काठमाडौंमा पहिलो पटक ‘बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव’ हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०८०, बुधबार ०६:३७

काठमाडौं । काठमाडौं उपत्यकामै पहिलो पटक ‘बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव’ हुने भएको छ । बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा ‘बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव २०८०’ को आयोजना हुने भएको हो ।  बुढानीलकण्ठ नगरपालिकाको आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारीका बारेमा जानकारी गराएको छ । फाल्गुन ११ र १२ गते हुने महोत्सवमा नगरपालिकाले विभिन्न १५ वटा सेसनमा वक्ताहरुको प्रस्तुती रहने जनाएको छ ।

महोत्सवको पहिलो दिन शुक्रबार बुनपा १३ स्थित चुनीखेलमा आयोजना हुँदैछ भने दोस्रो दिन बुनपा ३ स्थित विश्व प्रसिद्ध तीर्थस्थल बुढानीलकण्ठ मन्दिर परिसरमा महोत्सवको आयोजना गरिएको बुढानीलकण्ठ सांस्कृतिक साहित्यिक महोत्सवका संयोजक एवं उपमेयर अनिता लामाले बताउनुभयो ।

महोत्सवले एउटा माहोल सृजना गरेको बताउदै संयोजक लामाले नगरपालिकाभित्र रहेका सांस्कृतिक बाजा, महोत्सवको प्रस्तावित ढाँचा अनुरुप राष्ट्रिय कलाकारहरु, कवि, संस्कृतिविद्, विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न नगरपालिकाका प्रमुखहरुकाबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च लगायत सम्पूर्ण विधा तथा क्षेत्रहरुलाई समेट्दै छलफल, बहस तथा अन्तरक्रियाको कार्यक्रमहरु महोत्सवमा रहेको बताउनुभयो । महोत्सवमा सेवारो शिर्षक अन्र्तगत युवा नेता डा. राजन भटटराई र प्रदिप पौडेलले राजनीतिक अवस्थाका बारेमा बोल्नुहुनेछ ।

बिद्यार्थीको कविता, नयाँ पुस्ताले के चाहन्छ ? मातृभाषाको जगेर्ना, नगरपालिका भित्र रहेका स्थानीय १५ जना साहित्यिमा कलम चलाउने कविहरुको सेसन रहेको पनि उहाँले बताउनुभयो । साथै नगपालिकामा रहेका ठुला व्यवासायीहरु सुरज वैध्य, लाक्पाफुटी शेर्पा र जिवन धिमिरे वक्ताको रुपमा हुनुहुन्छ । उहाँहरुसँग उद्यमीको सम्भावना, भविष्य र उहाँहरुको कारणले नगरपालिकाको महत्व कहाँ पुगेको छ ? देश कसरी बन्छ ? त्यसका बारेमा चर्चा गर्ने तयारी पनि नगरपालिकाको रहेको छ । नगरपालिका भित्र रहेका युवा वेरोजगारका लागि सकारात्मक उर्जा भर्ने उदेश्यले नगरपालिकामा नै माइक्रो चलाउने, सडक व्यवसायी र कृषक गरि ३ जना छोरीहरुलाई सम्मान गर्ने पनि तयारी रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

महोत्सवमा छिमेकी ३ वटा नगरपालिकाका प्रमुखहरुसँग सहकार्यका लागि छलफल हुने बताईएको छ । छिमेकी नगरपालिकाका मेयरहरु बुढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारी, टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी र गोकर्णेश्वर नगरपालिका नगरप्रमुख दिपक कुमार रिसाल विच चौतारी शिर्षकमा विशेष कुराकानी हुनेछ । साथै उदघाटन सत्रमा ७० जना जनप्रतिनिधिहरुले सांस्कृतिक रुपान्तरणका लागि विभिन्न पोशाक एवं भेषभुषामा सजिएर कार्यक्रमको उदघाटन गर्ने तयारी छ ।

