मुख्यमन्त्रीको भाषणले कर्मचारीको मानमर्दन, क्षमायाचना गर्न माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०८०, सोमबार ०६:५१

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दिएको उउटा अभिव्यक्तिप्रति संयुक्त कर्मचारी संघले आपत्रि जनाएको छ ।

एक विद्यालयको कार्यक्रममा मुख्यमन्त्री कार्कीले दिएको ‘फस्ट बेञ्चर खरदार भयो लास्ट बेञ्चर म मुख्यमन्त्री भएँ’ भन्ने अभिव्यक्तिले आफूहरुको मानमर्दन भएको उनीहरुको ठहर छ ।

कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन कोशीका अध्यक्ष मानबहादुर बन, एमाले निकट निजामती कर्मचारी संगठन कोशीका अध्यक्ष काशीराज पराजुली, माओवादी केन्द्र निकट कर्मचारी संगठन कोशीका अध्यक्ष रुद्र सुवेदी र नेकपा एकीकृत समाजवादी निकट कर्मचारी संगठन कोशीका कार्यवाहक अध्यक्ष योगेश्वर खनालले संयुक्त रुपमा विज्ञप्ति जारी गरी मुख्यमन्त्री कार्कीको उक्त अभिव्यक्ति गैरजिम्मेवार, अपरिपक्व र आपत्तिजनक भएको उल्लेख गर्दै क्षमायाचनाको माग गरेका छन् ।

मुख्यमन्त्री कार्कीको अभिव्यक्तिले राष्ट्रसेवक कर्मचारीलाई दुःखी बनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सबैभन्दा ठूलो लोकतान्त्रिक दलबाट प्रदेशसभामा अत्यधिक मतसहित निर्वाचित भएर मुख्यमन्त्री बनेका कार्कीले कर्मचारीका सम्बन्धमा दिएको गैह्र जिम्मेवारी र आपत्तिजनक अभिव्यक्तिले समग्र राष्ट्रसेवक कर्मचारीहरूको मानमर्दन भएकोमा हामी आपत्ति व्यक्त गर्छौं’ ।

मुख्यमन्त्रीले आफ्नो अभिव्यक्ति प्रति क्षमायाचना नगरे आफूहरू संयुक्त रुपमा आन्दोलन गर्न बाध्य हुने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘आम निजामती कर्मचारीको योग्यता र क्षमताको मानमर्दन हुने गरी व्यक्त अभिव्यक्ति प्रति घोर निन्दा र आलोचना गर्दै उत्तेजनामा आएर गरिएको अपरिपक्व अभिव्यक्ति फिर्ता लिएर राष्ट्रसेवकको मानमर्दनमा पुगेको चोटप्रति क्षमायाचना गर्न मुख्यमन्त्रीलाई आग्रह गर्छौं’ ।

मुख्यमन्त्री कार्कीले मोरङको सुन्दरहरैँचा नगरपालिका–६ दुलारीस्थित साजिलाल माध्यमिक विद्यालयको ५८औँ वार्षिकोत्सव समारोहमा उनले फर्स्ट बेन्चमा बस्ने साथी निजामती कर्मचारीको खरिदार हुँदा लास्ट बेन्चमा बस्ने आफू मुख्यमन्त्री भएको अभिव्यक्ति दिएका थिए ।

‘फर्स्ट बेन्चमा बस्ने ऊ खरदार भयो । म लास्ट बेन्चमा बस्ने मुख्यमन्त्री भएँ । कक्षा कोठामा लिने ज्ञान विविध हुन्छन् । ज्ञानको मापन केवल प्रमाणपत्रमा मात्रै हुँदैन। प्रमाणपत्रको अंकले ज्ञानको मापन हुँदैन। म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ। फर्स्ट बेन्चमा बस्नेले केबल लेख्न, पढ्नमात्रै जान्यो । ऊ अहिले खरिदार छ, म अहिले मुख्यमन्त्री छु,’ उनले भनेका थिए, ‘उसले कसरी हुन्छ भुँडी भर्नमात्रै जान्यो।’

मुख्यमन्त्री कार्कीको अभिव्यक्तिलाई लिएर नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन मोरङले यसअघि नै आपत्ति जनाएको थियो । कर्मचारी संगठनले मुख्यमन्त्री कार्कीको अभिव्यक्तिले सिंगो राष्ट्रसेवक क्षेत्रलाई दुःखित बनाएको बताएको थियो । कर्मचारी संगठनले मुख्यमन्त्री कार्कीको भाषणलाई उन्मादपूर्ण र निच भनेर टिप्पणीसमेत गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१