“संमृद्ध नेपाल निर्माणको एउटा आधार ,कृषिमा आधुनिकीकरण र पर्यटन ब्यापार” बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ को वृत चित्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ पुष २०८०, आईतवार ०६:४५

तत्कालिन चपली भद्रकाली गाउँ बिकास समितिको वडा नम्बर १,२,३,४ र ५ लाई मिलाएर अहिलेको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ को भौगोलिक संरचना तयार गरिएको हो ।
शिवपुरी राष्ट्रिय निकुन्जको रमणिय भु—भागको काँखमा रहेर काठमाडौं उपत्यकालाई नियालि रहेको यो वडा ४ दशमलब ६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ ।
करिब ५ हजार स्थायी बासिन्दा रहेको यो वडा, धार्मिक पर्यटन तथा पर्यापर्यटनको अत्यधिक सम्भावना बोकेको क्षेत्रको रुपमा चिरपरिचित रहेको छ ।
गोकर्णेश्वर नगरपालिका ,बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ र ३ संग सिमाना जोडिएको यो वडा भित्र हिन्दु,बौद्ध,किराँत,तथा इसाई धर्मावलम्बिहरुको बसोबास रहने भएपनि बौद्ध धर्मावलम्बिहरुको बाहुल्यता रहेको छ ।
यो वडामा काठमाडौं बाट नजिकैको पर्यापर्यटनको हब बन्न सक्ने बागमती नदिको उद्गम स्थल मानिने बागद्वार, तौलुङ चौकी डाँडा बुद्धपार्क धार्मिक पर्यटनको हब बन्न सक्ने तौलुङ चौतारोमा रहेको श्री ङाग्युर झ्याङतेर दाग्र्येलिङ सार्वजानिक गुम्बा, नागि गुम्बा , आनि गुम्बा, बिभिन्न स्थानमा रहेका मठ मन्दिरहरु लगायत यहाँका सुन्दर स्थलहरुलाई धार्मिक पर्यटकिय स्थलको रुपमा तथा यहाँ खुलेका ठुला र तारे होटलहरुका अलवा स्थानिय उत्पादनहरुलाई समेत बजारिकरण हुनेगरि ब्यवस्थित रुपमा चलाउन सकिने होम स्टेको समेत बिकास गर्न सकिने सम्भावना रहेको छ ।


यो क्षेत्रमा रहेका पुराना तथा मौलिकता झल्काउने घरहरुलाई संरक्षण गरेर सकेसम्म सामुहिक होमस्टेको रुपमा बिकास गर्न सके स्थानियहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउादै देशकै सबल अर्थतन्त्र बनाउन महत्वपुर्ण उपलब्धि हासिल हुन सक्ने थियो ।
यस क्षेत्रबाट रात्रीकालिन समयमा काठमाडौं शहरको दृष्य हेर्दा साँचिनै विश्वकै उज्यालो शहरकोरुपमा बिकास भईरहेको जस्तो देखिन्छ । यहि दृष्य हेर्दे रमाईलो गनसक्ने खालको पिकनिक स्पोर्ट बिकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई एकपल्ट जसरी भएपनि यो ठाउँ आउँ आउँ हुनेछ ।
रातिमात्र होईन अलि मौसम खुलेको समयमा दिनमा समेत यो स्थानमा पुग्ने हो भने काठमाडौं शहरको सुन्दरतालाई नियाल्न अन्त कतै जानै पर्दैन ।
