गतसाता अन्नपूर्ण क्षेत्रको हिमपातमा धेरै विदेशी पर्यटक प्रभावित भए । तस्वीरमा देखिएको दृश्य हिमपातमा मृत्यु हुने इजरायली नागरिकको शवको हो । नेपाल आएकामध्ये दुई इजरायली महिलाको बस दुर्घटनामा र चारजनाको हिमपातमा मृत्यु भयो । तस्वीर स्रोत: टीएलभीवान
अमेरिकी पर्यटक केभिन ब्रेजलर हिमपातबारे यसरी स्मरण गर्छनः
मेरी श्रीमती क्याट र म अन्नपूर्ण पर्वत श्रृंखलामा थियौं । जहाँ पछिल्लो ४८ घण्टामा हिमपहिरोमा परी कम्तिमा १४ जना पदयात्रीले ज्यान गुमाए । यद्यपि हामी मनाङमा हिमपातमा पर्यौँ -तल्लो क्याम्पमा, घातक हिमपहिरोको दृश्यको तलपट्टि ।
हामीले अक्टोबर १५ मा सुरक्षित निर्णय लियौँ पास पुग्नुको साटो तल ओर्लिने, जुन दिन दुखद घटना भयो ।
जब हामी दुई दिनअघि मनाङ आइपुग्यौँ, त्यहाँ अस्वभाविक रुपमा न्यानो र सफा मौसम थियो । हिउँ परेको भन्ने हल्लाहरु चियापसलमा चलेका भए पनि वास्तविक सूचना आएको थिएन । तर अर्को दिन बिहान ब्युझिँदा मैले कहिल्यै पनि नदेखेको भीषण हिमपातले झस्कायो ।
हामी माथि उक्लिनुपूर्व आराम गर्ने समयमा रहेको हुँदा रोकियौँ । माथि उक्लिने निर्धारित समयभन्दा २४ घण्टा अगाडि नै मैले त्यो थाहा पाएँ । माथि धेरै हिउँ परेको हुँदा हामीले तल ओर्लिनु पर्ने भयो ।
दिनभर नै हिउँ पर्यो । २४ घण्टामा २ फिटभन्दा बढी । ३ हजार फिटमाथिको उपल्लो क्याम्पमा हिमआँधी नै चल्यो र एकैदिनमा १० फिट बाक्लो हिउँ जम्यो ।
केभिन ब्रेजलर नवविवाहिता श्रीमतीसहित गत जुलाइमा ५ महिने हनिमुनमा निस्केका थिए । यो संस्मरण उनले ८ हजार फिट माथि रहँदा आफ्नो सेलफोनमा लेखेका हुन्
अक्टोबर १५ मा आकाश खुल्ला थियो । हाम्रा धेरै सहयात्री पदयात्रीहरु माथि चढ्दै थिए । तर, परिस्थिति हिमपहिरो जानेखालको थियो । त्यसैले माथि पदयात्रा गर्ने निर्णय त्याग्नु नै बुद्धिमानी थियो । त्यो निर्णय लिनका लागि हाम्रो एकजना भरिया गाइड देवले सहयोग गरे, जसले हामीलाई हप्ताभर नै सही बाटो देखाइरहे ।
यद्यपि हामीले तल ओर्लिएर खराब परिस्थिति पन्छाएका थियौँ । तर हाम्रो यात्रा अझै खतरापूर्ण थियो ।
बुधबार दिनभर हामीले हिउँ, बरफ तथा हिलो छिचोल्दै झण्डै २० माइलको चिसो तथा लामो यात्रा गर्यौँ ।
हामी यस्तो ठाउँमा आयौँ, जहाँ भीमकाय हिमपहिरोले तल ओर्लने एकमात्र बाटो पनि रोकेको थियो । त्यहाँ २० फिट अग्लो तथा ७५ फिट चौडा हिमपहिरो थियो । हामीकहाँ त्यो हिमपहिरोमा चढेर पार गर्नुको विकल्प थिएन ।
यो निकै डरलाग्दो काम थियो । हिउँ तथा ढुंगाको कमजोर थुप्रोमा टेकेर हिँड्नु । हामीले त्यस दिन मात्र १६ वटा हिमपहिरो देख्यौँ, तीमध्ये अधिकांश उच्च हिमचुचुरोमा थिए । तर, एउटा भने निकै खतरनाक थियो, त्यसैले हामी आत्तियौँ ।
त्यहाँ हिमपहिरो मात्र खतरा थिएनन्, कैयौँ माइलसम्म बिजुलीका तारसमेत भुइँमै लत्रिएका थिए । करेन्ट बहेका तारहरु हिँड्ने बाटोभरि लत्रिएका थिए ।
आज, हिमरेखा भन्दा तल हुँदा पनि हाम्रो सामु अर्को आतंकपूर्ण दिन थियो । तल्लो भागमा निकै ठूलो पानी पर्यो, जसका कारण चट्टान तथा हिलोको ठूल्ठूलो पहिरो खस्यो ।
कतिपय ठाउँमा पहिरोले बाटो छेकेका कारण हामीले अर्को बाटो समाउनु परेको थियो । तर, जुन ठाउँमा बैकल्पिक बाटो थिएन, हामी निकै डरलाग्दा भिरमा चिप्लिने जोखिम मोलेरै भए पनि ढलेका रुख, तथा थुप्रिएका ढुंगा र माटोमा चढ्नुको विकल्प थिएन ।
त्यहाँ साँच्ची गल्तीका लागि कुनै ठाउँ नै बाँकी थिएन । एकचोटि चिप्लिनु निकै घातक सावित हुनसक्थ्यो ।
हामीले अर्को एक दिन पनि यस्तै कठीनतापूर्वक तल ओर्लिनु थियो, त्यसपछि मात्रै जीप चढ्न पाउने क्षेत्रमा पुग्न सकिन्थ्यो ।
यतिबेला हामीले पश्चिमी पेन्सीभेनियामा रहेको हाम्रो घर सम्झिरहेका छौँ र तपाईले गर्नुभएको सुरक्षाको कामनाको कदर गर्छौँ । स्रोत: ट्रिबलाइभ डटकम
प्रतिक्रिया