मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०८०, बुधबार ०६:४२

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

मंगलबार गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश सभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका हुन् । उनले रिटमा अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

एमाले संसदीय दलका नेता अधिकारी आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। अधिकारीले शपथ खाएर अरू दुई बिना विभागीयमन्त्री पनि नियुक्त गरिसकेका छन्।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा गरेका थिए। उनको राजीनामा सँगै प्रदेश प्रमुख भट्टले ७ दिनको समय दिएर २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त हुने सरकार गठनका लागि आह्वान गरेका थिए।

एमाले, माओवादी र एक स्वतन्त्र सांसदले एमाले नेता अधिकारीलाई समर्थन गर्ने भन्दै मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए। अधिकारीका तर्फबाट पेस दाबीमा एमालेका २२, माओवादीका ८ र एक स्वतन्त्र गरी ६० सदस्यीय गण्डकी प्रदेश सभाको बहुमत ३१ सदस्यको समर्थनको उल्लेख छ।

माओवादीले आफ्ना ८ सांसदको उल्लेख गरे पनि उक्त दलका एक सदस्य कृष्ण धिताल भने सभामुख छन्।

कोशी प्रदेशमा गत असार २९ गते कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बहुमतको समर्थन देखाउँदा भने तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षर समावेश गरेका थिए। सभामुखले सरकार गठन वा विघटनमा भाग लिन नमिल्ने भन्दै थापाको मुख्यमन्त्रीमा भएको नियुक्ति सर्वोच्च अदालतले बदर गरेको थियो।

गण्डकी प्रदेशमा सभामुखको हस्ताक्षर नभए पनि माओवादीका ८ सांसद भनेर उनको पनि गणना भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१