यहाँबसोबास गर्ने स्थानिय बासिन्दाहरुले बर्ष भरि मनाउने बिभिन्न जात्राहरु,चाडपर्वहरु र जन्म देखि मृत्यु सम्मका संस्कारहरुलाई समेत सांस्कृतिक पर्यटनको रुपमा अगाडी बढाउन सके होमस्टे लगायतका ब्यवसायलाई समेत टेवा पुग्ने देखिएको छ ।
यहाँको मुख्य पेशा कृषि,जागीर, नोकरी र ब्यवसाय भएकोले कृषि र धार्मिक पर्यटनलाई जोड्न सके यो क्षेत्रले छोटो समयमा उल्लेख्य उपलब्धि हासिल गर्न सक्ने देखिन्छ ।
यस क्षेत्रमा बहु संख्यकरुपमा बसोवास गर्ने बौद्ध धर्मावलम्बिहरुको रिति रिवाज तथा संस्कृतिलाई समेत पर्यटकको आकर्षणको रुपमा बिकास गर्न सकिने सम्भावनाहरु यो वडाले बोकेको छ ।
बिशेष गरि तामाङ समुदायको बाहुल्यता रहेको यो क्षेत्रमा यहि समुदायको जन्म,ब्रतबन्ध,बिबाह तथा मृत्युकर्मको समेत अलग अलग संस्कार रहेकोले यसलाई समेत मौलिक सांस्कृतिक पर्यटनको रुपमा बिकास गर्न र संस्कृतिको संरक्षण र संबर्धन गर्न सकिने प्रशस्तै आधारहरु यो वडामा रहेका छन् ।
तामाङ संस्कृति वा रिम ठिम अन्तर्गत जन्म र मृत्युकर्ममा लामाको महत्व , पारिवारिक हिसावमा हरेक कर्मकाण्डमा ज्वाईँ र मामाको महत्व , बिबाहमा ताम्बा र गान्वा को महत्व तथा अझै पनि तामाङ समुदायमा रहेको च्हो प्रणाली लाई हेर्ने र बुझ्ने हो भने यो ठाउँ अध्ययन तथा सोधकर्ता हरुको लागि समेत काठमाडौंको नजिकैको रिसर्च स्थल बन्न सक्ने छ ।


नेवार , अन्य जाति ,जनजाति ,दलित ,खस आर्य र तामाङ समुदायको कतिपय रिति रिवाज नमिले पनि यो क्षेत्रमा बस्ने सबै नागरिकहरुले एक अर्काको धर्म संस्कृति तथा रिति रिवाजमा सह अस्तित्वको सम्मान गर्दै , स्विकार गर्दै बौद्धिष्ठहरुले हिन्दुहले मान्दैआएको दशैं, तिहार, तिज, माघे संक्रान्ति,चैतेदशैं, लगायतका चाडहरुमा रमाईलो साट्दै मनाउने तथा हिन्दुहरुले पनि तामाङसमुदायको चाडको रुपमा मनाईने ल्होसार ,बुद्ध पुर्णिमा लगायतका चाडहरुमा संगै बसेर रमाईलो गर्ने गरेका छन् । जन्म,मृत्यु, बिहे बटुलो सबै कार्यहरुमा एकले अर्कालाई स्विकार गर्दै निम्ता साटासाट गरेर सहयोग समेत गरिरहेका हुन्छन् ।
हिन्दुहरुले पुजा गर्ने मन्दिरहरुमा समेत बुद्धको मुर्ति राखेर पुजा गर्ने तथा बोद्धिष्ठहरु मन्दिमा गएर पुजागर्ने कार्यले यि दुई धर्म को बिचमा सहअस्तित्वको स्विकार भएको पाईन्छ ।
यो भेगमा केहि नेवार समुदायको पनि बसोबास रहेको छ । नेवारी रिति रिवाज तथा जात्राहरुमा समेत सबै जात जाति र भाषा भाषिको उपस्थितिले सामाजिक सद्भाव कायम राख्दै यो क्षेत्र आधुनिक युगमा प्रबेश गर्दै गरेको होकि भन्ने भान हुन्छ ।
नेवारी समुदाय बाट गरिने बिभिन्न जात्रा तथा पुजाहरु न्हुँदया भिन्तुना जस्ता कार्यक्रमहरुमा यसक्षेत्रका सबै जात जाति भाषा भाषिहरुको सहभागिता देखिन्छ ।
