बुढानीलकण्ठमा AI प्रविधि मैत्री सिसिटिभी क्यामरा जडान; नगर प्रमुखद्वारा कन्ट्रोलरुमको उद्घाटन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०८०, सोमबार ०७:२८

काठमाण्डौ ।  बुढानीलकण्ठ नगरपालिकामा Artificial Intelligence (AI) मा आधारीत प्रविधि मैत्री सि.सि.टि.भी. सञ्चालनमा आएको छ ।

आम नागरिकलाई सुरक्षाको प्रत्याभुती दिलाउने उद्देश्यका साथ नगरपालिकाको मुख्य चोक/सडक, भिडभाड हुने स्थान, साँस्कृतिक सम्पदा लगायत अपराध जोखिम क्षेत्रहरुमा सिसिटिभी जडान भई सञ्चालना आएको हो ।

सिसिटिभी जडान गर्नका लागी बुढानीलकण्ठ नगरपालिका र उपत्यका प्रहरी कार्यालय, रानीपोखरी बिच ५ करोड रुपैयाँको लागतमा २०८० बैशाख १२ गते समझदारी पत्रमा हस्ताक्षर भए अनुसार हाल जडान कार्य सम्पन्न भएसँगै २०८० माघ २१ गते (आज) उपत्यका प्रहरी कार्यालय, रानिपोखरीमा आयोजित एक समारोह बिच नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा र प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले संयुक्त रुपमा सिसि टि.भी. कन्ट्रोलरुमको उद्घाटन गर्नुभएको छ ।

बुढानीलकण्ठ नगरपालिकाका सबै वडा समेटिने गरी वडा नं ०५ बिष्णुमती पुल देखी वडा नं १० स्थित निलोपुल सम्मको सडक रुटहरुका ७९ स्थानमा ७ PTZ सहित १७४ FIX क्यामरा गरी जम्मा १८१ थान सिसिटिभि क्यामराहरु जडान गरिएका छन् । ९० दिन सम्मको भिडियो हेर्न मिल्ने व्याकअप प्रणाली सहित यसको सम्पुर्ण कन्ट्रोल र नियन्त्रण उपत्यका प्रहरी कार्यालय काठमाडौंले गर्ने व्यवस्था रहेको छ ।

जडान भएका क्यामरा मध्य AI (Artificial Intelligence) मा आधारीत हाल ४० वटा क्यामराले निगरानी गर्ने नगर प्रवक्ता एवं सिसिटिभी जडान कार्यक्रम कार्यनवयन समितिका संयोजक नवराज भट्टराईले जानकारी दिनुभयो । यस AI क्यामराले व्यक्तिको अनुहार, गाडि नम्बर, पार्कीङ अवस्था, सामुहिक हुल एवं अपराधिक गतिविधिलाई Live Track गरी चाडो भन्दा चाडो प्रहरीलाई सुचना दिने गर्दछ ।

उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख मिठाराम अधिकारीले बुढानीलकण्ठ क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालयसँग हातेमालो गर्दै जाने बताउनुभयो । प्रथम चरणको सिसिटिभी जडान कार्यक्रमको सफलतापूर्वक समाप्‍ति पश्‍चात पुन: द्वितीय चरणमा समेत सहयोग उपलब्ध गराइने उहाँले जानकारी गराउनु भयो । “बुढानीलकण्ठ क्षेत्रमा सिसि टिभी जडान कार्यको सुरुवात मात्र भएको हो”, नगर प्रमुखले जोड्नुभयो, “हरेक टोलटोलमा सिसि टिभी जडान गर्ने नगरवासीहरुको माग अनुसार हामी क्रमशः योजनाहरु कार्यनवयन गर्दै लैजाने छौँ, यसमा सबैको साथ र सहयोगको अपेक्षा राखेका छौँ”।

कार्यक्रममा धन्यवाद मन्तव्य राख्नुहुँदै प्रहरी अतिरिक्त महानिरिक्षक दिपक थापाले ‘सुरक्षित काठमाण्डौ उपत्यका:हाम्रो प्रतिवद्दता’ अभियानलाई साकार पार्न प्रविधिमैत्री प्रहरीको अवधारणा बमोजिम बुढानीलकण्ठ इलाकामा जडति सिसिटिभि क्यामराले शान्ति, सुरक्षाका साथै समग्रमा काठमाण्डौ उपत्यकाको आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत बुढानीलकण्ठ नगरपालिकासँग सहकार्य गर्दै जाने बताउनुभयो । क्यामराको निगरानीले नभेटिने स्थानहरुमा उच्च सतर्कता अपनाउनुहुन बुढानीलकण्ठ नगरपालिकामा रहेका सम्बन्धीत प्रहरी प्रभाग कार्यालयहरुलाई उहाँले निर्देशन दिनुभएको छ ।

 

आज भएको उद्घाटन समारोहमा नगरप्रमुख मिठाराम अधकारी, उपप्रमुख अनिता लामा, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, नगर प्रवक्ता एवं सिसि टिभि जडान कार्यनवयन समिति संयोजक नवराज भट्टराई, सम्पुर्ण वडाका वडा अध्यक्ष लगायत काठमाडौ उपत्यका प्रहरी कार्यलयका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१