कार्यक्रममा झमक घिमिरे, हरिबंश आचार्य,बृद्धि तामाङ्ग लगायतका कलाकारहरु वक्ताको रुपमा रहनुभएको छ भने, नगरपालिकाको स्वास्थ्य क्षेत्रको अवस्था, चुनौति, आवश्यकता र असल प्रयत्नहरुको सन्दर्भमा हुने वहसमा डा. भगवान् कोइराला, प्रा.डा. मधु दीक्षित र डा. शंकरमान राई सहभागि हुनुहुनेछ । विभिन्न सेसनमा नगरपालिकाका वडा अध्यक्षहरुले नगरपालिकालाई आहा बनाउन के के काम भईरहेको छ ? भन्ने बिषयमा भिजन प्रस्तुत हुने बताईएको छ । जुन सेसनमा वडा अध्यक्षहरु रवि खड्का, सुमित्रा पाण्डे त्रिपाठी, टीका नारायण श्रेष्ठले आफना भनाइ राख्नुहुनेछ ।

महोत्सवमा नगरपालिकामा भएका खैजडी भजनदेखि, डम्फु, टुमुना, बासुरी लगायतका परम्परागत रुपमा सांस्कृतिक झल्काउने गरि प्रचार प्रसार गरिने बताईएको छ । महोत्सवमा सहभागि हुन चाहनेहरुका लागि भृकुटीमण्डपमा वसको पनि व्यवस्था गरिने जानकारी दिइएको छ । महोत्सवको उपलब्धी के रहयो भन्ने बिषयमा महोत्सव सकिएपछि पत्रकार सम्मेलन गरेर जानकारी गराउने नगरपालिकाका मेयर मिठाराम अधिकारीले बताउनुभयो । बुनपा साहित्यको क्षेत्रमा लाग्नेहरुको घर पनि भएकाले संस्कृति कसरी जोगाउने भन्ने बिषयमा सबै लाग्नुपर्ने उहाँको जोड थियो । महोत्सव सफल बनाउन सवै आएर सहभागि हुन उहाँको आग्रह थियो ।

महोत्सवको पहिलो दिन बुनपा १३ नम्बर वडामा भएकाले त्यसको भव्य रुपमा सम्पन्न गर्नका लागि वडा १३ ले सबै तयारी गरेको अध्यक्ष टीका नारायण श्रेष्ठले बताउनुभयो । महोत्सवको भव्य तयारीलाई चुनीखेलको प्रचारको रुपमा लिएको छौ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

सेसनहरुमा म्ह फूला ? (सन्चै छ ?), देश कसरी बन्छ ? विद्यार्थीहरुका कविता, चुनिख्या, सपनाको सहर, आहा बुढानीलकण्ठ, १५ कविहरु, भुईँजसी, चौतारी, टिन एज टक, बस्तीको माया बस्तीको स्वाद, सेवारो, नागसाला, कठघरामा, महफिल लगायतका १५ वटा सेसन रहेका छन् । पत्रकार सम्मेलनमा वडाध्यक्षहरु रवि खड्का, वसनारायण महर्जन, सुमित्रा त्रिपाठी पाण्डे, टीका नारायण श्रेष्ठ, नवराज भटटराई, सुमन तामाङ्ग, राजेन्द्र श्रेष्ठ, शम्भु भटटराई लगायत अन्य वडाका वडाअध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।

महोत्सवका प्रमुख आकर्षणहरुः

सुप्रसिध्द कलाकार हरिवंश आचार्यद्वारा उद्घाटन मन्तव्यः 

बुढानीलकण्ठ साहित्यिक-सांस्कृतिक महोत्सव उद्घाटनका प्रमुख वक्ताको रुपमा सुप्रसिध्द कलाकार आदरणीय हरिवंश आचार्य आउनुहुने छ ।

सेसन : “चौतारी”

