‘बाँझोपन’: महिलालाई ‘अपराधी’ बनाइरहेको एउटा सामाजिक रोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०८०, शनिबार ०६:०३

। रामेछापकी बिनिता तामाङ। १२ वर्षअघि बिहे गरेकी बिनिताका अहिलेसम्म सन्तान छैनन्। २९ वर्षको उमेरमा बिहे गरेकी उनको दम्पतीले त्यहीबेलै सन्तानको योजना बनाइसकेको थियो।

गर्भ पनि रह्यो। तर, दुई महिनापछि त्यो तुहियो। त्यसपछिका कैयौँ कोसिसमा पनि सन्तान हुन सकेन।

सन्तानका लागि उनले केसम्म गरिनन्। उनीमात्रै होइन उनका श्रीमान पनि कैयौँपटक अस्पताल धाए। डाक्टरहरूलाई समस्या बताए।

धामी झाँक्रीलाई पनि देखाए। तर, पनि सन्तान हुन सकेनन्। त्यसको पीडा भने बिनिता एक्लैले खेपिरहेकी छिन्।

परिवार अनि समाजले भन्ने ‘बाँझी’ उनीमात्रै भएकी छिन्। ‘बाँझोपन’ त महिलामा पनि हुन्छ पुरुषमा पनि। तर त्यसको आरोप अनि पीडाहरू महिला एक्लैले भोग्नुपर्छ।

बिनिता पनि त्यही पीडामा छिन्।

केही दिनअघि थापाथलीस्थित पराेपकारी प्रसुती गृहको ‘आइभिएफ’ कक्षमा भेटिएकी उनले सन्तान नहुनुको पीडा सुनाइन्।

‘कसैले अलक्षिनी भन्छन् कसैले बाँझी भन्छन्’ उनको पीडा छ ‘लोग्नेलाई अर्की बिहे गर् भनेर घरपरिवारले नै सुनाउँछन्।’

यो पीडामा बिनिताले धेरै आँसु बगाइसकेकी छिन्। रुँदा मन हल्का भएको महसुस हुन्छ उनलाई।

४१ वर्षको उमेरमा उनी यतिबेला कृत्रिम गर्भाधानका लागि ‘आइभिएफ’ सेन्टरहरू धाउन थालेकी छिन्।

प्रसुती गृहको आइभिएफ सेन्टरमा बिनिताजस्ता धेरै महिलाहरू भेटिन्छन्। लोग्नेहरू हुँदैनन्। ‘सन्तान-दोष’को भारी आफैँले मात्रै बोकिरहेका यस्तै महिलाहरूको भीडमा इलामकी डमरुकुमारी अर्याल थिइन्। परामर्शका लागि पालो कुरिरहाकी यी महिलाहरूको अनुहारमा ‘सन्तान-खुसी’ नाचिरहेको पनि देखिन्छ।

अहिले २७ वर्षकी डमरुको ‘महिनावारी’ बिग्रिएको थियो। सुरुसुरुमा त उनलाई लाग्यो- यो सामान्य समस्या हो। तर, पछिमात्रै थाहा भयो- गर्भ नहरनुको एउटा गम्भीर कारण यो पनि थियो।

यो उमेरमै उनले पनि ‘बाँझी’ हुनुको पीडा भोगिरहेकी छिन्।

दैनिक ज्याला मजदूरी गर्दै आएकी डमरुलाई आफ्नै साथीहरूले ‘बाँझी’ भन्छन्।

‘सबका छोराछोरी भए, बिहे भएको यतिका वर्षसम्म पनि यसको छोराछोरी नै हुन सकेनन्’ छरछिमेकमा उनका बारेमा सुनिने यस्ता कुराले डमरुलाई मुटुमै घोच्छ।

परिवारबाट त उनलाई त्यति सारो दबाब छैन। तर, समाजलाई सहन नसकेर उनी पनि कृत्रिम गर्भाधानका लागि आइभिएफ सेन्टरहरू धाउन थालेकी छिन्।

