बिहीबार विष्णुको पूजा, राजा परदेश गएपछि रानीहरू भोकभोकै परेको यस्तो छ कथा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०८१, बिहीबार ०६:१५

काठमाडौं । हिन्दू धर्म संस्कृति अनुसार बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान् श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ ।

पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ । यसदिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ ।

राजा परदेश गएपछि रानीहरू भोकभोकै
पौराणिक कथाअनुसार एकजना प्रतापी र दानी राजा थिए । उनको दरबारमा असाध्यै धेरै सम्पत्ति थियो । उनी प्रत्येक बिहीबार व्रत बस्ने तथा पुण्यकर्म गर्ने गर्दथे ।

तर रानी भने त्यस्तो केही कर्म गर्दिन थिइन् । राजाले गरेको धार्मिक कार्यलाई रानीले असहयोग गर्थिन् । दरबारमा थुप्रिएको सम्पत्तिका कारण आफूले धेरै काम गर्नु परेकोमा उनी चिन्तित हुन्थिन् ।

एक दिन गुरु वृहस्पति उनको दरबारमा साधुको रूप धारण गरी पुगे । त्यसबेला राजा सिकार खेल्न जङ्गल गएका थिए । रानीले साधुलाई देखेर आफ्नो दरबारमा भएको सम्पत्ति तथा वैभव समाप्त पारिदिन आग्रह गरिन् ।

साधु रूप धारण गरेका गुरु बृहस्पतिले पनि रानीको चाहना पूरा गर्न फल प्राप्ति हुने कर्म भन्दा पनि नष्ट हुने कर्म गर्न सिकाउँछन् । रानीले बिहीबारको दिन त्यसै गर्छिन् ।

दरबारको सम्पूर्ण वैभव समाप्त हुन्छ । दुःख पाएपछि राजा कामका लागि परदेश लाग्छन् । दरबारमा भएका रानीहरूले पनि भोकभोकै बस्नु पर्ने दिन आउँछ ।

यो दुःखका बीच रानीले आफ्नी बहिनी कहाँ सहयोग माग्न पुग्छिन् । बहिनीले उनीहरूलाई धन प्राप्तिका लागि बिहीबारको व्रत बस्न सुझाउँछिन् । त्यसपछि रानी र उनका दासीहरू बिहीबारको दिन व्रत बस्न थाल्छन् ।

व्रत बस्न थालेदेखि फेरि दरबारमा सम्पत्ति थुप्रिन थाल्छ । दरबारमा सुख मिल्न थाल्छ । परदेश गएका राजा पनि फिर्ता आउँछन् । त्यसैले बिहीबारको दिन व्रत बसेको खण्डमा सम्पत्ति तथा वैभव प्राप्त हुने जनविश्वास छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१