यो क्षेत्रको नेवारी संस्कृति तथा खानालाई समेत पर्यटन प्रवर्धनको कडीको रुपमा बिकास गर्न सकिन्छ ।
बिकासको नामामाहुने मौलिक संस्कृतिमाथिको हस्तक्षेपलाई परास्तगरि ब्यवस्थित ग्रामिण शहरको परिकल्पना सहित स्थानियनागरिकको प्रत्यक्ष संलग्नता र निगरानिमा वस्तुवादि योजना बनाउन सके यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन सक्ने बिभिन्न अवस्था रहने संभावनाहरु बलियो भएर उभिइइरहेका छन् ।
यो क्षेत्रमा अझै पनि दलितजाति र अन्यजाति बिचको भेदभावहरु पुर्णरुपमा अन्त्य नभईसकेको भएपनि सामाजिक सद्भावै खदवल्याउने खालका अमानविय क्रियाकलापहरु भने हुँदैनन् । यो भनेको समाज बिस्तारै रुपान्तरणको दिशामा अगाडी बढेको छ भन्ने संकेत हो ।
भौगोलिकरुपमा काठमाडौं उपत्यकाको अलि बिकट जस्तो देखिएपनि बिस्तारै शहरिकरणको प्रभावले यस क्षेत्रका खेतियोग्य जमिनहरु मासिदै गएको छ । जति जे हुनु भै सकेको छ अब त्यसको गम्भिर मुल्याङ्कन गरेर बचेका खालि जमिनहरुमा आधुनिक प्रविधिबाट तरकारी तथा नगदेबालि लगाउन सके यस क्षेत्रलाई तरकारी र दुधमा आत्मनिर्भर बनाउन सकिने देखिन्छ ।
अहिलेबाटै कुहिने फोहरबाट घरघरमै जैविकमल उत्पादन गर्ने परिपाटी बसालेर त्यसालाई कौशि तथा करेसाबारीमा सदुपयोग गर्न सके अझ सुनमा सुगन्ध हुन सक्ने आधारहरु समेत रहेका छन् ।
खसी, बाख्रा,बंगुर र कुखुरा पालन गरेर मासुमा समेत परनिर्भरता हटाउने योजना बनाउनेहो भने यस क्षेत्रमा सफलता मिल्ने निश्चित प्राय छ ।
आधुनिकतासँगै मानिसहरु निकै व्यस्त बन्दै गएका छन् । दिनरात धेरै मिहिनेत गर्दागर्दै पनि मानिसले आफूलाई पर्याप्त समय दिन सक्दैनन् । विशेष गरी, घना बस्ती र शहरका मानिसहरू छोटो छुट्टीको समयमा शान्त प्राकृतिक वातावरणको आनन्द लिन चाहन्छन् यो आनन्द लिनको लागि उत्कृष्ट गन्तव्य बनेको बागमती नदिको उद्गम स्थल मानिने बागद्वार यहि वडामा पर्छ ।
करिब ३ घण्टाको पैदलयात्रा गरेपछि पुगिने बागद्वार शिवपुरी शिखर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको सबैभन्दा अग्लो चुचुरो हो । यो समुद्र सतह देखि २७३२ मिटर उचाइ मा छ । यो राष्ट्रिय निकुञ्ज काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट र भक्तपुर जिल्लामा फैलिएको छ । शिवपुरी शिखर यी सबै स्थानहरू बीच अवस्थित छ । त्यसैले, यहाँ पुग्न धेरै मार्गहरू छन् तर सबभन्दा छोटो बाटो बुढानीलकण्ठको बाटो हो ।
