सामान्यतया सबैले नै चिनीलगायतका गुलियो पदार्थ विभिन्न खाद्यवस्तुमा राखेर खाने गरेका हुन्छन् । गुलियो पदार्थ राखिएका खाद्यवस्तु धेरैले मन पराउँछन् पनि । हाम्रो शरीरलाई गुलियो पदार्थको आवश्यकता पनि पर्दछ । तर त्यसका लागि चिनी, मिश्री, सख्खर, ग्लुकोजजस्ता वस्तु नै खानुपर्छ भन्ने छैन । गुलिया फलफूल, तरकारी खाएर पनि शरीरका लागि गुलियो वस्तुको आपूर्ति हुन सक्छ । चिनी, मिश्री, सख्खर आदिको उत्पादन हुनुअघि मानिसले शरीरका लागि गुलियोको आपूर्ति यसरी नै गरिरहेका थिए ।
तर पनि मानिसले प्रायः यसतर्फ त्यति ध्यान दिएका हुँदैनन् अनि गुलियो खानका लागि सख्खर, चिनी आदिको प्रयोग गर्ने गरेका हुन्छन् । यस्ता गुलिया वस्तुहरुमध्ये सबैले उस्तै लाभ दिन्छन् भन्ने छैन, कतिपयले हानि पनि गर्छन् ।तुलनात्मकरुपमा हेर्दा विभिन्न रासायनिक तत्वहरु मिलाई कारखानामा प्रशोधन गरेर तयार गरिएको सेतो चिनीलाई राम्रो मानिदैन । मानिसले गुणलाई भन्दा रंग र सहजतालाई महत्व दिएर प्रयोग गरिरहेका हुन्छन् ।
यसले गर्दा कारखानामा प्रशोधन गरी तयार गरिएका कतिपय गुलिया पदार्थ एवं यस्ता गुलियो पदार्थ मिसाइएका खाद्यवस्तु रोगको कारण बनिरहेका हुन्छन् । अहिले चिनीको अधिक प्रयोग नसर्ने रोगहरुको प्रमुख कारकमध्ये एक मान्न थालिएको छ । कतिपयले त चिनीलाई ‘रोगको घर’, ‘मीठो विष’ का रुपमा पनि चित्रण गर्न थालेका छन् ।
साथै चिनीको प्रयोगलाई निषेध गर्नुपर्ने आवाज पनि उठाइरहेका छन् । यदि चिनीको सेवनलाई समयमै नियन्त्रण गर्न सकिएन भने हाम्रो शरीर रोगको घर बन्न सक्छ भन्ने उनीहरुको भनाइ छ । चिनीमा अत्यधिक क्यालोरी हुने भएकाले यसको अधिक सेवनले मोटोपना बढ्छ । शारीरिक मोटोपना हुनु भनेको डायबिटिज, कोलेस्ट्रोल, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घातलगायत विभिन्न किसिमका रोग निम्त्याउनु नै हो । किनभने मोटोपनाले यी लगायतका विभिन्न रोगहरु हुन्छन् भन्ने कुरा चिकित्सा विज्ञानका विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् ।
एक आँकडाअनुसार १०० ग्राम चिनीमा लगभग ४०० क्यालोरी हुन्छ । यति क्यालोरी जलाउन जिममा दुई घण्टाभन्दा बढी समय लाग्न सक्छ । त्यस्तै चिनीमा प्राप्त हुने क्यालोरीमा पोषक तत्व हुँदैन । यसले गर्दा
चिनीको उपभोग स्वास्थ्यका लागि लाभदायकभन्दा बढी हानिकारक हुन्छ । चिनीको अत्यधिक सेवनले माथि उल्लिखित रोगहरुलगायत पेटको रोग, मुटुको रोग, छाला रोग, हड्डी तथा मांसपेशीमा कमजोरीजस्ता समस्या पनि निम्तिन सक्छन् ।
अमेरिकन हार्ट एसोसिएसन (एएचए) का अनुसार स्वस्थ पुरुषले एक दिनमा करिब ३७.५ ग्राम चिनीबाट १५० क्यालोरी लिन सक्छन् भने महिलाले एक दिनमा लगभग २५ ग्राम चिनीबाट १०० क्यालोरी लिन सक्छन् । तर भारत, नेपाललगायत दक्षिण एसियाली देशहरुमा कतिपय व्यक्तिले एक दिनमा १०० ग्रामसम्म चिनी खाने गरेको पाइन्छ । यति धेरै चिनीको सेवन स्वास्थ्यका लागि हानिकारक हुने नै भयो ।
इजी लाइफ हिन्दी डट कममा उल्लेख भएअनुसार अत्यधिक चिनी सेवनले निम्न प्रकारका स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
मोटोपनाको मुख्य कारण चिनी:
