गगनको आरोप, ‘सभापतिले न्यायपूर्ण ब्यवहार गर्नुभएन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०८०, बिहीबार ०६:३८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले न्यायपूर्ण ब्यबहार नगरेको आरोप लगाएका छन् । आज (बुधबार) इतर समूहले बोलाएको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सभापति देउवा एउटा समूहको संरक्षकमात्रै बनेको आरोप लगाएका हुन् ।

पार्टीको १४औं महाधिवेशनबाट अहिलेसम्म आइपुग्दा स्थानीय तह र प्रतिनिधि सभालगायतको निर्वाचन भएको भएपनि कुनै मापदण्ड नबनेको र बनाउन नसकिएको उनले बताए । यस पटकको राष्ट्रिय सभा निर्वाचनमा मापदण्ड बनाएर पार्टीमा लामो समयदेखि अवसर नपाएकाहरुलाई स्थान दिनुपर्ने उनको भनाइ छ । उनले उम्मेदवार छनोट गर्दा संविधान र राष्ट्रिय सभाको स्प्रिटलाई ख्याल गर्नुपर्ने बताए ।

‘अन्यायपूर्ण, विभेदपूर्ण भयो । पार्टी सभापतिले सबैसँग न्यायपूर्ण ब्यबहार गर्नुपर्ने ठाउँमा सभापति आफैं एउटा समूहको संरक्षकजस्तो हुनुभयो । आफ्नो समूहमा जो छ, उसका लागि एउटा ब्यबहार, जसले हिजो अधिवेशनमा मत दिएन, उसलाई अर्को नजर । सभापति बाहेकको ब्यक्तिले त्यो गर्नु स्वभाविक होला । सभापतिले त्यसो गर्नुभो । त्यसकारणले गर्दा यो पटकको राष्ट्रिय सभा निर्वाचनमा दुईटा कुरामा प्रष्ट हुनुपर्छ,’– महामन्त्री थापाले भने ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सभापति देउवाले सिंगो कांग्रेसको सभापति बन्न सक्नुपर्ने उनको सुझाव छ । साथै, उनले आजको बैठकमा पार्टीको आसन्न महासमिति बैठक, सरकारका काम कारबाही र सुशासनका बारेमा छलफल भएको बताए । उनले कांग्रेस सरकारमा रहेका बेला एकपछि अर्को काण्डहरु सार्वजनिक हुनुले गम्भीर हुन जरुरी रहेको बताए । उनले सुशासनका लागि संगठित रुपमा दवाब सिर्जना गर्नुपर्ने बताए ।

‘दोस्रो कुरा महासमितिको बैठक । तेस्रो आज हामीले छलफल गरेको महत्वपूर्ण विषय भनेको चाहीँ सुशासन हो । एकपछि अर्को काण्डहरु सार्वजनिक हुँदै आउने, अहिले हामी नेपाली कांग्रेस आफैं सरकारमा हुने, हामी सरकारमा भएको बेलामा एकपछि अर्को काण्ड सार्वजनिक हुँदैगर्दा यी विषयहरुलाई सामान्य रुपमा हामीले लिन हुँदैन । संगठित ढंगले हामीले यो विषयमा दवाब सिर्जना गर्नुपर्छ भन्ने बारेमा हामीले छलफल गरेका छौं,’– उनले भने ।

उनले बैठकमा संस्थापन इतर समूहको संवाद एकदमै कमी भएको बारेमा सबैले मनन गरेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१