन्तिम कुराकानीको विस्तृत विवरणले त्यसबेला जहाजमा उत्पन्न अन्योलताबारे बुझ्न सकिन्छ। चालकहरूले निर्णय लिन नसकेको र आत्तिएको देखिन्छ। दक्षिणकोरियाको समुद्रमा पानीजहाजबाट यात्रा गर्नु सामान्य हो, तर यस्तो दुर्घटना भने निकै कम हुने गरेको छ। अप्रिलमा भएको यो दुर्घटना सन् १९९३ पछिको सबैभन्दा भयावह दुर्घटना मानिएको छ। सन् १९९३ को अक्टोबरमा एक पानीजहाज दुर्घटनाग्रस्त हुँदा दुई सय ९२ जनाको मृत्यु भएको थियो। -pk

 

प्रतिक्रिया