जीवी राई भगाउने प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गर्नुपर्छः ज्ञानेन्द्र शाही

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०८१, बुधबार ०५:११

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगी प्रकरणका फरार अभियुक्त जीवी राईलाई भगाएको आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री (तत्कालीन गृहमन्त्री) नारायणकाजी श्रेष्ठलाई पक्राउ गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो माग गरेका हुन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गत वैशाख २९ गते चितवनमा पुगेर जीवी राईलाई त्यो बेलाको सरकारले भगाएको भनी अभिव्यक्ति दिएको उनको दाबी छ । गृहमन्त्रीजस्तो मान्छेले अपराधीलाई तत्कालीन सरकारले भगाएको भनी अभिव्यक्ति दिएपछि पक्राउ गरेर आरोपितमाथि छानविन गरिनुपर्ने उनको माग छ ।

‘अब गृहमन्त्रीज्यूले प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गर्नुपर्ने हुन्छ । गृहमन्त्रीजस्तो मान्छेले बोलिसक्नुभयो प्रधानमन्त्री र पूर्व गृहमन्त्रीले जीवी राईलाई भगाएर भनेर । (वैशाख) २९ गते चितवनमा पुगेर उहाँले त्यो अभिव्यक्ति दिनुभएको छ ।’ उनले भने, ‘जीवी राईलाई अपराधी हो भनेर नेपाल सरकारले पक्राउ पुर्जी जारी गरेको हो । अनुसन्धान गर्नुपर्छ भनेर पक्राउ पुर्जी जारी गरेको मान्छेलाई भगाउने सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व गृहमन्त्री, अहिलेका परराष्ट्रमन्त्रीलाई पक्राउ गर्नुस् । होईन भने तपाईँले चितवनमा बोलेको कुरा के हो त ? यसको जवाफ चाहिन्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१