राजनीतिमा डेब्यू गर्ने मुडमा कंगना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०८०, सोमबार ०८:२९

काठमाडौँ। बलिउडमा रहेका विकृतिविरुद्ध स्थापित निर्देशक, अभिनेता, अभिनेत्रीसँग पंगा लिएर विभिन्न मुद्दामा चर्चामा आइरहने भारतीय नायिका कंगना रौनत राजनीतिमा आउने भएकी छिन् ।

फिल्म अभिनयसँगै त्यस क्षेत्रमा देखिएका समस्याका बारेमा आवाज उठाउँदै आएकी उनले अब राजनीतिमा पनि हात हाल्न लागेकी हुन् ।

पछिल्लो समय कंगनाको फिल्मले राम्रो व्यापार गर्न सकेको छैन । फिल्म क्षेत्रका स्थापित हस्तीसँगको विवादले उनी चर्चामा छिन् । यिनै घटनाले उनले निडर अभिनेत्रीको छवि बनाएकी छन् । विशेषतः उनले बलिउडमा देखिएको ‘नेपोटिजम’को विरुद्धमा आवाज उठाउँदै आएकी छिन् ।

कंगनाले आफ्नो तार्किक क्षमता राजनीतिमा सदुपयोग गर्नेमा उनका समर्थक आशावादी छन् । भारतीय मिडियाको दाबीअनुसार उनले सन् २०२४ को लोकसभा चुनावका लागि भारतीय जनता पार्टीबाट टिकट पाउने छिन् ।

कंगना स्वयंले भने यसबारे मुख खोलेकी छैनन् । केही दिनअघि उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, भगवानको कृपा भयो भने अवश्य चुनाव लड्छु ।

पछिल्लो समय उनी राजनीतिमा आउने चर्चा चलिरहेको थियो । उनका बुबा अमरदीप रनौतले उनी राजनीतिमा आउने पुष्टि गरेको समाचार भारतीय मिडियाले उल्लेख गरेका छन् । उनका पिताले कंगना भाजपाबाटै चुनाव लड्ने तयारी भइरहेको समेत जानकारी दिएका छन् ।

भाजपाका राष्ट्रिय अध्यक्षसँग कंगनाको भेट
दुई दिनपहिले कंगनाले भाजपाका राष्ट्रिय अध्यक्ष जगत प्रकाश नड्डासँग कुल्लूमा भेट गरेकी छिन् । यो भेटले उनी राजनीतिमा आउने चर्चालाई थप बढावा दिएको छ ।

कंगनाको परिवार भाजपा निकट भएका कारण पनि यो भेटले चर्चा पाएको हो । यही भेटले उनी राजनीतिमा आउने तय भएको बुझिएको छ ।

पछिल्लो समय कंगना भाजपाको भातृ संगठन राष्ट्रिय स्वयंसेवक संघको कार्यक्रममा सहभागी भएकी थिइन् ।

कहाँबाट उठ्छिन् कंगना?
अहिलेसम्मको जानकारी अनुसार कंगना चुनावमा उठ्ने मात्रै तय भएको छ । उनका पिताका अनुसार कहाँको टिकट दिने भन्ने कुरा पार्टीले तय गर्न बाँकी छ ।
कंगनाले गुजरात, उत्तर प्रदेश, महाराष्ट्र, चंडिगढ र हिमाचल प्रदेशमा चुनाव लड्ने चर्चा रहेको छ । यिमध्ये पनि हिमाचलबाट उनी उठ्ने सम्भावना बढी छ ।

कंगना हिमाचल प्रदेशको भावला गाउँमा जन्मे–हुर्केकी हुन् । केही समयअघि उनले मनालीमा घर बनाएकी थिइन् । उनको परिवार पनि मनालीमै स्थायी बसोबास गर्ने भएकाले हिमाचलबाटै टिकट पाउने सम्भावना बढी छ ।

उमेरले ३६ वर्ष पुगेकी कंगना अभिनेत्रीका साथै चलचित्र निर्मातासमेत हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१