मलेसियामा बायोमेट्रिक परीक्षण नगराएका कामदार जान रोक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ कार्तिक २०७१, शुक्रबार १४:२५

काठामाडौं ,१४ कार्तिक । मलेसियाका केही रोजगारदाताले बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण नगरेका नेपाली कामदार लिन बन्द गरेका छन्। धेरै कामदार जाने त्यहाँको पेनाङराज्यले बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण नगरेको भन्दै नेपाली कामदार लिन रोकेको हो। अन्य राज्यले पनि क्रमश: नेपाली कामदार लिन रोक्न सक्ने संकेत दिएका छन्। 

पेनाङ तेस्रो धेरै नेपाली कामदार जाने राज्यमा पर्छ। मलेसियामा नौवटा राज्य छन्। बायोमेट्रिक एक सफ्टवेयर हो। यो फिंगर प्रिन्ट लिन तथा अपराधी चिन्न प्रयोग गरिने प्रणाली भएकाले स्वास्थ्य परीक्षणमा अनिवार्य नगर्न व्यवसायीले माग गर्दै आएका छन्। यो प्रणालीबाट स्वास्थ्य परीक्षण गर्दा जाने कामदारको लागत खर्च ह्वात्तै बढ्ने भएकाले व्यवसायी विरोधमा उत्रिएका हुन्।

पेनाङले कामदार लिन रोकेपछि त्यहाँ जानेमध्ये २५ प्रतिशत कामदार प्रभावित हुने वैदेशिक रोजगार व्यवसायीले जानकारी दिएका छन्। हाल मलेसिया सबैभन्दा धेरै नेपाली कामदार जाने मुलुकमा पर्छ। पेनाङको यो निर्णय फिर्ता नभएमा मलेसिया जाने कामदारको संख्यामा गिरावट आउनेछ।

कामदार जाने क्रम घटेमा आन्तरिक बजारमा रोजगारी दिन सक्ने अवस्था नभएकाले बेरोजगारी समस्या थप बढ्न सक्नेछ। मलेसियामा हाल सात लाखभन्दा बढी नेपालीले काम गरिरहेका छन्। सबैभन्दा बढी रेमिट्यान्स पनि मलेसियाबाटै भित्रिने गरेको छ। नेपाली कामदारको प्रमुख आकर्षक गन्तव्यमा कामदार लिन बन्द गरे पनि सरकारले पहल नगरेको भन्दै व्यवसायीले सरकारको आलोचना गरेका छन्।

प्रतिक्रिया