श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०८०, आईतवार ०७:१४

काठमाण्डौ । श्रीमान जीवितै छन् तर वडा सचिवले उनलाई मृतक बनाइदिए अनि महिलालाई एकल बनाएर भत्ता दिलाए । जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाण पत्र बनाएर एकल महिलाको भत्ता दिने काममा संलग्न रहेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
यो घटना हो रामेछापको मन्थली नगरपालिका–५ को । त्यहाँका तत्कालिन वडासचिव शिवकुमार महतोले यस्तो बदमासी गरेको भेटिएसँगै अख्तियारले तत्कालीन वडा सचिव र जीवित श्रीमानकी पत्नी निर्मला खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

वडा सचिव महतोले सूचनाको आधिकारिकता सम्बन्धमा कुनै छानबिन नगरी, कानुन बमोजिम पेस हुनुपर्ने कागजातहरु समेत संलग्न नराखी जीवित व्यक्तिको नाममा मृत्यु दर्ता पत्र बनाइदिएका थिए । त्यतिमात्रै होइन उनले खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाउन समेत फारम भरिदिएका थिए । उक्त एकल महिला परिचय पत्रको आधारमा खत्रीले ४५ हजार दुई सय २० रुपैयाँ लिइसकेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महतोसहित निर्मला खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । वडासचिव महतोले खत्रीसँगको मिलेमत्तोमा उनका जीवित श्रीमानको मृत्यु भएको गलत लिखित तयार गरी एकल महिला भत्ता उपलब्ध गराएको अख्तियारको दाबी छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा ४५ हजार २२० रुपैयाँ बिगो कायम गरी सजाय मागदाबी गर्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१