हामी मुर्कट्टाहरुको सलाम !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ माघ २०८०, आईतवार ११:१३

डा. धर्मागत भट्टराई

न मेरुदण्ड छ, न छ कुनै शीर नाम !

म र तँ मुर्कट्टा बेनाम !
छोटे नाङ्गा बादशाहहरुसामु यो लाम !

सलाम ! हामी मुर्कट्टाहरुको सलाम !
डा. धर्मागत भट्टराई

न मेरुदण्ड छ, न छ कुनै शीर नाम !

म र तँ मुर्कट्टा बेनाम !

छोटे नाङ्गा बादशाहहरुसामु यो लाम !

सलाम ! हामी मुर्कट्टाहरुको सलाम !

म गीत गाउँछु, यो ताली ठोक्छ !

ऊ त लुटज्यूलाई खोला तार्न काँधमै बोक्छ !

हारेर के भो त ? ख्वामित् ! पछिल्तिर ढोका छ, छिर्नुहुन्छ, कसले खोक्छ ?

झुटज्यूको गनगन भाषण र लुटज्यूको अनवरत शासन

र दुवै बोक्ने बन्धकी पजेरोलाई

डडाल्नो भाँचिने गरी बोकेपछि नसकेर

टेकेको भुइँ फतक्क गल्छ !

खाएर नअघाउने ढुंगाहरु चढेको पेट्रोल गाडीसामु

अघाउन्जेल खान नपाएर आक्रान्त जीवन पेट्रोल खन्याएर जल्छ !

पेट पाल्न पाउँ भन्ने युवा परान

बन्दुकको मुखसामु अनाहक रक्ताम्मे ढल्छ !

दशलाख मुल्य भएका तँ, म, ऊ सबको टाउको गुम छ,

अहँ, कोही, चुँ बोल्दैन ! तव त क्रान्ति फल्छ !

स्याबास ! चिच्याऊ, नेता भइन्छ !

गाऊ यो शान !

ताली बजाऊ- ताला लागेको विज्ञान !

मनाऊ उत्सव- नउदाउने विकासको

बनाऊ शब्दचित्र- तिम्रो र मेरो आश र लासको

गर्व गर, निशेष लिलाम !

हामी मुर्कट्टाहरुको स्वदेशी सलाम !

 

थाहा छैन मलाई समयले जलाउँदैछ या मैले समयलाई

बुझ्दिन हामी वंशाणुगत यही हौँ या भिजेका सलाई !

बालुवाटार या बिमानै निलेर नचाए पनि; सुनको पहाडै छलेर पचाए पनि

या शरणार्थी बनाएर बेचे पनि; या हत्यारा छुटेर खुलेआम किचे पनि

यहाँ सब चकाचक छ हजुर, सब गजब !

हामी मान्छे हौँ या बस् १ भोट मुर्कट्टा ? !

बस्, पाँच वर्षमा ठप्पा ठोक्ने १ ज्यान ? !

न सास, न स्मृति परान ! न रहलपहल आत्मसम्मान !

एक जागिरको ललिपप या आश्वासनजतिकै हलुङ्गो !

एक हजारको नोट या एकछाक मासुको डढेको अंगारे फिलिंगो !

के अर्थ छ हे तिम्रो र मेरो भोटको ?

जहाँ हारेकाहरू विजय बिल्ला भिरी शासन गर्छन् I

के अर्थ छ हे बन्धकी नोटको ?

जहाँ छोराहरु आफ्नैको गोलीले अकाल मर्छन् I

अब बन्द कक्षा र रक्ताम्मे प्राध्यापकबाटै जीवन सिकाउन पाइनेरै’छ I

लेखेर बेचिनपर्ने पानाहरू बिकेर लेखिन थालेपछि

हरचिज बिकाउन पाइनेरै’छ !

देशलाई चोक्टा चोक्टा पारेपछि

कुर्सीमा नाता टिकाउन पाइनेरै’छ !

जति देश भड्खालोमा भए पनि

क्यामेराले तिम्रो समाचार भजेकै छ

न्याय निलियोस् या हाम्रो माटो; सास थुनियोस् या हाम्रो बाटो

२३ किलोको माला तिम्रो गलामा सजेकै छ

दूतसंग बन्द कोठामा सम्झौता भए पनि तिमी नडराऊ

‘महान नेता’वाला स्तुति हामी मनाउनेछौं

तिमीलाई युगदूत भनाउनेछौं

हामीलाई हामीमा अग्घोर गर्व छ

यो देश मुर्कट्टाहरुको देश बनाउनेछौं

चाहे म डब्बाभित्रै किन नफर्कुं !

हामी मुर्कट्टा तिमीलाई जम्ल्हात खन्याउनेछौं

तिमी ढुक्क भएर खाउ, पिउ, गुड !

सपरिवार उड, सदाबहार उड !

तिमी मन लाग्दा गोली हान्दिनू !

बस्, दश लाख न हो मेरो दाम !

भर्सेला परुन् स्वदेशी सपनाहररू !

हामी जाउँला तिनको मलाम !

तिमी हाम्रो नेता

सलाम ! हामी मुर्कट्टाहरुको सलाम !

साभार =बाह्रखरी डटकम 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१