मलेसियामा यस्तो छ नेपालीको बिजोक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० कार्तिक २०७१, बिहीबार ११:५८
– प्रदिप राई।download (3)
क्वालालम्पुर मलेसिया, २० कार्तिक  ।  कम्पनीले अनुमति नदिँदा मलेसियामा बिरामी परेका एक नेपाली स्वदेश फर्कन पाएका छैनन् । कार्यरत कम्पनीले अनुमति नदिँदा एलवाई फर्निचर कम्पनीमा कार्यरत खोटाङ दोर्पा चिउरी डाँडा–९ का २७ वर्षका गुणराज थापा स्वदेश फिर्नबाट बञ्चित हुनुभएको हो ।
कम्पनीले घर जाने अनुमति नदिएपछि छातीको समस्याले थलिएका थापा तीन महिनादेखि मलेसियामै बिचल्लीमा पर्नुभएको छ । मलेसियाको पुत्रा हस्पिटलले नेपाल पठाउन लिखित सिफारिस गरेपनि अहिलेसम्म कम्पनीले रोकेर राखेको उहाँका साथी अमृत भण्डारीले बताउनुभयो ।
बिरामी ठीक नहुने भन्दै अस्पतालले थप उपचारका लागि नेपाल पठाउन सिफारिस गर्दा समेत कम्पनीले पैसाको बार्गेनिङमा रोकेर राखेको थापाको गुनासो छ । ‘तँलाई केही भएको छैन, नेपाल जाने भए पैसा तिरेर जा भन्छ,’ थापाले भन्नुभयो, ‘म सँग पैसा पनि छैन, यस्तो अवस्थामा म कसरी स्वदेश फर्कन सक्छु ?’
नेपाल फर्कनका लागि कम्पनीले उहाँलाई २ हजार ४ सय रिंगेट मागेको छ । मागिएको रकम बुझाउन नसकेपछि थापा सहयोगका लागि साथी भाइलाई हारगुहार गर्दै बसिरहनुभएको छ ।
काठमाडौंको सामाखुसीस्थित लिङ्कस्टार म्यानपावर कम्पनीबाट दुई वर्षअघि मलेसिया पुगेका थापा त्यहाँ पुगे लगत्तै बिरामी पर्नुभएको थियो ।  अस्पतालको रिपोर्ट अनुसार थापाको छातीमा गम्भीर समस्या देखिएको छ ।
बिरामी परेर थलिएका थापाले मलेसियास्थित नेपाली दुतावास, नेपाल सरकारसँग नेपाल फिर्ताकालागि सहयोग गर्न आग्रह गर्नुभएको छ । बिरामीका कारण अहिलेसम्म नेपाली दुताबास पुग्न नसकेको उहाँले बताउनुभयो ।
मलेसिया पठाउने म्यानपावरले स्वदेश फिर्ताकालागि समेत सहयोग नगरेको थापाको गुनासो छ । अस्वस्थताका कारण दैनिक काम गर्न नसक्ने थापा हाल कोठामा सुतेरै दिन विताइरहेको उहाँका साथीहरुले बताएका छन् । मलेसियाको विभिन्न अस्पतालमा उपचार गराएका थापालाई थप उपचारका लागि पुत्रा हस्पिटलले स्वदेश पठाउनका लागि पत्रमै सिफारिस गरेको भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया