काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी कम्युनिष्ट आन्दोलनभन्दा कान्छो भएपनि बूढो भएको टिप्पणी गरेका छन् ।
आज (बिहीबार) पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस साच्चै पुरानो र थोत्रो भएको टिप्पणी गरेका हुन् ।
‘वर्षमा कांग्रेस कम्युनिष्ट आन्दोलनभन्दा अलिकति कान्छो नै हो । इतिहासले भन्छ, कांग्रेस कम्युनिष्टभन्दा अलिकति कान्छो हो ।’ ओलीले भने, ‘कांग्रेस मेवाको बोटजस्तो हो, साँच्चै पुरानो भयो कांग्रेस पार्टी । साँच्चै थोत्रो, केही पनि गर्न नसक्ने ।’
आँप र मेवाको उद्धाहरण दिँदै उनले एमाले आँपको वृक्ष भएको दाबी गरे । ८७ सिट भएर पनि कांग्रेस नाती समानको पार्टीसँग पछि लागेर लुरुलुरु हिडिरहेको उनले बताए । कांग्रेस केही गर्न नसक्ने निरिह भएको टिप्पणी गर्दै ओलीले कांग्रेसलाई आफूसँग कति सिट छ भन्ने पनि थाहा नरहेको बताए ।
‘८७ सिट छ तर ३२ सिटको पछाडि लुरुलुरु लागेको छ । अहिले बुढो भएपछि नातीको पछाडि हिँड्नु परेको छ कांग्रेसलाई । निरिह, केही गर्न नसक्ने भएको छ । आफूसँग कति सिट छ पनि चाल पाउँदैन,’– ओलीले भने ।
जनताको जीवनमा परिवर्तन ल्याउने, गरिबी निवारण गर्न सक्ने, सामाजिक न्याय कायम राख्न सक्ने पार्टी एमालेमात्रै भएको उनको दाबी छ ।
प्रतिक्रिया