प्रदेश प्रमुखमा सिफारिस भण्डारी, भट्ट र मियाँ को हुन् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०८०, मंगलवार ०६:५५

काठमाडौं । सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ पठाउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को बैठकले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।  मन्त्रिपरिषद्को बैठकले ती प्रदेश प्रमुखलाई पदमुक्त गर्नको लागि राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय भएको सरकारी प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले प्रदेश सरकार र केन्द्र सरकारबीच आवश्यक समन्वय गर्नका लागि प्रदेश प्रमुख पदमुक्त गरी नयाँ नियुक्त गरिएको बताइन‍्।

‘प्रदेश र केन्द्र सरकारको बीचमा आवश्यक समन्वय जरूरी हुन्छ। अहिले प्रदेशहरूमा देखिरहेकै छौं। कतै विश्वासको मत फिर्ता लिने त कतै मन्त्रीहरूलाई बर्खास्त गर्ने काम भइरहेको छ। त्यसकारण राजनीतिक रूपमा सरल र सहज होस्, प्रदेश र केन्द्रको राजनीतिक दृष्टिकोण समान होस् भनेर गरिएको हो,’ उनले भने।

गण्डकीमा पृथ्वीमान गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरमा देवराज जोशी प्रदेश प्रमुख रहेका थिए । उनीहरु तीनै जना नेपाली कांग्रेसका कोटाबाट नियुक्त भएका हुन् ।

बैठकले रिक्त हुने पदहरुमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँ मनोनयनको लागि सिफारिस भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । अब उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् ।

नयाँ प्रदेश प्रमुखमा सिफारिस भएका तीनै जना सत्तारुढ दल नेकपा एमालेको कोटाबाट सिफारिस भएका हुन् । भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाकी हुन् । उनी ओली प्रधानमन्त्री भएका बेला डेनमार्कको लागि राजदूत सिफारिस भएर पनि सरकार ढलेपछि नियुक्ति नपाएकी महिला नेता हुन् । प्राध्यापन पेशाबाट अवकाश पाएकी भण्डारी एमालेनिकट अखिल नेपाल महिला संघकी नेतृ हुन् ।

सुदूरपश्चिमको प्रदेश प्रमुख सिफारिस भएका मिया संविधानसभा सदस्य हुन् । उनी नेपाल मुस्लिम इत्तेहाद संगठनका पूर्वअध्यक्ष हुन् ।

गण्डकीको प्रदेश प्रमुख सिफारिस डिल्लीराज भट्ट डोटीका हुन् । उनी नेकपा एमालेका सल्लाहकार छन् । उनी राष्ट्रियसभाको अघिल्लो निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१