हात्तीपाइले रोग के हो? कसरी सर्छ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ बैशाख २०८१, बुधबार १७:५५

‘हात्तीपाइले रोगबाट बच्ने उपाय भनेको औषधि सेवन नै हो’

हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। शरीरमा यसको परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन्। लक्षण देखिइसकेपछि भने यो रोग निको पार्न सकिँदैन।

नेपालमा अझै पनि करिब ३० हजार जना हात्तीपाइले रोगी रहेको सरकारी अनुमानित तथ्यांक छ। हात्तीपाइले रोग निवारणका लागि १२ जिल्लामा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदैछन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोगको उच्च जोखिममा रहेका १२ जिल्लाका १ सय २९ स्थानीय तहका ७० लाख ४५ हजार जनालाई औषधि खुवाउने लक्ष्य छ। तर अझै पनि मानिसहरुमा हात्तीपाइले रोग विरुद्धको औषधिलाई लिएर विभिन्न भ्रमहरु छन्। औषधिको सेवनपछि बिरामी पर्ने, मृत्यु हुने र विभिन्न किसिमका साइड इफेक्ट देखिन सक्ने भन्दै कतिपयले औषधि खाँदैनन्। तर यो सबै भ्रम रहेको चिकित्सक बताउँछन्।

सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न सबैलाई आग्रह गर्छन्। औषधिको सेवनले मात्र हात्तीपाइले रोगबाट बचाउन सक्ने उनले बताए। यद्यपि दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु, कडा रोगको लागि औषधि सेवन गरिरहेकाहरु, कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्नु हुँदैन।

हात्तीपाइले रोग के हो? कसरी सर्छ? औषधिको सेवन किन आवश्यक छ लगायत विषयमा डा बास्तोलासँग हामीले कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी उनकै शब्दमाः

हात्तीपाइले रोग एक किसिमको परजीविबाट लाग्ने गर्छ। त्यो परजीवि लामखुट्टेले सार्ने गर्छ। क्युलेक्स नामक लामखुट्टेको टोकाइबाट त्यो परजीवि सर्ने गर्छ।

हात्तीपाइले रोग लागेपछि खुट्टा सुन्निने अनि हाइड्रोशिलको विकास हुन्छ। यो परजीविको आयु आठ वर्षको हुन्छ। यो परजीविले आफ्नो बच्चाहरु रगतमा निकाल्ने गर्दछ, जुन लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्ति सर्ने गर्छ। हात्ती पाइलेको उपचारमा विशेष गरी दुई किसिमको उपचार पद्दति अपनाइने गरिन्छ।

पहिलो, हात्तीपाइले रोग भएको व्यक्तिबाट अर्को व्यक्तिमा सर्नबाट रोक्न वर्षेनी औषधि खुवाइन्छ। जसका कारण वयस्क परजीविले १२ देखि २४ महिनासम्म बच्चा बनाउन सक्दैन। यसले गर्दा त्यहाँका लामखुट्टेहरु संक्रमित हुँदैनन् र अन्य व्यक्तिमा यो रोग सदैन। यसलाई हामी ट्रान्समिसनलाई रोक्ने भन्छौ।

दोस्रो, जो व्यक्तिको खुट्टा सुन्निएको हुन्छ। उनीहरुले निरन्तर रुपमा खुट्टा साबुन पानीले धुने, कापाहरु सफा गर्ने, ढुसी लागेको छ भने ब्याक्टेरिया विरुद्धको मल्हमको प्रयोग गर्ने। यो गर्दा पटक पटक खुट्टा सुन्निने समस्याबाट बच्न सकिन्छ, जसलाई हामी एक्युट अट्याक भन्छौ। एक्युट अट्याकबाट हामीले बचाउन सक्यौ भने ती व्यक्ति हात्तीपाइलेसम्म पुग्न सक्दैन।

सुरुमा खुट्टा सुन्निने प्रक्रिया एउटा खुट्टाबाट सुरु हुन्छ। बिहान उठ्दा खुट्टा सामान्य देखिन्छ तर बेलुकीसम्म खुट्टा सुन्निन थाल्छ। समयमै हेरचाह नगरे खुट्टा सुन्निने समस्या बढ्दै जान्छ। त्यसैले दैनिक खुट्टाको सफा गर्ने, नङ काट्ने, खुट्टामा चोट लाग्न नदिने, कापामा घाऊ हुन नदिए त्यो बढेर हात्तीपाइले सम्म जान पाउँदैन।

सरकारले हाइड्रोशिलको उपचार विभिन्न अस्पतालमा निशुल्क गर्दै आएको छ। खुट्टा सुन्निएर विकराल स्थिति भइसकेपछि त्यसको उपचार हुँदैन। अपरेशन गरेर पनि फाइदा हुँदैन। त्यसैले सुरुदेखि नै हेरचाह गर्‍यो भने खुट्टा सुन्निन पाउँदैन।

सरकारले हात्तीपाइले प्रकोप जिल्लाहरुमा वर्षेनी हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँदै आएको छ। यो औषधिको सेवनले हात्ती पाइले रोगको संक्रमणबाट बचाउँछ। हात्ती पाइले रोग विरुद्धको औषधि शिक्षित वर्गले नै नखाने गरेको पाएको छु। तर त्यसो गर्नु हुँदैन। हात्तीपाइले रोगबाट बच्न यो औषधि सबैले खानुपर्छ। त्यसैले हात्तीपाइले रोग विरुद्धको औषधि खान म सबैलाई आग्रह गर्दछु।

औषधि खाएपछि मानिसको मृत्यु हुने एलर्जी हुने लगायत विभिन्न भ्रमहरु छन्। यो औषधिले मानिसहरु मर्दैन। कुनै कुनै व्यक्तिमा केही साइड इफेक्ट देखिन सक्छ। कुनै व्यक्तिहरुमा ज्वरो आउने, एलर्जी हुने, मासंपेशी दुख्न सक्छ। यो भनेको शरीरमा भएको परजीविलाई औषधिले मारेको भनेर बुझ्न आवश्यक छ। यो सामान्य हो, यसको उपचार हुन्छ।

तर यो औषधि खान हुँदैन भन्ने भ्रमबाट बचौँ। औषधिको सेवनबाट नै हामी हात्तीपाइले रोगबाट बच्न सक्छौं। swasthyakhabar बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१