३ नगर प्रमुख विच विशेष कुराकानी सेसन

यस सेसनमा बुढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारी, टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी र गोकर्णेश्वर नगरपालिका नगरप्रमुख दिपक कुमार रिसाल विच विशेष कुराकानी हुनेछ । यसको सभाध्यक्ष सुर्यनाथ उपाध्यायले गर्नुहुने छ भने सेसन सञ्चालन बिमल आचार्यले गर्नहुनेछ ।

सेसन – “देश यसरी बन्छ”

३ उद्यमी, व्यवसायीका विच विशेष कुराकानी

यस सेसनमा सुरज वैध्य, लाक्पाफुटी शेर्पा र जिवन धिमिरे वक्ताको रुपमा हुनुहुन्छ भने सहजीकरण वरिष्ठ साहित्यकार,व्यवस्थापन विज्ञ स्नेह सायमिले गर्नुहुनेछ । यसको अध्यक्षता वडा नं. २ वडाध्यक्ष राजेन्द्र श्रेष्ठ हुनुहुन्छ ।

सेसन – ‘चुनिख्य:’ (चुनिखेल)

सुनौं, हेरौं, बुझौं हाम्रा भाषा, सभ्यता तथा संस्कृति विज्ञहरूबाट हाम्रा जाति, भाषा, संस्कृतिका कुरा

यस सेसनमा हाम्रा भाषा, सभ्यता तथा संस्कृति विज्ञहरूबाट हाम्रा जाति, भाषा, संस्कृतिका कुरा सुन्न, हेर्न र बुझ्न पाईनेछ ।

सेसनको वक्ताको रुपमा मल्ल के सुन्दर, जगत प्रसाद उपाध्याय र अमृत योञ्जन हुनुहुन्छ भने यसको सहजीकरण नेपालभाषाका चर्चित साहित्यकार एवम् अभियन्ता सुरेश किरणले गर्नुहुनेछ । सेसनको अध्यक्षता वडा नं. १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले  गर्नुहुन्छ ।

सेसन – नाङ्साल

कलाकारीता क्षेत्रको सम्भाव्यताका विषयमा बहस

सेसनको वक्ताको रुपमा प्रसिद्ध कलाकारहरु बुद्धि तामाङ्ग, लक्ष्मी बर्देवा र बिजय बराल हुनुहुन्छ भने यसको सहजीकरण थिएटर आर्टिष्ट केदार श्रेष्ठले गर्नुहुनेछ । सेसनको अध्यक्षता हरिवंश किराँतले गर्नुहुनेछ ।

सेसन –  ‘म्ह फुला?’ (सञ्चै हुनुहुन्छ?)

नगरपालिकाको स्वास्थ्य क्षेत्रको अवस्था, चुनौति, आवश्यकता र असल प्रयत्नहरुको सन्दर्भमा वहस

सेसनको वक्ताको रुपमा डा. भगवान् कोइराला, प्रा.डा. मधु दीक्षित र डा. शंकरमान राई हुनुहुन्छ भने यसको सहजीकरण जनस्वास्थ्य विज्ञ डा.सुशिल बरालले गर्नुहुनेछ । सेसनको अध्यक्षता डा. गणेश गुरुङ्गले गर्नुहुनेछ ।

सेसन – ‘कठघरामा’

३ जना राष्ट्रिय साहित्यकारहरुबिचको सेसन

सेसनको वक्ताको रुपमा साहित्यकार प्रगति राई, सुबिन भट्टराई र विवेक ओझा हुनुहुन्छ भने यसको सहजीकरण राजकुमार बानियाँले गर्नुहुनेछ । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीराम के.सीले गर्नुहुनेछ ।

सेसन – ‘सपनाको शहर’

स-साना व्यवसाय, घरेलु तथा लघु उद्यम एवम् स्वरोजगारको क्षेत्रमा अवसर, चुनौति र सम्भावनाका विषयमा संवाद

सेसनको वक्ताको रुपमा उद्यमीहरु सीता नेपाली, सानु श्रेष्ठ र सरला लुईटेल हुनुहुन्छ भने यसको सहजीकरण सीता लामाले गर्नुहुनेछ । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीले गर्नुहुनेछ ।

