एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआमा अवलोकनकर्ताको आकर्षण,विशेष छुट र अफर घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ माघ २०८०, शनिबार ०८:१०

काठमाडौं । भृकुटीमण्डपमा बिहीवारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । नयाँनयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको छ ।

इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रवद्र्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी आकर्षण देखिएको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए ।

इन्फोटेकको शीर्ष प्रायोजक एस पावर बीपीई प्राइभेट लिमिटेडले नेपालका शैक्षिक संघसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटरपम्प लगायतका प्रविधिहरूको विशेष प्रदर्शनी गरिरहेको छ । यी उत्पादनमा इन्फोटेक अवधिभर कम्पनीले अधिकतम ४० प्रतिशतसम्म छुट घोषणा गरेको छ ।

त्यस्तै इन्फोटेकको सहप्रायोजक एचएमसी दहुआले दहुआ ब्राण्डका नेटवर्किङ प्रडक्टहरू, वायरलेस क्यामेरा, सीसीक्यामेरा, स्मार्ट बोर्ड तथा अन्य सेक्युरिटी प्रडक्टहरू विशेष छुटसहित प्रदर्शनीमा राखेको छ ।

त्यस्तै नेपाल टेलिकमले इन्फोटेकलाई लक्षित गर्दै फाइबर इन्टरनेटमा विशेष प्याकेज घोषणा गरेको छ । यसअन्तर्गत १२ हजार रुपैयाँमै एक वर्षका लागि ५० एमबीपीएस इन्टरनेट प्याकेज ल्याएको छ । जसमा ग्राहकले सेटटप बक्स निःशुल्क पाउनुका साथै ल्यान्डलाइनमार्फत ३०० मिनेट कल र प्रतिदिन ६०० एमबी मोबाइल डेटा पाउनेछन् ।

अर्को इन्टरनेट सेवाप्रदायक डिशहोम फाइबरनेटले विशेष छुटसहित २०० एमबीपीएस र ३०० एमबीपीएसका प्याकेजमा इन्टरनेट, डीटीएच कम्बो तथा आईटीभी कम्बो अफर ल्याएको छ ।

इन्फोटेकमा स्वदेशी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स प्रालिले बैंक तथा वित्तीय संस्थाका लागि उपयोगी ‘बजेट ३६०’ नामको सफ्टवेयर सार्वजनिक गरेको छ, जसमा इन्फोटेक अवधिभर २५ प्रतिशत छुट घोषणा गरिएको छ ।

प्रदर्शनीमा चर्चित ब्राण्डहरूका ल्यापटप तथा गेमिङ पीसीमा युवा अवलोकनकर्ताको विशेष चासो देख्न सकिन्छ । कम्पनीहरूले पनि यी उत्पादनमा ‘क्यान अफर’ भन्दै विशेष छुट ल्याएका छन् ।

इन्फोटेकका अवलोकनकर्ताका लागि आईटी तालिम प्रदायक ब्रोडवे इन्फोसिसले आफ्ना हरेक आईटी कोर्समा १८ प्रतिशत छुट दिने घोषणा गरेको छ । त्यस्तै नेपाली ब्राण्ड अस्ट उल्फले पनि यही अवसरमा आफ्ना स्मार्टवाच, इयरबड, हेडफोन, स्पिकर, नेकब्यान्ड, चार्जर लगायतका एक्सेसरिजमा २० प्रतिशत छुट दिँदै ग्राहक आधार र बजार विस्तार गरेको छ । साथै अवलोकनकर्तालाई आफ्नो स्टलमा तान्न कम्पनीहरूले विभिन्न गेम तथा लक्की ड्र पनि सञ्चालन गरिरहेका छन् ।

इन्फोटेककै अवसरमा ‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणाली सार्वजनिक भएको छ । यस प्लेटफर्मबाट केही मिनेटभित्रै नेपालका हरेक घरले आफ्नो घर ठेगाना प्लेट तयार गर्न सक्नेछन् । त्यस्तै नेपालको पहिलो बग बाउन्टी प्लेटफर्मका रूपमा परिचित ‘बगभी’को स्टलमा साइबर सुरक्षा अनुसन्धानकर्मी तथा जिज्ञासुहरूको आकर्षण देखिन्छ ।

साथै इन्फोटेकमा आफ्नो स्टल भिजिट गर्ने विद्यार्थीले ‘एमएस्सी आईटीएम’ डिग्रीमा विशेष छुट दिने कलेजले जनाएको छ । यसअन्तर्गत ६ लाख शुल्क लाग्ने यो डिग्री अब साढे ४ लाखमै पढ्न पाइनेछ ।

