काठमाडौं । हिमाल आरोहण गर्न गएकी पर्यटन पत्रकार कल्पना महर्जनको स्वास्थ्यमा गम्भिर असर देखिएको छ । स्वास्थ्य अवस्था बिग्रिएकी महर्जनलार्इ काठमाडाैं ल्यार्इ धापाखेलस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण अभियानअन्तर्गत सोलुखुम्बुको ६ हजार ७ सय मिटर अग्लो मेरापीक आरोहणमा गएकी महर्जनको स्वास्थ्यमा अचानक गम्भिर असर देखिएको थियो ।
उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याई बी एन्ड बी अस्पतालमा भर्न गरेपनि त्यहाँ भेन्टीलेटर नहुँदा सुमेरु अस्पतालमा रिफर गरिएको थियो ।
महर्जनको उपचारमा संलग्न डाक्टरका अनुसार उनको छातीमा इन्फेक्सन भएको छ भने टाउकोमा समेत समस्या देखिएको छ ।
उनीलाई माथि जानुअघि नै सामान्य रुघाखोकी लागेको हुनाले चिसोले एकैचोटी समातेको र हाइअल्टिीच्यूट पनि लागेपछि गम्भिर समस्या देखिएको हो ।
गत कात्तिक ९ गते काठमाडौंबाट हिँडेकी उनी एटलान्ट माउन्टेनरिङ एन्ड ट्रेकिङ प्रालिबाट फ्रेन्स ग्रुपसँगै मेरापीक हिमाल आरोहणका लागि गएकी थिइन ।
उनी नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ-नेपाल)की कार्यसमिति सदस्य समेत रहेकी छिन् । उनको उपचारका लागि टीजेएफ नेपालले आर्थिक सहयोगको समेत अपेक्षा गरेको छ ।
प्रतिक्रिया