स्नुप डगले गाँजा छाड्न लागेका हुन् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०८०, आईतवार ०६:४०

काठमाडौँ।  हिपहप जगतमा स्नुप डगको नाम नसुन्ने सायदै कोही होला । हिपहप कलाकारका रुपमा स्नुप डगको जुन पहिचान छ, उत्तिकै ठूलो उनको अर्को पनि पहिचान छ । त्यो हो– उनी गाँजाका पारखी हुन् । गाँजाको पारखीकै रुपमा स्नुप डगले आफ्नो सार्वजनिक छवि पनि निर्माण गरेका छन् ।

उनले गाँजालाई नै समर्पण गरेर धेरै सङ्गीतहरु रचिसकेका छन् । उनी आफूले प्रस्तुति दिइरहेको स्टेजमै पनि गाँजा पिउँछन् । त्यस्तै, उनले गाँजाको कम्पनी पनि स्थापना गरेका छन् ।

वास्तविक नाम केभिन ब्रोडस रहेका ५२ वर्षीय स्नुप डगले हालै एउटा आश्चर्यजनक घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् आइन्दा धूमपान नगर्ने घोषणा गरेका हुन् ।

उनले इन्स्टाग्राम र एक्समार्फत् अब धूमपान नगर्ने बताउँदै आफ्नो गोपनियताको सम्मान गर्नसमेत आग्रह गरेका छन् । उनले लेखका छन्, ‘परिवारसँगको कुराकानी र धेरै विचार गरेपछि मैले धूवाँ त्याग्ने निर्णय गरेको छु । कृपया यसपाली मेरो गोपनियताको सम्मान गरिदिनुहोला ।’

 

उनले कस्तो धूवाँ सेवन नगर्ने घोषणा गरेका हुन् त्यो भने स्पष्ट छैन । त्यस्तै, उनले कति गम्भीरतापूर्वक यस्तो घोषणा गरेका हुन् भन्ने पनि स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कतिपयले भने आफ्नो ‘लिफ बाई स्नुप’ नामक गाँजा कम्पनीका लागी बजारीकरण गर्न उनले यस्तो फण्डा रचेकोसमेत टिप्पणी गरेका छन् ।

कसैले भने स्नुपको घोषणा अविश्वसनीय रहेको उल्लेख गरेका छन् । ‘आज अप्रिल फुल डे होइन स्नुप ।’ एक जनाले टिप्पणी गरेका छन् ।

‘धुवाँ सेवन नगर्ने स्नुप र पानी नभएको पृथ्वी उस्तै हो ।’ अर्का एक जनाले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१