इन्फोटेककै अवसर पारी एफवन सफ्ट ग्रुपले ‘जुम जुम’ नामको राइड शेयरिङ प्लेटफर्म घोषणा गरेको छ । यसअन्तर्गत ग्राहकले प्रोमोकोड प्रयोग गरी पहिलो तीन राइड सेवा निःशुल्क लिन पाउने भएका छन् ।

त्यस्तै सीजी डिजिटलले इन्फोटेकका अवसरमा एक्सचेन्ज अफर घोषणा गरेको छ । यसअन्तर्गत जुनसुकै ब्राण्डका विद्युतीय उपकरण दिएर ग्राहकले नयाँ उपकरण खरिद गर्न सक्नेछन् । साथै नयाँ उपकरण किन्दा २० प्रतिशत छुटसमेत पाउनेछन् ।

त्यस्तै नेपाली स्टार्टअपहरू ठूलो डटकम, यार्सा टेक, कारोबार एप, आकाश एसएमएस, स्किल सेवा लगायतका स्टलमा पनि अवलोकनकर्ताको घुइँचो लागेको छ । क्यान इन्फोटेकको अर्को आकर्षणमा काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन प्याभिलियन रहेको छ । यसअन्तर्गत काठमाडौं महानगरले १० उत्कृष्ट स्टार्टअपहरूलाई इन्फोटेकमा सहभागी गराएको छ । यसबाट स्टार्टअपलाई आफ्ना ग्राहकसँग जोड्न मद्दत मिल्ने तथा नागरिकहरूमाझ स्टार्टअप र उद्यमशीलता मानसिकता प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।

त्यसबाहेक नेपाली सफ्टवेयर कम्पनीहरू, आईटी ट्रेनिङ प्रोभाइडर, आईटी कलेजहरूले इन्फोटेकमा आउने अवलोकनकर्ताका लागि विशेष स्किम घोषणा गरेका छन् । अर्कोतर्फ कम्प्युटर र एक्सेसरिज लगायतका ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न सोही अनुसारका छुट तथा अफर सञ्चालन गरेका छन् । यसअन्तर्गत केही कम्पनीहरूले इन्फोटेकका अवसमा ल्यापटप, गेमिङ पीसी लगायतका प्रडक्टका लागि फ्रि सर्भसिङ अफर ल्याएका छन् ।

त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को सूचना प्रविधिमैत्री बसमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ । विभिन्न ब्राण्डका केही कम्पनीहरुले अवलोकनकर्ताका लागि भन्दै प्रदर्शनीको अवसरमा ५० प्रतिशतभन्दा बढीको छुट दिइरहेका छन । छुट धेरै हुने भएकाले् केही ब्राण्डका पोर्टेबल एक्सेसरिजमा अवलोकनकर्ताको बढी भीड लाग्ने गरेको आयोजक क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

प्रदर्शनीमा नेपालको नवीनतम सोच ९इनोभेसन० र स्टार्टअपलाई प्राथमिकतामा राखिएको महासचिव अधिकारीले जानकारी दिए । उनका अनुसार प्राथमिकतामा राखिएकै कारण इनोभेसन र स्टार्टअपहरुलाई निःशुल्क स्टलहरु समेत उपलब्ध गराइएको छ ।

शुक्रवार विभिन्न कलेज तथा विद्यालयबाटबाट उल्लेख्य संख्या आएका विद्यार्थीले माहोल थप बढाएको थियो । शुक्रबार क्यान इन्फोटेकमा चाइल्ड डेभलपमेन्ट प्रोग्राम नेपाल (सीडीपीएन), महादेवङबेसी, धादिङबाट सयभन्दा बढी विद्यार्थी अवलोकन गर्न आएका थिए । आयोजक क्यान महासंघले क्यान इन्फोटेकका लागि जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ ।

करिब १५० ओटा स्टल सहित सञ्चालन भइरहेको यो प्रदर्शनी सोमवारसम्म चल्ने छ । यसैबीच इन्फोटेक हेर्न शुक्रबार नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसमेत आएका थिए । सो अवसरमा उनले नेपाली युवाले विकास गरेका नयाँ प्रविधिले आफूलाई आकर्षित गरेको प्रतिक्रिया दिए । त्यस्तै शक्रबार नै कोरिया फुड फर द हङ्ग्री इन्टरनेसनल (केएफएचआई) का नेपाल निर्देशक जेम्युन पार्कले पनि क्यान इन्फोटेक अवलोकन गरेका थिए । यो प्रदर्शनीलाई सरकारी तथा निजी क्षेत्रका उच्च पदस्थ अधिकारीहरू, नीति निर्माता, राजनीतिज्ञ लगायतले अवलोकन गर्ने कार्यक्रम छ । त्यस्तै इन्फोटेकमा शनिबार नेपालमै विकास गरिएको कान्छी रोबोट विशेष सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१