संघीय संसद्का दुवै सदनमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद नदिई बैठक स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०८१, बुधबार ०५:१५

काठमाडौं । संघीय संसद्का दुवै सदनमा नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेका छन् । कांग्रेसका सांसदहरुको अवरोधका कारण दुवै सदनको बैठक आगामी जेठ ३ गते बस्नेगरी स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको कांग्रेसले आरोप लगाउँदै आएको छ । उनीमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने कांग्रेसको माग छ ।

राष्ट्रिय सभामा कांग्रेसका सांसदहरुले बैठक सुरु हुनेबित्तिकै उठेर विरोध जनाएका थिए । उनीहरुलाई राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बसेर सहयोग गर्न अपिल गरे । तर, कांग्रेसका सांसदहरु आफ्नो अडानबाट टसमस नभएपछि बैठक स्थगित गरिएको थियो ।

त्यस्तै, प्रतिनिधि सभाका पनि सभामुख देवराज घिमिरेले आजको बैठकको काम कारबाही सुरु भएको उद्घोष गरेलगत्तै कांग्रेस सांसदहरु रोस्टम घेर्न अगाडि बढेका थिए । उनीहरुले संसद्मा चर्को नाराबाजीसमेत गरे । सभामुख घिमिरेले संसद्मा पेश गर्नुपर्ने महत्वपूर्ण अध्यादेशलगायत राष्ट्रपतिलाई धन्यवाद दिने कार्यक्रम कार्यसूचीमा रहेको भन्दै बस्न आग्रह गरे । कांग्रेस सांसदहरुको निरन्तर नाराबाजी गरेपछि सभामुखले जेठ ३ गते बस्नेगरी बैठक स्थगित गरे ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिन दुवै सदनको बैठक आह्वान गरिएको थियो । कांग्रेसको अवरोधका कारण दुवै सदनले राष्ट्रपतिलाई धन्यवाद दिन पाएन ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग निरन्तर उठाउँदै आएको छ । तर, सत्तारुढ दलले भने संसदीय छानविन समिति नबन्ने बताउँदै आएका छन् । आ–आफ्नो मागमा दुवै पक्ष टसमस नहुँदा संसद् अनिर्णयको बन्दी बनेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१