चिनीको अत्यधिक सेवनले मोटोपना द्रुत गतिमा बढ्छ । चिनीमा उच्च क्यालोरी मात्र हुन्छ, जसलाई खर्च गर्नका लागि शरीरले निकै मेहनत गर्नुपर्छ । एक कप चियामा पाइने दुई चम्चा चिनी बर्न (दगचल) गर्न जिममा ३० देखि ४० मिनेटसम्म व्यायाम गर्नुपर्ने हुन सक्छ । यदि तपाईं चिनीको सेवन गर्नुहुन्छ र आफ्नो शारीरिक तौल बढेर हैरान हुनुहुन्छ भने सर्वप्रथम आफ्नो आहारबाट चिनी हटाइहाल्नुस् ।
मधुमेहको जोखिम:
चिनीको सेवनले मधुमेहको जोखिम बढाउँछ । मधुमेह हुनुका धेरै कारण छन्– शारीरिक क्रियाकलापको कमी, मोटोपना, बढ्दो उमेर, अस्वस्थकर खानपान, धेरै गुलिया चीजहरूको सेवन आदि । चिनी गुलिया चीजहरूमध्ये सबैभन्दा हानिकारक हो । चिनीको नियमित सेवन र शारीरिक क्रियाकलापको कमीले टाइप–२ मधुमेहको जोखिम बढाउँछ ।
मुटु–स्वास्थ्यमा हानि:
सन् २०१६ को एक रिपोर्टअनुसार, भारतमा चारमध्ये एकजनाको मृत्यु हृदय रोगका कारण हुने गरेको पाइएको छ । मुटु रोग एक–दुई दिनमा हुँदैन । यो धेरै वर्षको गलत खाने बानीको परिणाम हो । यो गलत खानपानमा दुईवटा कुरा धेरै हानिकारक हुन्छन्– तेलयुक्त खाना र चिनीयुक्त खाना ।
कमजोर पाचन शक्ति:
अधिक चिनी सेवनले हाम्रो पाचन शक्तिलाई कमजोर बनाउँछ । पाचन प्रणालीको मुख्य काम खानामा पाइने पोषक तत्वहरूलाई शरीरका विभिन्न भागमा पु-याउनु हो । वास्तवमा चिनीमा फाइबरको कमी र क्यालोरी बढी हुने भएकाले यसलाई पचाउन पाचन प्रणालीलाई निकै मेहनत गर्नुपर्ने हुन्छ, जसका कारण पाचन प्रणाली कमजोर हुन थाल्छ । यसले पेटसम्बन्धी अन्य समस्या पनि बढाउन सक्छ । पेट दुखाइ, ग्यास, एसिडिटी, कब्जियतजस्ता समस्या निम्तिन सक्छ । फाइबरको कमीका कारण चिनीको सेवन पेटका लागि विषजस्तै हो ।
खोकी बढाउने:
चिनीको अत्यधिक सेवनले कफ जम्ने र खोकीको समस्या आउन सक्छ । कतिपय मानिस खोकी लाग्दा पनि दिनभर चिनीको गुलियो चिया पिउने गर्दछन्, जुन पटक्कै राम्रो होइन । चिनी राखेको चियाले खोकीलाई बढी प्रोत्साहन गर्छ । चिनीको अत्यधिक सेवनले छातीमा म्युकस जम्न थाल्छ र खोकी शुरु हुन्छ ।
रोग–प्रतिरोध क्षमतामा ह्रास:
धेरै चिनी वा चिनी हालेका गुलिया खानेकुरा खाने मानिसहरुको रोग–प्रतिरोधात्मक क्षमता कमजोर हुने गरेको देखिएको छ । इम्युनिटीले हाम्रो शरीरको लागि सुरक्षा कवचको रूपमा काम गर्छ, जसले शरीरलाई विभिन्न रोगहरूबाट सुरक्षित राख्छ । कमजोर रोग–प्रतिरोधात्मक क्षमताका कारण भाइरस र हानिकारक तत्व सजिलै शरीरमा प्रवेश गर्छ, जसका कारण शरीर रोगको घर बन्न थाल्छ ।
मांसपेशीमा कमजोरी:
चिनी मांसपेशीको विकासको लागि सबैभन्दा हानिकारक हुन्छ । यसले मांसपेशीको विकासलाई रोक्छ । किनकि प्रोटिन मांसपेशीको विकासका लागि सबैभन्दा राम्रो हुने भएकाले तपाईंले चिनीलाई त्यागेर प्रोटिनयुक्त खानेकुराको सेवनमा जोड दिनुपर्छ ।
दाँत र हड्डीका लागि हानिकारक:
चिनीको सेवन दाँतका साथै हड्डीका लागि पनि हानिकारक हुन सक्छ । यसले हड्डी कमजोर बनाउँछ । दाँत पहेँलो हुनु, गिजाबाट रगत बग्नु, सास गन्हाउनुको मुख्य कारण चिनी र चिनीजन्य पदार्थको सेवन हो । चिनीको सेवनले मुखभित्रको ब्याक्टेरिया बढी सक्रिय हुन्छ, जसका कारण दाँत र गिजालाई हानि पु¥याउने काम गर्छ । दूध हड्डीका लागि उपयोगी क्याल्सियमको स्रोत हो तर दूधमा चिनी राखियो भने यसले हानि पु-याउन सक्छ ।
छालाका लागि हानिकारक:
