काठमाडौँ ,१८ कार्तिक । नेपाल वायु सेवा निगमले सोमबार चीनबाट नयाँ जहाज ल्यायो । यसअघि पनि यस्तै जहाज आएकाले यो खबर त्यति धेरै नौलो भएन । तर जहाजको नाम भने सबैलाई नौलो लाग्यो । निगमले चीनबाट आएको नयाँ जहाजको नाम कोइली राखेको छ ।
जहाजलाई किन कोइली भनिएको होला भन्ने धेरैलाई खुल्दुली लागेको छ । ‘पहिले जहाजको नाम राख्ने चलन थिएन, अहिले भने हामीले नाम दिने गरेका छौं, नाम दिने क्रममा अहिले आएको नयाँ जहाजलाई कोइली भनिएको हो’ निगमका उपनिर्देशक हरिहर शर्माले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार साना जहाज चराको नाममा, मझौला जहाज नदी र तालको नाममा तथा ठूला जहाज विश्व प्रसिद्ध ऐतिहासिक स्थलको नाममा चिनाउने निगमको नीति छ । ‘अहिले आएको जहाज सानो खालको भएकाले चराको नाम खोज्दै जाँदा नेपालमा पाइने प्रसिद्ध चरामा कोइली पनि पर्ने भएकाले यो नाम रोजिएको हो’ शर्माले भन्नुभयो ।
प्रतिक्रिया