एउटै आयोजनामा दोहोरो भुक्तानी भएपछि रकम फिर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०८०, बिहीबार ०६:४८

जाजरकोट । उखाले–तल्लु आयोजनाका लागि दुई कार्यालयबाट भुक्तानी लिएको पाइएपछि उपभोक्ता समितिले रकम फिर्ता गरेको छ ।

नलगाड नगरपालिका र भौतिक पूर्वाधार विकास कार्यालयबाट एउटै आयोजनाका लागि दोहोरो भुक्तानी लिएको पाइएपछि भौतिक पूर्वाधार विकास कार्यालयबाट लिइएको रकम उपभोक्ता समितिले फिर्ता गरेको कार्यालय प्रमुख स्वहिन्दर यादवले बताए । उनका अनुसार उक्त सडकको डिपिआर नगरपालिकाले गरेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा उखाले–तल्लु सडक आयोजनाका लागि दुई कार्यालयबाट भुक्तानी दिइएको समाचार सार्वजनिक भएपछि दोहोरो भुक्तानी लिएको रकम समितिले फिर्ता गरेको प्रमुख यादवले बताए । पूर्वाधार विकास कार्यालयबाट १२ लाख ८२ हजार सात सय २२ भुक्तानी लिइएको थियो । उक्त आयोजनाका लागि नगरपालिकाले १९ लाख ४० हजार भुक्तानी दिएको जनाएको छ ।

नगरपालिका र पूर्वाधार विकास कार्यालयसँग उपभोक्ता समितिको तर्फबाट अध्यक्ष प्रेमबहादुर सिंह, सचिव प्रेमबहादुर मल्ल र कोषाध्यक्ष विष्णुकुमारी मल्लले सम्झौता गरेका थिए । समितिको खातामा दुवै कार्यालयबाट गत असारमा रकम भुक्तानी भइसकेको थियो ।

नगरपालिकाको काम सम्पन्न भइसकेको छानबिनमा पुष्टि भएपछि पूर्वाधार कार्यालयबाट ‘डुप्लिकेशन’ भएको तथ्य पत्ता लागेको प्रमुख यादवले जानकारी दिए । “बढी भुक्तानी लिएको पाँच प्रतिशत धरौटी बाहेक १२ लाख ८२ हजार सात सय २२ मङ्गलवार कार्यालयको खातामा जम्मा भएको छ”, उनले भने । उनका अनुसार गत असारमा उखाले–तल्लु–हितानगाँउ जोड्ने सडक निर्माणका लागि दाहोरो रकम भुक्तानी लिएको सार्वजनिक भएको थियो ।

“झुक्याएर डुप्लिकेशन गरी भुक्तानी लिने उपभोक्ता समितिलाई बोलाएर रकम जम्मा गर्न दबाब दियौँ । अन्यथा कानुनी कारवाही गर्ने चेतावनी दिएपछि भुक्तानी लिइसकेको रकम फिर्ता गरेको हो”, यादवले भने, “ समितिलाई थप कारवाही के गर्ने भन्नेबारे प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको छ ।”

एउटै आयोजनाका लागि दोहोरो भुक्तानी भएको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन दुवै कार्यालयका प्राविधिक, वडाध्यक्षसहितको टोलीले स्थलगत अध्ययन गर्दा उपभोक्ताले डुप्लिकेशन गरेको र वडाध्यक्ष लालबहादुर बानिया समेतलाई झुक्याएको पाइएको यादवले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१