अब जनदबाबबाटै देशलाई निकास दिनुपर्छ : राजेन्द्र लिङ्देन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ मंसिर २०८०, शनिबार ०६:५४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जिम्मेवार राजनीतिक दलहरुबीच नयाँ सम्झौता गरी देशलाई निकास दिनुपर्ने औंल्याएका छन् ।
‘अहिले हामीले आन्दोलनका कुनै कार्यक्रम घोषणा गरेका छैनौं । पुसमा राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बस्छ । त्यसपछि जनदबाबका कार्यक्रम सुरु हुन्छन् । तर यही अवस्थाबाट देश अगाडि जान सक्ने अवस्था छैन । जिम्मेवार राजनीतिक दलहरुको सहमति र गल्ती महसुसबाटै नयाँ सम्झौता गरेर अघि बढ्नुपर्छ । होइन भने जनदबाबबाट भए पनि देशलाई निकास दिनुपर्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
लिङ्देनले मंसिर ७ को आन्दोलन आफ्नो पार्टीको नभएको पनि स्पष्ट पारे । उनले भने, ‘मंसिर ७ सँग हामीलाई किन जोडिरहनुभएको छ ऋषिजी ? कसैले संघीयता खारेजी, राजसंस्था र हिन्दुराष्ट्र ल्याउँछु भन्छ भने त्यसमा हामीले विरोध गर्नुपर्ने जरुरी छैन । त्यसमा हाम्रो शुभकामना छ । हामीले सतर्कतासाथ हेरिरहेका छौं । अरु कसैले घोषणा गरेको कार्यक्रममा यसभन्दा बढी टिप्पणी गर्नु आवश्यक छैन । यो हाम्रो आन्दोलन हो र होइन भनिरहनु जरुरी छैन । ७ गते नै सबै टुंगो लाग्ने पनि होइन । हाम्रो पार्टी एक प्रकारले आन्दोलनमै छ ।’
मंसिर ९ गते झापामा पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि पूर्वराजा ज्ञानेन्द्र जाने कार्यक्रममा राप्रपाको सहयोग रहने पनि उनले बताए । संघीयताको खारेजी, राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापना सम्भव भएको पनि नेता लिङ्देनको दाबी छ ।
अर्को प्रसंगमा उनले टिकटक प्रतिबन्धको कडा प्रतिवाद हुने चेतावनी पनि दिए । लिङ्देनले थपे, ‘हिजो लेख्न, बोल्न पाइएन भन्ने अनि अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको ध्वाँस दिनेले टिकटकसँग डराएर प्रतिबन्ध लगाउनु निरंकुशताबाहेक अरु के हुन सक्छ ? सामाजिक सञ्जालमा कुनै कन्टेन्टले समाजमा विकृति ल्याएको छ भने त्यसलाई पो रोक्नुपर् यो । औंलामा हात लाग्दा हातै काटिदिने प्रजातान्त्रिक सोच होइन । विकृतिको कारक टिकटक हो कि अहिलेको सरकार ? समस्या कहीं छ भने अहिलेको व्यवस्था र नेतृत्वमै छ । यसको प्रतिवाद चाँडै सुरु हुन्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१