काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा बसिरहेको टिप्पणी गरेका छन् ।
सर्वोच्च अदालतले सरकारका काम कारबाहीलाई पटक–पटक असंवैधानिक ठहर गरिसक्दा पनि राष्ट्रपति गजक्क परेर गद्दीमा बसिरहेको उनले टिप्पणी गरे ।
आज (शनिबार) एमाले मधेश प्रदेशको नव निर्वाचित सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले रिगलको आममाफी बदर प्रकरणलाई लक्षित गर्दै सरकारका कामबाहीलाई सर्वोच्चले पटक–पटक असंवैधानिक भनिरहँदा पदमा बस्नु ठीक नहुने बताएका हुन् ।
‘सम्माननीय राष्ट्रपतिजी, प्रधानमन्त्रीजीहरु लाज पचाएर कसरी बस्नु भइएको छ ? अचम्म लाग्छ । तिमीहरु असंवैधानिक काम गर्दैछौं भनेर अदालतले भन्छ, राष्ट्रपति गजक्क परेर गद्दीमा बसेका छन्,’– उनले भने ।
वर्तमान सरकारले राष्ट्रिय एकता खलबल्याउन क्षेत्रीयता, जातीयता र धार्मिकताको नारा दिएर हिँडिरहेको उनको टिप्पणी छ ।
प्रतिक्रिया