चिनीको अत्यधिक सेवन छालाका लागि पनि हानिकारक हुन्छ । चिनीको सेवनले अनुहारको चमक घट्न थाल्छ, अनुहारमा पिम्पल देखिन थाल्छ, आँखामुनि कालो घेरा पर्न थाल्छ र छाला उमेर नपुग्दै पुरानो देखिन थाल्छ । यदि तपाईं स्वस्थ र चम्किलो छाला चाहनुहुन्छ भने, तपाईंको आहारबाट चिनी कटाउनुहोस् ।
धेरै चिनी खाँदा निद्रा नलाग्ने, छालासम्बन्धी रोग हुने, दम हुने, टाउको दुख्ने, आँखा कमजोर हुने, जोर्नी दुख्ने, शरीरमा आलस्य बढ्ने, शरीरमा स्ट्यामिनाको कमी हुने अनि कलेजोसम्बन्धी समस्या आउन सक्ने हुन्छ । त्यसैले चिनीको उपभोगमा सर्वसाधारणले मात्र नभएर राज्यले नै नियन्त्रण गर्नु जरुरी भइसकेको छ ।
चिनीको उत्तम विकल्प सखर
हामी धेरैलाई चिया पिउने लत बसेको छ । दूध र चिनी राखेर चिया नपिएसम्म सन्तोष नै हुँदैन भन्नेहरु धेरै छन् । तर अधिक चिनी सेवनले मोटोपना निम्त्याउनुका साथै स्वास्थ्यलाई हानि पु-याउने हुँदा चिनीको विकल्पमा सखर उपयोग गर्नेहरुको संख्या बढ्दो छ । चिनीको तुलनामा सखरमा पौष्टिक तत्व धेरै पाइने हुँदा यसले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने हुन्छ ।
भारतकी प्रशिद्ध पोषण एवं आहारविज्ञ सिमरत कथुरियाको भनाइ उद्धृत गर्दै आशुकुमार दासले ‘ओन्ली माई हेल्थ डट कम’ मा लेखेका छन्, ‘सखरमा क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, पोटासियम, फोलिक एसिड, आइरनजस्ता तत्व पाइन्छ, जसले शरीरलाई रोगसँग लड्ने क्षमता प्रदान गर्छ ।’
सखर र चिनी दुवै उखुबाट बनाइन्छ । तर चिनीको उत्पादनका क्रममा रासायनिक पदार्थ हालेर परिष्कृत गरिने हुँदा यसमा पाइने पोषक तत्व नष्ट हुन्छ, जबकि सखर प्राकृतिक रूपमा रहेको हुन्छ । सखर आइरनको राम्रो स्रोत हो, जसले शरीरमा हेमोग्लोबिन बढाउन र रगत शुद्ध गर्न मद्दत गर्छ ।मह पनि चिनीको उत्तम विकल्प हो । प्राकृतिक रुपमा बनेको मह स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । महको सेवनले तौल घटाउन, रुघाखोकीबाट छुटकारा पाउन, मुटुलाई स्वस्थ राख्न र शरीरको रोग–प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्छ ।
यदि तपाईं मोटोपनाको समस्याबाट छुटकारा पाउन चाहनुहुन्छ भने चिनीको सट्टा मह वा सखर उपभोग गर्नुहोस् । पोषण विज्ञ कथुरियाले सखरको चिया पिउनाले शरीरको तौल घटाउन मद्दत पुग्ने बताउनुभएको छ । सखरमा ताप प्रदान गर्ने गुण भएकाले जाडो मौसममा सखर सेवन गर्नु बढी लाभदायक हुन्छ । उहाँका अनुसार सखर सेवनबाट स्वास्थ्यमा निम्न लाभ पुग्ने हुन्छ ।
कलेजोलाई निर्विषीकरण गर्छ:
सखरमा प्रोटिन, भिटामिन बी १२, क्याल्सियम पाइन्छ । यसले कलेजोलाई निर्विषीकरण (Detoxification)गर्न मद्दत गर्छ । जसले गर्दा कलेजो सक्रिय भइरहन्छ ।
पाचन शक्ति बढाउँछ:
सखरमा प्राकृतिक मिठास हुन्छ । यसमा भिटामिन र मिनरल्स बढी मात्रामा पाइन्छ । चिनीको सट्टा सखर राखेको चिया दिनमा १ देखि २ कप पिउनाले पेटको जलन, कब्जियतजस्ता समस्याबाट मुक्ति मिल्छ र पाचन शक्ति बढाउँछ । जसलाई कब्जियतको समस्या छ, उसलाई सखर राखेको चिया पिउने सल्लाह दिइन्छ ।
माइग्रेनको समस्यामा राहत:
सखरलाई आइरनको उत्तम स्रोत मानिन्छ । त्यसैले सखरको चिया पिउनाले माइग्रेन र टाउको दुख्ने समस्याबाट राहत मिल्छ । यदि तपाईंलाई सखरबाट एलर्जी छ भनेचाहिँ यसको सेवन गर्नुअघि डाक्टरसँग परामर्श लिनु जरुरी छ ।
प्रतिक्रिया