कांग्रेससँगको सहकार्य तोड्ने प्रचण्डको अन्तिम तयारी, आजै ओलीसँग निर्णायक वार्ता गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०८०, आईतवार ०८:४४

काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा आ–आफ्नो दाबीको कारण कांग्रेस र माओवादी केन्द्रबीच सम्बन्ध चिसिएको छ । खासगरी राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा आफ्नो दलको उम्मेद्वार पराजित भएपछि माओवादी नेतृत्व कांग्रेससँग असन्तुष्ट छ ।

माओवादीका अधिकांश नेतृत्व तहका नेताहरुले कांग्रेससँगको सहकार्य पूनर्विचार गर्नुपर्ने आवाज उठाएको बेलामा अहिले राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मुखमा सत्ता गठबन्धनका दुई मुख्य घटक कांग्रेस र माओवादी वारपारको स्थितिमा आईपुगेका छन् । २९ फागुनमा हुने राष्ट्रियसभाको अध्यक्षको निर्वाचनमा माओवादीले उम्मेद्वारी दिने निर्णय गरिसकेको छ ।

यसअघि ११ माघमा भएको राष्ट्रियसभाको निर्वाचनअघि नै माओवादी र कांग्रेसबीच राष्ट्रियसभाको अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई अघि सार्ने भद्र सहमति भएको चर्चा छ । तर, प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमै त्यतिवेला अर्कै परिस्थिति भएपनि अहिले त्यो परिस्थिति फेरिएको भन्दै आफूले पनि कांग्रेससँगको सहकार्य तोड्ने मनशाय बनाएको निश्कर्ष सुनाए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भने वर्तमान गठबन्धनमा कुनै समस्या नभएको भन्दै कुनैपनि हालतमा नटुट्ने दाबी गरेका छन् । प्रधानमन्त्री दाहालसँग योबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीले निरन्तर भेटवार्ता गरेका छन् । उनीहरु सत्ता–सहकार्यको लागि सहमतिनजिक पुगेको विश्वस्त स्रोतको दाबी छ ।

प्रधानमन्त्री प्रचण्डले पनि एमालेकै साथ र समर्थनमा राष्ट्रियसभाको अध्यक्षको लागि उम्मेद्वारी दिने भनेर पार्टीबाट निर्णय गराएको भन्नेबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल भएको छ । पदाधिकारी बैठकमा अधिकांश नेताले सभापति देउवालाई माओवादीलाई विश्वासमा लिन आग्रह गरेका छन् । देउवाको दूतको रुपमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्री दाहालसँग भेट गरिसकेका छन् ।

कांग्रेसले अब राष्ट्रियसभाको अध्यक्ष माओवादीलाई नै दिने सहमति गरेपनि प्रचण्ड एमालेसँगको सहकार्यको लागि धेरै अघि बढेका छन् । सत्ता–सहकार्यको लागि पटक पटक ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भएका छन् । एमाले नेतृत्वले भने समय घर्किएपछि सहमति गर्नुको अर्थ नहुने भन्दै आज/भोलि नै सहकार्यको लागि सहमति गर्न दबाब दिएको छ । विश्वस्त सूत्रकाअनुसार प्रधानमन्त्री दाहालले आजै साँझसम्म ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् ।

आज विहानमात्रै एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका छन् । खनालपनि पछिल्लो समय वामपन्थीहरुको एकताको पक्षमा सक्रिय भएका छन् । ओली र दाहालबीच सहमति भए नेपालका सबै वाम एक ठाउँ आउने सम्भावना रहेको छ ।

कांग्रेस महासमिति बैठकमा भएको छलफल र लिएका निर्णयबाट दाहाल र ओली सहकार्यको लागि नजिकिएको चर्चा छ । खासगरी कांग्रेस महासमिति बैठकमार्फत हिन्दूराष्ट्रको लागि हस्ताक्षर अभियान चलाईनुले कांग्रेस कतै हिन्दूराष्ट्र हुँदै राजसंस्था फर्काउनेगरि अघि त बढ्दैन ? भन्नेमा दुई नेता सशंकित बनेको बुझिएको छ ।

कांग्रेसले गठबन्धन नगर्ने भनेर गरेको निर्णयबाट प्रधानमन्त्री प्रचण्ड बिच्किएका छन् । यस्तै, माओवादीको १० वर्षे सशस्त्र जनयुद्धबारे पनि कांग्रेस महासमिति बैठकमा अनावश्यक बहस भएको भन्दै माओवादी वृत्तमा आक्रोश छ । प्रधानमन्त्री प्रचण्डले पनि सार्वजनिक रुपमै यसबारे असन्तुष्टि पोखेका छन् ।

ओली र प्रचण्डबीच सहकार्यको लागि अहिले एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ सक्रिय छन् । उता, माओवादीबाट भने वर्षमान पुन सक्रिय रहेको बुझिएको छ । प्रधानमन्त्री दाहाल र ओलीबीच सत्ता–सहकार्यबारे सहमतिमा पुग्नको लागि गत माघको अन्तिम साता नै निर्णायक वार्ता भैसकेको जनाईएको छ ।

प्रधानमन्त्री दाहाल यतिवेला बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन त्यहाँ पुगेका छन् । उनी काठमाडौं फर्किएलगत्तै एमाले अध्यक्ष अ‍ोलीसँग निर्णायक भेटवार्ता हुने बताईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१