प्रोत्साहनले हिम्मत बढ्छ, हतोत्साहले निराशा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ कार्तिक २०८०, शनिबार ०७:०३

पानी भरी भएको एउटा पोखरीबाट निस्किएर केही भ्यागुताहरू खुला चौरमा उफ्रिरहेका थिए । सबै आफ्नै धुनमा अगाडि बढिरहेका थिए । अचानक त्यस चौरमा रहेको एउटा खाल्डोमा दुईवटा भ्यागुता खस्न पुगे ।

आफ्ना साथीहरू खाल्डोमा परेको देखेर अन्य भ्यागुताहरू खाल्डोको डिलमा बसेर उनीहरूलाई हेर्न थाले । खाल्डोमा खसेका भ्यागुताहरू त्यहाँबाट निस्कन निक्कै प्रयास गरिरहेका थिए । ती दुई भ्यागुताहरू सकेसम्मको बल लगाएर माथिमाथिसम्म उफ्रिरहेका थिए । तर पनि उनीहरु बाहिर निस्कन सकिरहेका थिएनन् ।

बाहिर भएका भ्यागुताहरू अब उनीहरु त्यस खाल्डोबाट निस्कन सक्दैनन् भन्ने निष्कर्षमा पुगिसकेका थिए । किनकी त्यो खाल्डो निकै गहिरो थियो ।

उनीहरूको मेहनत र प्रयास देखेर बाहिर बसेका भ्यागुताहरू भन्दै थिए– ‘साथीहरू अब तिमीहरू उफ्रिनुको कुनै काम छैन । हातखुट्टालाई कष्ट दिनु मात्र हो । अब तिमीहरू यहाँबाट निस्कन सक्दैनौ । हामी दुःखी छौँ, किनकी हामीले तिमीहरूलाई बाहिर निकाल्न सक्ने कुनै उपाय पनि छैन । उनीहरु बारम्बार यही कुरा दोहोर्‍याइरहेका थिए ।

आफ्ना साथीहरुबाट बारम्बार यस्ता कुरा सुन्दा खाल्डोमा रहेको एउटा भ्यागुतो भने निराश भयो । उसले अघिसम्म जारी राखेको बाहिर निस्कने प्रयास पनि छाडिदियो । ऊ बाहिर निस्कन नसक्ने भयले चिन्तित बन्यो र केही समय पछि प्राण त्याग गर्‍याे ।

तर सँगै रहेको दोस्रो भ्यागुतोले भने बाहिर निस्कने आफ्नो प्रयास जारी राखिरहेको थियो । बाहिर रहेका साथीहरू पहिलेकै कुराहरू दोहोर्‍याइरहेका थिए ।

केही समयको अथक प्रयास पछि बल्लबल्ल त्यो भ्यागुतो खाल्डोबाट बाहिर निस्कन सफल भयो । बाहिर आउनेबित्तिकै उसले आफ्ना साथीहरूलाई धन्यवाद दियो । तर बाहिर भएका भ्यागुताहरू आफूले उसलाई कुनै सहयोग नै नगरे पनि उसले धन्यवाद दिएकोमा अचम्मित भए । उनीहरु अचम्मित भएको देखेर खाल्डोबाट निस्केको भ्यागुताले धन्यवाद दिनुको कारण उनीहरूले सोध्नुभन्दा अगाडि नै आफूले दियो ।

उसले भन्यो– साथीहरू तिमीहरूलाई थाहै छ म कान सुन्दिनँ, तर पनि तिमीहरूलाई खाल्डोको वरिपरि घेरेर बसेको देखिरहेको थिएँ । तिमीहरूका मुख पनि चलमलाइ रहेका थिए । मलाई लागिरहेको थियो तिमीहरू मलाई खाल्डोबाट बाहिर निस्कनका लागि मेरो आत्मबल बढाइरहेका थियौ, उत्प्रेरणा जगाइरहेका थियौ, प्रोत्साहन गरिरहेका थियौ । हो म त्यसैको बलमा उफ्रिरहेको थिएँ र बाहिर निस्कन सफल भएँ ।

त्यसैले हेर ! जस्तोसुकै कठिनाइ आइपरे पनि हिम्मत हार्नु हुन्न । आफ्नो आत्मबल, साथीभाइको प्रोत्साहन र प्रेरणा मिल्यो भने त्यसलाई परास्त गरी सफलता प्राप्त गर्न सकिन्छ । उसका यस्ता कुराले बाहिर रहेका भ्यागुताहरू पहिलो साथीको मृत्यु हुनुमा आफूहरू नै दोषी भएको पछुतो गर्दै पोखरी तिर लागे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१