औलो रोगले मानिसलाई छिट्टै प्रभावित पार्ने र ज्यान पनि लिनसक्ने भएकाले नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय गरी एकीकृत नियन्त्रण अभियान कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरोकारवालाको जोड छ ।
तथ्याङ्कअनुसार औलो प्रभावित जिल्लामध्ये इलाम, झापा, मोरङ, धनुषा, महोत्तरी, सिन्धुली, बाँके, बर्दिया, चितवन, सर्लाही, नवलपरासी, कैलाली र कञ्चनपुर गरी १३ जिल्ला उच्च जोखिममा रहेका छन् ।
सोलुखुम्बु, भक्तपुर, ललितपुर, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, कालिकोट, मुगु र सिन्धुपाल्चोक गरी १० जिल्ला भने औलोमुक्त जिल्लामा पर्दछन् ।
सरकारले अन्य जिल्लामा जस्तै बाँके जिल्लामा पनि औलो रोग नियन्त्रणका लागि सबै स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा औलोको जाँच र उपचार गर्ने व्यवस्था मिलाएको छ भने नियन्त्रणका लागि लामखुट्टे मार्ने कीटनाशक औषधि छर्कने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
सन् २००६ मा जिल्लाको फत्तेपुर, होलिया र गङ्गापुरमा महामारीको रुपमा पैmलिएको औलो रोगबाट ३३ जनाको मृत्यु भएपछि यस जिल्लामा औलो रोग नियन्त्रणको विशेष अभियान नै सञ्चालन गरिँदै आएको छ । त्यसपछि भने सो रोगबाट कसैको मृत्यु भएको छैन ।
यस जिल्लाको औलो रोग प्रभावित २० गाविसमध्ये जोखिममा रहेका फत्तेपुर, लक्ष्मणपुर, काँलाफाँटा, कोहलपुर र रझेना गाविसमा समेत रोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिँदै आएको छ ।
यसैबीच औलो रोगको जोखिममा रहेका जिल्लाका सबै गाविसका नागरिकलाई नेपाल रेडक्रस, बाँकेले ‘सुपानेट झुल’ वितरण गरेको छ ।
पपुलेसन सर्विस इन्टरनेसनल संस्था र रेडक्रस केन्द्रीय कार्यालयबीच सुपानेट झुल वितरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि रेडक्रस बाँकेलाई करिब ६० हजार थान झुल प्राप्त भएको हो ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार ओखतीसहितको विशेष प्रविधिबाट तयार गरिएको सुपानेट झुल वितरण गरिएपछि ती गाविसका करिब ९४ हजार नागरिक औलो रोगबाट सुरक्षित हुने विश्वास गरिएको छ । झुलको ओखती प्रभाव र गुणस्तर तीन वर्षसम्म रहने जनाइएको छ ।
सन् २००६ मा जिल्लाको फत्तेपुर, गङ्गापुर र होलियामा महामारीको रुपमा कडा खालको औलोको सङ्क्रमण फैलदा ३३ जनाको मृत्यु भएपछि जनस्वास्थ्य कार्यालयको अगुवाइमा औलो रोग नियन्त्रण र त्यसबाट नागरिकको सुरक्षाप्रति विशेष कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
तर, विगत छ वर्षको अन्तरालमा औलो रोगको उच्च जोखिममा रहेका गाविसका नागरिकलाई सुपानेट झुल वितरण नगरिँदा गत वर्षदेखि यस जिल्लामा औलोका बिरामीको सङ्ख्यामा वृद्धि हँुदै आएको छ ।
दुई वर्षअघि जिल्लामा कडा खालको औलो अर्थात् ‘प्लाजमोडियम फाल्सिफारम’ र ‘प्लाजमोडियम भाइबेक्स’ का १५ बिरामी भेटिनुले महामारीको सम्भावनालाई नकार्न नसकिने स्वास्थ्यकर्मी बताउँछन् । रासस
प्रतिक्रिया