पूर्वन्यायाधीशको घरमा झन्डै एक वर्षदेखि काम गरिरहेकी १० वर्षीया बालिकाको उद्धार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०८०, बुधबार ०६:१३

काठमाडौं ।  पूर्वन्यायाधीशको घरमा काम गर्दै गरेकी १० वर्षीया बालिका मुस्कान खातुनलाई उद्धार गरिएको छ। उनलाई काठमाडौं महानगरपालिका-२९ स्थित पूर्वन्यायाधीश अलिअकबर मिकरानीको घरबाट उद्धार गरिएको हो।

अलिअकबर पाँच/सात वर्षअघि उच्च अदालत जनकपुरमा कार्यरत थिए।

सोमबार उनकै घरबाट राष्ट्रिय बाल परिषद्, बालबालिका खोजतलास समन्वयन केन्द्र १०४, बाल हेल्पलाइन, काठमाडौं महानगरपालिका र स्थानीय प्रहरीसँगै जनप्रतिनिधिको सहयोगमा बालिकालाई उद्धार गरिएको हो।

भदौ ९ गते प्राप्त भएको गोप्य सूचनाको आधारमा बालिकालाई उद्धार गर्न सफल भएको राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिए।

उनका अनुसार भदौ ९ गते बाल हेल्पलाइनमा बालिकालाई कुटपिट गरी घरेलु काममा लगाउने गरेको गोप्य सूचना प्राप्त भएको थियो। उक्त सूचना पछ्याउँदै जाँदा पूर्वन्यायाधीशकै घरमा बालश्रम शोषण गराइएको थाहा पाएपछि उद्धार गरिएको हो।

उद्धार गरिएको बालिकालाई बालपरिषद्कै निगरानीमा सुरक्षित ठाउँमा राखिएको छ।

बाल श्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ दफा ३ को उपदफा १ मा १४ वर्ष उमेर पूरा नभएका बालकलाई श्रमिकको रूपमा काममा लगाउनु हुँदैन भनि लेखिएको छ। यदि बालश्रम गरेको पाइएमा निजलाई तीन महिनासम्म कैद वा दश हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने कानूनी व्यवस्था छ।

कानूनी ज्ञान भएका पूर्वन्यायाधीशले दिएको सेवा-सुविधासँगै काम गरेको अवधिको आधारमा सजाय थपघट हुनसक्ने सूचना अधिकारी चन्दले जानकारी दिए।

बालिकालाई कामकै लागि राखिएको भने पुष्टि भइसकेको छ। किनकि सोमबार उद्धार टोली पूर्वन्यायाधीशको घरमा पुग्दा बालिका घरको भुइँ पुछ्दै गरेको अवस्थामा भेटिएकी थिइन्।

‘त्यसैले पूर्वन्यायाधीशलाई कानूनी कारबाही हुन्छ,’ सूचना अधिकारी चन्दले भने, ‘त्योभन्दा पहिला सम्बन्धित निकायले अनुसन्धान गरी प्रतिवेदन तयार पार्नुपर्छ।’

तर अहिलेसम्म बालिकाको बारेमा पूर्ण विवरण आइसकेको छैन।

बालिकाले आफू काम गरेको झन्डै एक वर्ष भएको बताएकी छन्। उनका अनुसार उनलाई फुपू पर्नेले त्यहाँ काम लगाइदिएकी थिइन्।

‘उनले आफ्नो घर सुनसरीमा रहेको बताउँछिन्। त्योबाहेक अन्य जानकारी उनलाई थाहा छैन। त्यसैले तत्काल कसरी बालिकालाई त्यहाँ ल्याइयो भन्न सकिँदैन’, परिषद्का सूचना अधिकारी चन्दले भने।

उनले थप भने ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ। घटनाको विस्तृत विवरण आएपछि प्रेस विज्ञप्ति नै सार्वजनिक गर्छौं।’

परिषद्ले उनकी फुपू र परिवारलाई खोजिरहेको छ।

बालिकालाई त्यहाँ ल्याइदिने उनकी फुपू बताउने एक महिला रहेको पूर्वन्यायाधीशले पनि पुष्टि गरेका छन्। त्यसैले उक्त महिला भेटिए बालिकाको बारेमा थप जानकारी मिल्ने सूचना अधिकारी चन्दको दाबी छ।

‘पूर्वन्यायाधीशले आफ्नै घरमा प्रि-स्कूल खोलेका रहेछन्। तर पनि बालिकालाई शिक्षाबाट बञ्चित गराएको पाइयो,’ उनले भने, ‘छिमेकीका अनुसार बालिकालाई कुटपिट गर्ने गरेको जानकारी प्राप्त भएको छ।’

त्यतिमात्र होइन, सोधपुछको क्रममा बालिका दमको बिरामी भएको र कान्ति अस्पतालले भर्ना गरेर उपचार गराउन सिफारिस गर्दा अभिभावक छैनन् भन्दै न्यायाधीश पन्छिन खोजेको पाइएको छ। यसले पनि बालिकालाई दबाब राखेर काम गराइएको हो कि भन्ने परिषद्को अनुमान छ।

आइतबार पनि १४ वर्षको बालकलाई परिषद्ले उद्धार गरेको थियो। बालकलाई बुढानिलकण्ठ नगरपालिका-८ बाट उद्धार गरिएको थियो। उनलाई पनि घरेलु कामसँगै कुटपिट गर्ने गरेको सूचनाको आधारमा उद्धार गरेको सूचना अधिकारी चन्दले सेतोपाटीलाई जानकारी दिए।

बालकलाई पनि छिमेकीहरूकै सहयोगमा उद्धार गरिएको थियो।

उपत्यकामा शिक्षित तथा उच्च पदमा काम गरिरहेका व्यक्तिले नै नि:शुल्क सेवा लिन बालबालिका प्रयोग गरिरहेको उनको भनाइ छ।

परिषद्ले उद्धार गरेको धेरैजसो ठाउँमा शिक्षितसँगै ठूला व्यापारी, शिक्षक, न्यायाधीश, अधिवक्तासँगै उच्च तहमा काम गर्ने र पुर्ख्यौली राजपरिवारसँग जोडिएका व्यक्तिहरूले बालश्रम शोषण गर्ने गरेको देखिन्छ।

उनीहरूले नि:शुल्क सेवा लिन बालबालिकालाई दुई छाक खान दिएर काम गराउने पाइएको छ।

आर्थिक वर्ष २०७९/८० मा ६ बालक र १२ जना बालिका गरी १८ जनालाई परिषद्ले उद्धार गरेको थियो भने चालु आर्थिक वर्षमा यी दुई घटना हुन्।

यसरी उद्धार गरिएका बालबालिकालाई प्रहरीको सहायतामा परिवारसँग पुनर्मिलन गराउने काम गरिन्छ। यदि अभिभावक नभएको खण्डमा विभिन्न बालआश्रममा लगेर राखिदिने गरिएको छ।

यसरी बालश्रम लगाउने व्यक्तिलाई कानूनी कारबाही गरिएको घटना भने कमै छ। त्यसैले पनि अरूलाई दमन गर्ने वर्गको मनोबल बढिरहेको उनको भनाइ छ। setopati

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१