प्रधानमन्त्री दाहाल युएई प्रस्थान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ मंसिर २०८०, बिहीबार ०६:४३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीको बिदाइका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिपरिषद्का सदस्य, सांसद, निजामती तथा जङ्गी सेवाका वरिष्ठ अधिकारी, यहाँस्थित युएईको राजदूतावासका उच्च अधिकारी उपस्थित थिए ।

प्रधानमन्त्री नेपाल एयरलाइन्सको नियमित उडानबाट दुबइतर्फ प्रस्थान गरेका हुन् । यही मङ्सिर १४ गतेदेखि कोप–२८ दुबईमा हुँदैछ । प्रधानमन्त्री दाहाल मङ्सिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुने सचिवालयले जनाएको छ । उनले मङ्सिर १६ गते उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल युएईको ५२औँ एकता दिवसका अवसरमा युएईले आयोजना गर्ने समारोहका साथै ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । उनले मङ्सिर १६ गते जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका ‘एजेन्डा’लाई प्रवद्र्धन गर्न ‘पर्वतको आह्वान : जलवायु सङ्कटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्दै छन् ।

प्रधानमन्त्री दाहालले उच्चस्तरीय सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबइमा एकत्रित भएका विभिन्न मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण गरेर त्यहाँ नेपाली समुदायसँग छलफल गर्नेछन् भने नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी छन् । प्रधानमन्त्री दाहाल मङ्सिर १७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१