प्रधानमन्त्री चौथो पटक पास : दल फेरिए, फेरिएन विश्वासको मत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०८१, मंगलवार ०५:३८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको बहिष्कारका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । यो कार्यकालमा प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिएका हुन् ।

संसदमा उपस्थित १५८ जना सांसदमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य मत परेको छ । तटस्थमा एक मत परेको सभामुख देवराज घिमिरेले सभालाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री भएको १७ महिनामा प्रचण्डले चौथोपटक विश्वासको मत लिएका हुन् । समीकरण फेरिएको तीन महिना नपुग्दै सरकारमा सहभागी दल जसपा नेपाल विभाजन भएपछि प्रचण्डले फेरि विश्वासको मत लिनु परेको हो ।

Nabil bank
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि विपक्षमा रहेको जनमत पार्टीले साथ दिँदा विश्वासको मत यथास्थितिमा राख्न प्रधानमन्त्री सफल भएका छन् । तर सत्ता गठबन्धनभित्र रहेका एकीकृत समाजवादीका प्रकाश ज्वाला, नाउपाका गंगाराम चौधरी र एमालेका वसन्त नेम्वाङ भने बैठकमा अनुपस्थित भए ।

तर योपटक विश्वासको मत लिन उनले विपक्षीको अवरोध झेल्नु प¥यो । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध जारी राखेको बिच प्रधानमन्त्रीले पेलेरै विश्वासको मत लिएका हुन् । समाभुख घिमिरेले प्रधानमन्त्रीले पेस गरेको प्रस्तावको समर्थनमा एमालेका सांसद विष्णुप्रसाद पौडेललाई मात्र बोल्न दिएका थिए । विपक्षी कांग्रेस, राप्रपा, लोसपा, जसपा नेपाल लगायत दलहरू बहिस्कार गरे ।

यसअघि फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिँदा १५७ मत पाएका थिए । त्यस यता सरकारबाट जसपा नेपाल बाहिरिए पनि प्रचण्डलाई विश्वासको मतमा भने खासै फरक परेन । जसपा बाहिरिए पनि जसपाबाट विभाजित भएर बनेको जसपा नेपाल र यसअघि विपक्षी गठबन्धनमा रहेको जनमत पार्टीले साथ दिँदा प्रचण्डको पक्षमा मत घट्न नपाएको हो ।

२०७९ पुस १० गते एमालेको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । पहिलो पटक उनले २०७९ पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कुल २७० सांसदले मतदान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले संसदमा उपस्थित सङ्ख्याको ९९.२५ प्रतिशत मत पाएका थिए ।

त्यसबेला सत्ता पक्षबाट माओवादीसहित एमाले, रास्वपा, राप्रपा, जसपा, नाउपाले र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिए । यस्तै विपक्षी दल कांग्रेस, एकीकृत समाजवादी, लोसपा र केही स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका थिए ।

तर तीन महिना नपुग्दै राष्ट्रपतिको निर्वाचनपूर्व गत वर्ष फागुन १२ गते एमालेसँग सहकार्य तोडेका प्रचण्ड पुरानै गठबन्धनमा फर्किए । एमाले र राप्रपा सत्ताबाट बाहिरिएपछि उनले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । उपस्थित सङ्ख्या २६२ रहेकोमा विश्वासको मतको पक्षमा १७२, विपक्षमा ८९ मत परेको थियो । त्यतिबेला प्रधानमन्त्री प्रचण्डले ६४.१८ प्रतिशत मत पाए ।

दोस्रोपटक प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१