सेसनः ‘फल्चा व चिानाखँ’

राष्ट्रिय कवि तथा साहित्यकारहरुको साहित्य प्रस्तुति

यस सेसनमा राष्ट्रिय कवि तथा साहित्यकारहरुले आफ्नो रचनाहरु प्रस्तुत गर्नुहुनेछ। यसको सहजीकरण दीप दर्पणले गर्नुहुनेछ । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष आकाश धितालले गर्नुहुनेछ ।

सेसनः ‘आहा बुढानीलकण्ठ’

बुढानीलकण्ठ नगरपालिकाका तीन वडाका अध्यक्षहरुसँगको सेसन

यस सेसनमा वक्ताका रुपमा यस नगरपालिकाका तीनवटा वडाध्यक्षहरु रवि खड्का, सुमित्रा त्रिपाठी पाण्डे र टिका नारायण श्रेष्ठ हुनुहुन्छ। यसको सहजीकरण पत्रकार सन्तोष लुईटेलले गर्नुहुनेछ । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ५ का पूर्व वडाअध्यक्ष विजय तामाङले गर्नुहुनेछ ।

सेसनः ‘भुईजःसी’

साहित्यकारहरुको प्रस्तुति

यस सेसनमा साहित्यकार तथा कविहरुले आफ्नो साहित्य प्रस्तुत गर्नुहुनेछ। यसको सहजीकरण रजनी मिलाले गर्नुहुनेछ । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सुमन तामाङले गर्नुहुनेछ ।

सेसनः ‘सेवारो’

विभिन्न दलका राजनितिज्ञहरुबिच संवाद

यस सेसनमा राजनितिज्ञ डा. राजन कुमार भट्टराई र माननीय प्रदिप पौडेलबिच संवाद गर्नुहुनेछ। यसको सहजीकरण यस नगरपालिकाका पूर्व नगर प्रमुख उद्धव खरेलले गर्नुहुनेछ । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं १३ का पूर्व वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले गर्नुहुनेछ ।

सेसनः ‘म्हेन्दो’

नगरपालिकाभित्रका विद्यार्थीहरुको कविता वाचन

यस सेसनमा यस नगरपालिकाका विभिन्न विद्यालयहरुका विद्यार्थीहरुले आफ्नो कला, साहित्य तथा कविताको प्रस्तुति गर्नेछन्। यसको सहजीकरण यस नगरपालिकाको एक विद्यार्थी आयुश्री घिमिरेले गर्नुहुनेछ । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ५ का वडाअध्यक्ष कृष्ण शाह ठकुरीले गर्नुहुनेछ ।

 

सेसनः ‘टिनएज टक’

स्थानीय किशोर/ किशोरीहरु बिचको महत्वपूर्ण अन्तर्क्रिया

यस सेसनमा नगरपालिकाभित्रका किशोर कोशोरीहरुबिच अन्तर्क्रिया हुनेछ। यसको सहजीकरण साहित्यकार बिना थिङले गर्नुहुनेछ । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं १० का अध्यक्ष नवराज भट्टराईले गर्नुहुनेछ ।

सेसन- ‘महफिल’

गजल

यस सेसनमा गजलकारहरुको प्रस्तुति हुनेछ। यसको सहजीकरण प्रकाश समिरले गर्नुहुनेछ । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस नारायण महर्जनले गर्नुहुनेछ ।

 

सेसन – बस्तीको माया/ बस्तीको स्वाद

स्थानीय साहित्यकार तथा कविहरुको प्रस्तुती

सेसनमा स्थनीय साहित्यकार तथा कविहरूको प्रस्तुती हुनेछ। यसको सहजीकरण प्रा.डा. लेख निरौलाले गर्नुहुनेछ । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिकाका वडा नं १ का अध्यक्ष सुरेन्द्र लामाले गर्नुहुनेछ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१