गणेश लामाको स्पष्टोक्तिः जग्गा पास गरेर १० वर्षसम्म हराएका ज्ञानेन्द्र (हब) ले पैसा नतिर्ने नियतले आरोप लगाए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०८०, बिहीबार ०७:०६

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले गैरआवासीय नेपाली हब खड्का भनेर चिनिने ज्ञानेन्द्र खड्काले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथिको आरोप राजनीतिक चरित्र हत्या गर्नका लागि कसैको उक्साहटमा परेर भएको हुनसक्ने आशंका व्यक्त गरे ।

गैरआवासीय नेपाली खड्काले आफूलाई लामा र सहदेव कक्षपतिलगायतले अपहरण गरेर फिरौतीवापत करोडौंको कागज गराएको आरोप लगाएका थिए । खड्काको उक्त आरोपको खण्डण गर्दै लामाले उक्त कागज जग्गा कारोबारसँग सम्बन्धित रहेको बताए । ज्ञानेन्द्रले ‘यो जग्गा मलाई पास गरिदिनुुस्, ३ महिनापछि पैसा दिन्छु’ भनेपछि आफूले २०७१ असोज ३० गते ज्ञानेन्द्रकी श्रीमती नानीमैयाँ कार्कीको नाममा जग्गा पास गरिदिएको उनले बताए । त्यसपछि जग्गा पास गरेको ९/१० वर्षसम्म पनि ज्ञानेन्द्र सम्पर्कविहीन बनेर बसेको उनको भनाइ छ । नेता लामाले डेढ दुई महिना अगाडि ज्ञानेन्द्रसँग जम्काभेट हुँदा उनैले जग्गाको पैसा दिन्छु भनेर छिनोफानो गरी कागज गरिएको दाबी गरे । उक्त जग्गा अहिले पनि ज्ञानेन्द्रकी श्रीमतीको नाममा रहेको उनले बताए ।

‘उहाँ मसँग झण्डै ९/१० वर्षदेखि सम्पर्कविहीन भएर बस्नुभयो । कहिले विदेश छु, कहिले कहाँ छु भनेर प्रतिक्रिया दिइराख्ने र उहाँ कहिले पनि सम्पर्कमा आउनु भएन । आजभन्दा डेढ दुई महिना अगाडि उहाँको र मेरो एक ठाउँमा जम्काभेट भयो ।’ उनले भने, ‘उहाँलाई त्यहाँ भेट्दाखेरी उहाँ आफैंले ‘तपाईँको पैसा दिन्छु’ भनेर छिनोफानो गर्नुभएको हो । अहिले पनि आनाको ५० लाख जाने ४० आना जग्गा उहाँको श्रीमतीको नाममा पास छ । त्यही जग्गाको बारेमा उहाँसँग कागज गरिएको हो । कानुन बमोजिम वडामा उहाँ आफैं गएर कागज गर्नु भएको छ ।’

उक्त विषयमा अहिले छानविन भइरहेको बताउँदै नेता लामाले दोषी ठहरिए आफू कानुन बमोजिमको सजाय भोग्न तयार रहेको बताए । ज्ञानेन्द्र र आफूले विगतमा साझेदारी व्यवसायसमेत गरेको उनले खुलासा गरे । आफ्नी श्रीमती र ज्ञानेन्द्रकी श्रीमतीको नाममा दर्ता कायम रहेको ट्राभल कम्पनी अहिले पनि रहेको उनको दाबी छ ।

ज्ञानेन्द्रले प्रहरीमा गएर उजुरी दिएको अवस्थामा मिडियामा आएर प्रचारबाजी गरेको भन्दै उनले आपत्ति जनाए । कारोबारको कुरालाई लिएर आफ्नो चरित्र हत्या गरिएको उनले बताए । ०७१ सालमा आनाका २५ लाखका दरले धुलिखेल चोकको जग्गा आफूले पास गरिदिएको उनको भनाइ छ । पैसा नतिर्ने नियतले यसो गरिएको हुनसक्ने उनले बताए । ज्ञानेन्द्रले पाट्नरसिपमा काम गरिरहेको अवस्थामा ‘बैंकको कारोबार मिलाएर लोन लिन्छु र तपाईँलाई पैसा दिन्छु’ भनेपछि आफूले जग्गा पास गरिएको बताए । तत्कालीन अवस्थामा जग्गा पास गरेर उनी हराएपछि अपराध अनुसन्धान महाशाखामा आफूले निवेदनसमेत दिएको उनको भनाइ छ ।

नेता लामाले ज्ञानेन्द्र आफैंले क्रिप्टो र विट्क्वाईन कारोबार गर्छु भनेर स्वीकार गरेको बताए । आफू उनीसँग त्यस प्रकारको कुनै कारोबारमा संलग्न नरहेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१