नेपाः मण्डल सहित बहुलराष्ट्रिय राज्य स्थापनाको लागि भोलि काठमाडौंको बसन्तपुरबाट खुल्ला मञ्च सम्म बृहत र्याली हुँदै

evccfn@gmail.com' rastriyakhabar
२३ चैत्र २०८०, शुक्रबार २२:२३

काठमाडौं । नेवाः लगायत नेपालका राज्यविहिन राष्ट्रहरूमाथि कायम औपनिवेशिकताको अन्त्य गर्दै नेपाः मण्डल सहित बहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्नको लागि भोली २०८० चैत्र २४ गते, दिनको ११ः०० बजे वसन्तपुरमा भेला भइ तिं ख्यः(खुल्ला मञ्च)जाने कार्यक्रम तय भएको नेवाः राष्ट्रिय परिषद संयोजक सुमन सायमी तथा स्वनिगः(उपत्यका) विशेष ब्यूरो संयोजक रविन्द्र कुमार श्रेष्ठ बताउनु भएको छ ।
स्वाधिनता र आत्मनिर्णयको अधिकार सहितको स्वयत्तताको लागि सपुर्ण जनसमुदायहरु उपस्थित भईदिनको लागि एक प्रेस विज्ञप्ति समेत जारि गरिएको छ ।
प्रेस विज्ञप्ति जस्ताको तेस्तै

प्रेस विज्ञप्ती
नेवाः लगायत नेपालका राज्यविहिन राष्ट्रहरूमाथि कायम औपनिवेशिकताको अन्त्य गर्दै नेपाः मण्डल सहित बहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्नको लागि भोली २०८० चैत्र २४ गते, दिनको ११ः०० बजे वसन्तपुरमा भेला भइ तिं ख्यः(खुल्ला मञ्च)जाने कार्यक्रम तय भएको जानकारी गराउन चाहन्छौं ।
विश्वकै प्राचिनतम सभ्यताहरू मध्येको एक नेवाः सभ्यताका जनताहरूलाई आज २७० वर्ष देखी कायम एकल राष्ट्रिय राज्यको औपनिवेशिकताले समाप्तिको संहारमा उभ्याएको छ । आज नेवाः राष्ट्र आफ्नै स्वदेशबाट विस्थापित हुदैं छ । आफ्नै भूमीमा राज्यविहिन भए पश्चात नेवाः भूमी, भौतिक र अभौतिक संस्कृतीहरू, भूक्षेत्र, श्रोतहरू लुटिएको छ । नेवाः सम्पदाहरू मासेर नेवाःलाई औपनिवेशिकता विस्तार गर्ने अखाडाहरू जस्तै सैनिक मञ्च, सिंहदरवारहरू, न्यायालयहरू, प्रहरी चौकिहरू, शिक्षालयहरू, व्यापारिक केन्द्रहरू खडा गरेका छन् ।
२७० वर्षदेखी कायम नेपाली राज्य औपनिवेशिकतालाई २१औं शताब्दीको प्रारम्भिक दशकमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रले पनि निरन्तरता दिई रहेको छ । गोर्खाली सत्तामा राजाहरूको शासन केवल वंशको निम्ति, राणाहरुको शासन जहानको निम्ति, प्रजातन्त्रदेखि गणतन्त्रसम्मको शासन केवल एउटा नश्लको निम्तिमात्र आत्म गौरबको सत्ता बनाइयो । विगतदेखी कायम औपनिवेशिकता मार्फत राज्यविहिन तुल्याइएका नेवाः लगायत स्वदेशी राष्ट्रहरूको आत्मसम्मान जगाउन भाषा,धर्म,संस्कृती,भूमी,सम्पदा लगायत माथी भईरहेको विभिन्न अतिक्रमण विरुद्ध आन्दोलनहरू निरन्तर रुपमा आज पनि कायम छ । दुर्भाग्य आन्दोलनहरूले ठोस उपलब्धी दिन सकेको छैन । सन् १९२६ मा नेपाल भाषा विकास मण्डल(नेपाल भाषा अभियान)ले चलाएको आन्दोलन देखी लाखौ नेवाःहरू सडकमा उक्रिएर गुठी विधेयक खारेज गरेता पनि नेवाः राष्ट्रकोे सत्तामाथि झुन्डिएको तरबार हटेको छैन । वर्तमानको औपनिवेशिक राज्यसत्तालाई नै सहमती उत्पादन गर्ने आन्दोलनको गोलचक्करबाट मुक्त गरेर राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्न, राज्यविहिन तुल्याएका हिमाल, पहाड, तराई, मधेश लगायत विभिन्न राष्ट्रका सुशासन र सम्वृद्धि चाहने बहुलराष्ट्रियताहरू सबै संयुक्त रुपमा एकताबद्ध भई बहुलराष्ट्रिय राज्य निर्माण गर्नु अति आवश्यक भैसकेको छ ।
बहुलराष्ट्रिय राज्य नेपालमा मात्र नेवाः लगायत राज्यविहिन राष्ट्रहरूले संघीय लोकतान्त्रिक गणतन्त्रमा निहित औपनिवेशिकतालाई अन्त्य भएको महसुस गर्नेछ । यही क्रान्तिले देशमा सबै नेपालीका लागि शासन र संविधानमा परिवर्तन ल्याउने छ र नेपाल सबै नेपालीका लागि निर्माण गर्नेछ । यो क्रान्ति कुनै एक दल वा समुदायबाट सम्भव नै छैन तसर्थ विद्यमान सम्पूर्ण परम्परागत पार्टीबाट माथि उठी राज्यविहिन तुल्याएका राष्ट्रका सम्पूर्ण जनता जुटेर गौरवशाली नयाँ नेपाल साझा नेपाल निर्माण सम्भव छ ।
वि.स. १८२५ यता हामी नेवाहरू हाम्रै भूमीमा पराया भएका छौं । किर्तिपुरमा काटिएका १७ धार्नि नाक र कान खोज्ने हिम्मत हामीले गर्न सकेका छैनौं । किर्तिराज्य लक्ष्मीका सपनाहरू पुरा गर्ने तथा गोर्खालीको नेवाः राष्ट्रको इतिहास, संस्कृति, भाषा लगायत समग्र सभ्यतामाथि गरेको अतिक्रमणले सिमा नाघेको छ । राष्ट्रिय विभुती शंखधर शख्वाले जस्तै गोर्खाली सत्ताले दिन प्रतिदिन गरिरहेको अतिक्रमण तथा लुटको अन्त्य गर्दै पुर्खाहरूको सत्व र स्वाभिमानलाई बोकेर नेवाः राष्ट्रलाई एकल राष्ट्रिय राज्यको ऋणबाट मुक्त बनाउनु आजको नेवाः पुस्ताको दायित्व हो । पुर्खाले सुम्पिएको यस दायित्व पुरा गर्दै हाम्रो शिर उच्च बनाउने यस महान अभियानमा सरिक हुन आम नेवाः लगायत सम्पूर्ण राज्यविहिन राष्ट्रका जनताहरूलाई हार्दिक आह्वान गर्दछांै ।
नेपाल संवत ११४४ चिल्लागा(२०८० चैत्र २३)
सुमन सायमी
संयोजक
नेवाः राष्ट्रिय परिषद
रविन्द्र कुमार श्रेष्ठ
संयोजक
स्वनिगः(उपत्यका) विशेष ब्यूरो

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१