शेखर, शशांक र सुजाता एकतावद्ध हुने प्रयत्न जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०८०, आईतवार ०६:४२

काठमाडौं । नेपाली कांग्रेसमा कोइराला परिवारका शीर्ष नेताहरु डा.शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला एकतावद्ध हुने प्रयत्न भइरहेको बताइएको छ । कांग्रेसका प्रभावशाली नेता तथा सांसद दीपक खड्काले तीन नेतालाई एकतावद्ध गराउने प्रयास गरिरहेको बताइएको छ ।

यसअघि उनी १४औं महाधिवेशनमा विभिन्न गुटमा छरिएका थिए । तर, १५औं महाधिवेशनलाई ध्यानमा राखेर तीन नेता एकजुट हुन लागेको चर्चा छ । खासगरी शेखर कोइरालाले कोशी प्रदेश सरकार गठनसँगै सभापति शेरबहादुर देउवासँग विद्रोह गरिसकेका छन् । र, उनको विद्रोह कोशीबाट अनुमोदित भैसकेको छ ।

शेखर एमालेसँग मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विस्थापित गर्न चाहन्छन् । शेखरनिकट उच्च स्रोतकाअनुसार एमाले नेतृत्वले प्रधानमन्त्री प्रचण्डलाई हटाउनको लागि ग्रिन सिग्नल दिइसकेको छ । पछिल्लो समय कांग्रेसका शेखर समूहका नेताहरुले पनि वर्तमान सरकारको विकल्प खोज्नुपर्ने आवाज उठाउन थालेका छन् ।

दशैंलगत्तै पार्टीको संसदीय दलको नेताबाट सभापति देउवालाई हटाउनेगरि शेखरले गृहकार्य गरेको बुझिएको छ । शेखरलाई भने आफ्नै समूहका महामन्त्री गगन थापाले पनि साथ नदिने बुझिएको छ । पछिल्लो समय उनी शेखरसँग असन्तुष्ट छन् । कोशीमा शेखरले विद्रोह गर्नुअघि आफूहरुसँग सल्लाह नगरेको गगनको दाबी छ ।

त्यस्तै, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार पनि शेखर, शशांक र सुजाता मिल्ने सम्भावना बढि रहेको बताउँछन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कोईराला परिवार एकढिक्का हुँदा कांग्रेसभित्रको राजनीति अझैं बलियो बन्ने बताए ।

‘शेखर, शशांक र सुजाता एक हुन लागेको हो ?’ भन्ने जिज्ञसामा उनले भने, ‘त्यो प्रयत्न जारी छ । अस्ती विपी साहित्य महोत्सवमा पनि हाम्रा तिनै जना नेतालाई विपीका बारेमा परिवारको सदस्यको कस्तो धारणा छ ? भनेर हामीले लाईभ कन्सर्ट पनि गर्यौं । कोईराला परिवार एक ढिक्का हुँदा यो मुलुकमा कांग्रेसको राजनीतिलाई अझैं बल पुग्छ भन्ने हामीहरुको दृष्टिकोण छ । उहाँहरु एकतावद्ध हुने प्रयत्न गरिरहनु भएको छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१