सुदूरका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन ‘बालकोट’ को निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०८१, बुधबार ०५:१७

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा (एमाले) ले विश्वासको मत दिने भएको छ ।मुख्यमन्त्री सोडारीले आगामी जेठ ३ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

यसअघि यही वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो । सत्ता साझेदार दल एमालेले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले केन्द्रको निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय भएको बताए ।

यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र (जेठ ५ गतेभित्र) विश्वासको मत लिइ सक्नुपर्छ । यसअघि विश्वासको मत लिने तयारी गर्नुभएका सोडारीलाई असंवैधानिक ढङ्गले मुख्यमन्त्रीमा नियुक्त गरिएको जिकिर गर्दै नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने निर्णय गरेको थियो ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन (ह्वीप) जारी गरेका थिए । नाउपामा देखिएको आन्तरिक किचलो अझै साम्य हुन सकेको छैन । एमाले, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाको १ र १ स्वतन्त्र सदस्य छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१