राष्ट्रिय निकुञ्ज भित्र स्पिकर, चक्कु, कैंची, मासु, र अन्य वस्तुहरूलाई अनुमति छैन । प्रतिबन्धित वस्तु फेला परेमा वन कानून बमोजिम कारबाही हुन्छ । शान्त प्राकृतिक वातावरण, वन्यजन्तु, विभिन्न किसिमका वनस्पति, वनस्पति, झरना, मन्दिर, गुम्बा, पर्यावरणीय विविधता आदि यहाँका प्रमुख आकर्षणहरु हुन् ।
समुन्द्र सतहबाट १७६० मिटरको उचाइमा रहेको हेलिप्याड , भोटेनी देउरालि, नागी गुम्बा, हुँदै बागद्वार पुग्न सकिन्छ ।
हेलिप्याडबाट, सिँढी चढ्दै वा नागी गुम्बा देखि सडकको बाटो प्रयोग गरेर त्यहाँ पुगिन्छ । हेलिप्याडबाट सिँढी चढ्ने बाटो अलि उकालो र कठिन छ तै पनि नागीगुम्बाको बाटो छोडेर सिँढी चढ्दा जताततै लाली गुराँसको फूल देख्न पाइन्छ निश्चित रूपमा मानिसहरूलाई मोहित पार्नेखालको केही रातो पातहरू भुइँमा खसेका देखिन्छन् । जङ्गलका बिरुवा, कीरा र फट्याङ्ग्रासँग परिचय गर्दै अगाडी बढ्नुको बेग्लै मज्जा लिन सकिन्छ । उकालो बाटोमा प्रकृतिको बेग्लै परिवेश छ । प्रकृतिको अद्भुत करिश्मामा डुब्ने वातावरण तयार हुन्छ ।
मिठा चराहरूको मिठा आवाज, कहिलेकाहीं देखिने र हराउने घामका किरणहरू, ढलेका र माटोमा परिणत भएका रूखहरू, संग पैदल यात्राको आनन्द र केहि यादगार क्षणहरु बनाउन एकपल्ट यो यात्रामा जानै पर्ने हुन्छ ।
बागद्वार बागमती नदीको मुहान हो । यो आस्थाको केन्द्र हो । यसको उचाई समुन्द्र सतह देखि २४९० मिटर छ । बागद्वार एउटा सानो वर्गजस्तै छ । यसको कुनातिर ढुङ्गाका खोलाहरू छन् । एउटा मुख्य धारामा बाघको टाउकोको आकार दिइएको छ । यसको बीचमा एउटा सानो पोखरी छ । पोखरीको बीचमा भगवान शिवको सानो मूर्ति छ ।
यो वडाको धार्मिक तथा प्राकृतिक पर्यटनलाई सफलताको सिखरतिर डोर्याउन बुढानीलकण्ठ — बागद्वार पर्यटन पदमार्गले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको छ

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र बागद्वार जाने हरेक पर्यटकहरुलाई एक पल्ट यो क्षेत्रमा घुमेर रमाईलो गरेर मात्र शहर र्फकन वा माथि उक्लन प्रेरीतहुने खालको योजना बनाएर लागु गर्नेहो भने यो वडा निक्कै छोटो समयमा प्रगतिको शिखरमा पुग्ने निश्चित प्राय छ ।
जनप्रतिनिधरुको जोडबलमा स्थानिय नागरिकहरुको सकृय सहभागिता बिना बिकास सम्भव छैन ।
हामि सबै मिले मात्र बन्छ संमृद्ध नेपाल
त्यसैले
आउ मिलौं साथि आउ
एक अर्काको हात समाउँ
यो देशलाई संमृद्ध बनाउँ
जय देश

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ को
वृत चित्र
हार्दिक आभार
बुढानीलकण्ठ नगरपालिका मेयर
मिठाराम अधिकारी
वडा नम्बर १ का वडा अध्यक्ष
सुरेन्द्र लामा
वडा सदस्यहरु
नविन श्रेष्ठ
बुद्धि तामाङ
शर्मिला नेपाली
चण्डिका रैला

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१