टेक्सासको अस्टिनवासी नेपाली समुदायसँग नेजाद्वारा अन्तरक्रिया

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०८०, बुधबार ०७:००

अमेरिका।  नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले टेक्सास राज्यको अस्टिन सहरमा रहनुभएका समुदायसँग समुदाय र पत्रकारबीचको  अन्तरक्रिया’ गरेको छ । नोभेम्बर २६, २०२३ आइतबार ग्रेटर अस्टिन नेपाली सोसाइटीको भवनमा आयोजित कार्यक्रममा विभिन्न पेसा एवं व्यवसायमा आबद्ध व्यक्ति र पत्रकारबीच सो अन्तरक्रिया गरिएको हो ।

नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा अमेरिकामा नेपालीको बढ्दो जनसंख्याका साथै यहाँको रहनसहन, परिवेशमा हाम्रो समाजलाई सहभागी गराउन र जीवनयापन सहज बनाउनका साथै दोस्रो पुस्तालाई कसरी आकर्षित गर्ने र सहभागी बनाउनेजस्ता विषयमा छलफल एवं अनुभव आदान-प्रदान गरिएको थियो समुदायका अगुवाहरूले समाजमा भएका गतिविधि एवं आवश्यक सूचना प्राप्त गर्न नसकेको गुनासो गर्नुभएको थियो भने पत्रकारहरूले समुदायमा गरिने गतिविधि एवं कार्यक्रमका बारेमा सम्बन्धित व्यक्ति एवं संस्थामार्फत आवश्यक सूचना प्राप्त गर्न नसकिएको गुनासो गर्नुभएको थियो।

कार्यक्रममा समग्र अस्टिनवासीको प्रतिनिधित्व गर्दै अग्रज चलचित्रकर्मी, पत्रकार एवं नेजाका सदस्य नारायण पुरीले समुदायले नेजामार्फत गरेका अपेक्षा, पत्रकारसँग समुदायका गुनासो, सल्लाह एवं सुझावका बारेमा प्रकाश  पार्नुभएको थियो । पुरीले पत्रकार तथा सञ्चारमाध्यमलाई आफ्नो भूमिका निर्वाह गर्ने क्रममा सबैलाई समान व्यवहार र समान रुपमा समेट्न पनि आग्रह गर्नुभएको थियो । यसैगरी, नेजाका अध्यक्ष सुरज भण्डारीले उत्तर अमेरिकाभर रहनुभएका विशेषगरी नेपाली समुदायलाई आवश्यक पर्ने सूचना एवं समुदायले गर्ने कार्यक्रमका बारेमा जानकारी सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउन कठिनाइ हुन सक्ने हुँदा सम्पूर्ण व्यक्ति एवं संघ-सस्थालाई आफूले गर्ने कार्यक्रमका बारेमा सङ्कलन गरिएका सूचना नेजालाई उपलब्ध गराइदिनुभएमा नेजाको तर्फबाट उत्तर अमेरिकाबाट सञ्चालित सम्पूर्ण सञ्चारमाध्यममा प्रवाह गर्ने जानकारी दिनुभयो । अध्यक्ष भण्डारीले नेजाले आगामी दिनमा आफ्नो विद्यमान दायरा र भूमिकालाई समुदायको आवश्यकता र समयको मागबमोजिम फराकिलो बनाउँदै अमेरिकामा रहेका दोस्रो पुस्तालाई सक्रिय रुपमा सहभागी गराउन आफू लागिपर्ने बताउनुभयो । यस्तै, नेजाका महासचिब बाबुराम दाहालले कार्यक्रम सञ्चालन गर्ने क्रममा नेजा आफैंमा सञ्चारमाध्यम नभएको तर उत्तर अमेरिका रहेका सम्पूर्ण सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको साझा संस्था भएको हुँदा समुदायमार्फत नेजालाई प्राप्त सूचना एवं समाचारलाई सबै सञ्चारमाध्यममा प्रवाह गर्ने मध्यस्थकर्ताको भूमिका खेल्ने बताउनुभयो । साथै, महासचिव दाहालले नेपाली पत्रकार एवं समुदायको बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै नेजाले आफ्नो दायरा एवं भूमिकालाई समयानुकूल विस्तार गर्दै जाने बताउनुभयो । नेजाका सचिव प्रतिमा बाँस्कोटाले स्वागत तथा कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो भने कार्यसमिति सदस्य झरना अधिकारीले धन्यवाद ज्ञापन, गर्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले समुदायलाई आवश्यक पर्ने सूचना तथा समाचार समेटेर नेजालाई छुट्टै मुखपत्र प्रकाशन गर्नसमेत सुझाव दिनुभएको थियो ।

कार्यक्रममा ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष भोजराज भट्ट, पूर्वअध्यक्ष गेहेन्द्र केसी, पर्यटन दूत उद्वब खनाल, एनआरएनए आईसीसी सदस्यद्वय पदम ठकुराठी र महेश रेग्मी, एनआरएनए एनसीसी अमेरिकाका  पूर्वकोषाध्यक्ष एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेल, एनआरएनए एनसीसी टेक्सास च्याप्टरका कोषाध्यक्ष विनोद साह, एनआरएनए अभियन्ता प्रदीप चौलागाईं, सामाजिक अभियन्ता दीपक हुमागाईं, समाजसेवी धीरेन्द्र यादव, शिव न्यौपाने, अजय बस्नेत, चन्द्रमान लिंखा, अशोक साही, दिपेश भण्डारी, युवा व्यवसायी रोशन बुढाथोकी, क्षितिज लोहनीलगायतको उपस्थिति रहेको थियो । यसैगरी, पत्रकार एवं नेजाका सदस्य शम्भु दवाडी, रवीन पिया, नारायण भण्डारी, भीषण न्यौपाने, दिपक गुरुङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१