बिनिता अनि डमरुकुमारीहरूले त घरपरिवार अनि समाजको लाञ्छनाहरू भोग्दै आएका छन्। सन्तान नहुनुको पीडा, समाज अनि परिवारको दबाव र मानसिक पीडाले महिलाहरूलाई कसैको बच्चा चोर्नमात्रै होइन, आत्महत्याकै स्थितिसम्म पुर्‍याइरहेका छन्।

महिना दिनअघि प्रसुती गृहमा एउटा त्यस्तै घटना भयो। दैलेख घर भएकी मनकुमारी सिंहले २२ दिनको बच्चा चोरेर प्रसुती गृहबाट ‘चोरेर’ भागिन्। रातभरि खोजेर प्रहरीले बच्चा फिर्ता गराइदियो र उनी केही दिन हिरासतमा पनि बसिन्।

यसअघि बुटवलको अस्पतालमा पनि एउटा त्यस्तै घटना भएको थियो।

मनकुमारीहरूलाई बच्चा चोर्नेसम्म बनाउने पनि यही समाज हो। यही परिवार अनि समाजको एउटा ‘मनोविज्ञान’ हो, जहाँ सन्तान पाउने जिम्मेवारी पनि महिलाको मात्रै हुन्छ अनि त्यो नहुनुको पीडा पनि महिला एक्लैले पनि भोग्नुपर्छ।

सामाजिक मनोपरामर्शदाता दीपा धितालका अनुसार ‘बाँझोपन’ महिला वा पुरुषको कुनै स्वभाविक दोष नभइ शारीरिक समस्या रहेको बताउँछिन्।

‘तर यसलाई समाजले अनेक कुरासँग जोडिदिन्छ। सन्तान नहुनुको दोष महिलालाई मात्रै दिइन्छ’ उनी भन्छिन् ‘सन्तान नहुनुको दोष कुनै महिला वा पुरुषकोमात्रै हुँदै होइन। यो कुनै धर्म वा पापसँग जोडिएको कुरा पनि होइन।’

बाँझोपनको अर्थ बुझाउन नसक्दा महिलाहरूले त्यसको पीडा भोग्नुपरेको उनको भनाइ छ।

‘बाँझोपनको दोष कसलाई किन थुपार्ने? यो एउटा स्वास्थ्यसँग जोडिएको कुरा हो भनेर हामीले बुझाउन सकेका छैनौँ’ उनी भन्छिन् ‘त्यसको परिणाम कसैको बच्चा चोर्नसम्म बाध्य पारिएका छन्। अझ यस्तै पीडाले महिलाहरूलाई अरु जघन्य बाटोतिर पनि डोर्‍याउनसक्छ। त्यस्ता धेरै उदाहरणहरू छन्।’

प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. श्री अधिकारी पनि सामाजिक चेतनाका कारण अझै पनि ‘बाँझोपन’को दोष महिलामाथि मात्रै थोपरिएको बताउँछन्।

‘शिक्षित होस वा अशिक्षित परिवार अनि समाज सबैले सन्तान नहुनुको दोष महिलालाई मात्रै दिन्छन्’ अधिकारी भन्छन् ‘तर त्यस्तो होइन। उपचार प्रक्रियामा जाँदा त्यसको समाधान पनि सजिलै हुनसक्छ भनेर हामीले समाजलाई बुझाउन जरुरी छ।’

उनका अनुसार प्राकृतिकरुपमै बच्चा जन्माउन कुनै शारीरिक समस्या भए पनि त्यसको विकल्पमा अहिले कृत्रिम गर्भाधानको युग सुरु भइसकेको छ।

‘नेपालमा पनि धेरै त्यस्ता आइभिएफ सेन्टरहरू छन्। जहाँ निशन्तान दम्पतीहरूले कृत्रिम प्रक्रियाबाट बच्चा पाउन सक्छन्’ उनी भन्छन् ‘बाँझोपनलाई मात्रै अनेक दोष दिएर हुँदैन। अबको युग प्रविधिको हो र प्रविधिबाट पनि बच्चा जन्माउन सकिन्छ भनेर कुरा हामीले बुझाउनुपर्छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१