एनआरएनएद्वारा तीन महिनाको अवधिमा भएका काम र प्रगति विवरण सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०८०, आईतवार ०७:१६

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को गत अक्टोबरमा सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले नेतृत्व समालेको ९० दिन पूरा भएको छ । विश्वका ५९ देशका महाधिवेशन प्रतिनिधिहरूले इतिहासमै पहिलोपटक अनलाइन मतदानमार्फत् अध्यक्षमा डा.बद्री केसीसहितको नयाँ कार्यसमितिले विभिन्न चुनौतीका बीच विगत ३ महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका क्षेत्रमा सकारात्मक काम र पहलहरू सुरु गरेको हो ।

एनआएनएले जाजरकोट र रुकुम पश्चिममा स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्राहरूलाई ‘न्यानो कपडा’ वितरण गर्नुका साथै, दुई दर्जन देशका गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति लगायतबाट संकलित करिब १ करोड २४ लाख ६८ हजार रुयैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरेको बताइएको छ । भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण लगायत दीर्घकालीन सहयोगका लागि स्थानीय सरकारहरूसँग समन्वय गरेर काम भइरहेको एनआरएनएले बताएको छ ।

घोषणा गरेबमोजिम साता कोशी प्रदेशको धरानमा, मधेश प्रदेशको जनकपुरमा गैरआवासीय नेपालीहरूको सहयोगमा संकलित रकमबाट ७० लाख रुपैयाँ पर्ने एक–एकवटा मोबाइल ब्लड बस हस्तान्तरण गरिएको एनआरएनएले जनाएको छ । साथै, एनआरएनएले आगामी २६ जनवरीमा लुम्बिनी प्रदेशमा अर्को मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी रहेको पनि जनाएको छ ।

साथै, खेलकुदतर्फ टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरुको सहयोगको लागि नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् हैसलास्वरूप १० लाख रुपैयाँ, नेपाली भलिबल राष्ट्रिय टिमको लागि ८ लाख रुपैयाँ, छैटौँ एनआरएनए सुदूर पश्चिम फुटबल प्रतियोगिताको सहयोगार्थ २ लाख ५० हजार रुपैयाँ, पोखरा म्याराथनका लागि ७ लाख ५० हजार रुपैयाँ, एनआरएनए इलाम गोल्ड कपको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको एनआरएनएले जनाएको छ ।

त्यसैगरी, स्वास्थ्य सेवातर्फ धनगढीको सेती प्रादेशिक अस्पतालमा १ करोड २५ लाख रुपैयाँ, कञ्चनपुर जिल्लाको महाकाली प्रादेशिक अस्पतालमा १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट स्थापना गर्ने कामले पूर्णता पाइसकेको एनआरएनएको दाबी छ ।

वैदेशिक रोजगारीका क्रममा कंगोमा निधन भएका डोटीका सुरेश सिल्लाको परिवारको सहयोगार्थ संकलित २६ लाख ६१ हजार रुपैयाँ उनको परिवारलाई राहतस्वरुप हस्तान्तरण गरिएको समेत बताइएको छ ।

यस्तै, कञ्चनपुरको झलारीस्थित कृष्ण वैजनाथ बहुमुखी कलेजका छात्राहरूको शौचालय निर्माणको लागि २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको र सडक बालबालिकाको शिक्षा तथा बसोवासको सहयोगार्थ युसेफ नेपाल, भक्तपुरमार्फत् ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको बताइएको छ ।

संघले गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, १० अर्ब लगानी लगायतका विषयमा सरोकारवाला सरकारी निकाय र मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने तयारी रहेको समेत एनआरएनएले बताएको छ ।

साथै, नेपाल सरकारको संयुक्त लगानीमा १० अर्बको लगानीमा सञ्चालन हुने इन्भेस्टमेन्ट कम्पनीमा गैरआवासीय नेपालीलाई विदेशी लगानी भित्र्याउन २ करोड बराबरको सीमा खारेज गरी लगानीको न्यूनतम सीमा नलाग्ने व्यवस्था गर्ने नेपाल सरकारको निर्णयलाई एनआरएनएले स्वागत गरेको छ ।

मोबाइल ब्लड बस, अक्सिजन प्लान्ट स्थापना, जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितको सहयोग, खेल क्षेत्रमा आर्थिक सहयोग लगायतको मानवीय काममा विगत ९० दिनमा मात्र करिब ६ करोड ६५ लाख ९१ रुपैयाँ बारबारको आर्थिक सहयोग गरिएको एनआरएनएको दाबी छ । संघले गैरआवासीय नेपालीहरू तथा दाताहरूप्रति धन्यवाद व्यक्त गरेको छ ।

गैरआवासीय नेपाली संघले अगामी दिनमा कोशी प्रदेश लगानी प्राधिकरणसँग सहकार्यमा चियाको प्रवर्धन र प्राविधिक शिक्षामा संघले सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता बताएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुन र सहकार्य गर्न विदेशमा रहेको नेपाली समुदायलाई एनआरएनएले आह्वानसमेत गरेको छ ।

साथै, गैरआवासीय नेपाली संघसम्बन्धी ऐन, २०६४ बमोजिम संघ दर्ता गरेको १० वर्ष पूरा भइसकेकाले संघको नवीकरण प्रक्रियाको लागि तोकिएको समयमा ऐन तथा नियमावलीबमोजिम नेपाल सरकारले तोकेबमोजिमका आवश्यक कागजातसमेत परराष्ट्र मन्त्रालयमा बुझाए तापनि मन्त्रालयको ढिलाइको कारणले तत्काल संस्थालाई नवीकरणको बाटो खोल्न पाटन उच्च अदालतमा निवेदन दर्ता गरिएको समेत संघले जानकारी गराएको छ ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यक्रमहरू तय गर्न संघको पूर्ण बैठक जनवरी २१ र २२ तारिख काठमाडौंस्थित चन्द्रागिरिमा बस्ने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१