आज तेस्रोपटक विश्वासको मत लिँदै जम्कट्टेल, कांग्रेसको निर्देशन र समाजवादीको अडानले बहुमत जुटाउन सकस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०८०, सोमबार ०६:५२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।

हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई सरकारमा सहभागी गराएर बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले विस्वासको मत लिने तयारी गरेका हुन् । संबैधानिक ब्यबस्था अनुसार चैत्र २२ गतेभित्र विश्वासको मत लिनुपर्ने भएपनि उनले आजै विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलले आज तेस्रो पटक संसदबाट विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । २०७९ पौषमा प्रदेशका ७० सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले त्यतीबेला प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिएका थिए । गत फागुन २३ गते सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।

बागमतीमा नेकपा (एमाले), माओवादी केन्द्र, नेकपा समाजवादी र हाम्रो नेपाली पार्टीको नयाँ सत्ता समिकरण बनेको छ । बागमतीमा पटक पटक गठबन्धन फेरिएपनि जम्कट्टेलले मुख्यमन्त्रीको पद भने छोड्नुपरेको छैन ।

यथास्थितीमा विश्वासको मत दिंदैनौः एकीकृत समाजवादी

बागमतीमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले यथा स्थितीमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताएको छ । आइतबार अपरान्ह बसेको नेकपा एकीकृत समाजवादी संसदीय दलको दलको बैठकले जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो ।

बागमती प्रदेशमा ७ सिट रहेको एकीकृत समाजवादी आफ्नो निर्णयमा अडिग रह्यो भने मुख्यन्त्रीको विश्वासको मत सम्बन्धि प्रस्ताव पास नहुने देखिएको छ । निर्णय बलिएको खण्डमा भने मुख्यमन्त्रीले बहुमत पाउने अवस्था रहन्छ ।

विपक्षमा मतदान गर्न काग्रेसको निर्देशन

प्रदेशको सबैभन्दा ठूलो लद नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आईतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।

बागमती प्रदेश सरकारबाट राजिनामा दिई बाहिरिएको र प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकोले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दललाई निर्देशन दिएको कांग्रेस बागमती प्रदेशका मुख्यसचिव राजु नेपालले बताए।

१ सय १० सदस्य रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवश्यक पर्छ । बागमतीमा नेपाली काग्रेस ३७, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ । राप्रपा र नेमकिपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१